८ वैशाख २०८१ शनिबार
खेल

दक्षिण अफ्रिका जित नजिक

पर्थ– उदीयमान बलर कागिसो रावाडाले महत्वपूर्ण तीन विकेट लिएपछि दक्षिण अफ्रिका अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टको चौथो दिन जित नजिक पुगेको छ ।

५ सय ३९ रनको ठूलो लक्ष्य पछ्याएको घरेलु टोली अस्टे«लिया आइतबारको खेल सकिँदा १६९÷४ को अवस्थामा धर्मराइरहेको छ । अविजित रहेका उस्मान ख्वाजाले ५८ र मिचेल मार्श १५ रनमा अविजित रहँदै अस्ट्रेलियाको झिनो  सम्भावना जीवितै राखेका छन ।

टेम्बा बाभुमाले उत्कृष्ट फिल्डिङ गर्दै डेविड वार्नरलाई ३५ रनमा आउट गरेपछि अस्टे«लियाले ओपनिङ विकेट गुमाउँदा ५२ रन जोडेको थियो । टेम्बाले वार्नरलाई रन आउट गरेका थिए । वार्नरले आफ्नो अगाडी बल भएको बेला तिव्र गतिमा एक रन लिने प्रयास गरेका थिए । तर टेम्बाले चलाखीपूर्ण तरिकाले प्रहार गरेको थ्रो सफल भएपछि अस्टे«लियाले पहिलो विकेट गुमाएको थियो । रावाडाले ४९ रन खर्चेर ३ विकेट लिदै आफ्नो क्षमता प्रमाणित गरेपछि अस्टे«लियाले थप दबाब सामना गर्नु परेको थियो ।

रावाडाले पाखुराको चोटका कारण अनुस्थित भएका च्याम्पियन बलर डेल स्टेनको अभाव हुन दिएनन । वार्नर आउट भएको चार बलपछि ओपनर शान मार्श पनि १५ रनमा आउट भए ।

रावाडाको बलमा मार्श फाप डु प्लेसिसबाट आउट हुँदा अस्टे«लिया २ विकेटको नोक्सानीमा ५२ रनमा सिमित थियो । घरेलु मैदानमा आयोजकले खराब प्रदर्शन गरिरहेको बेला नयाँ ब्याटसम्यान ख्वाजा पवेलियन फर्कनबाट जोगिएका थिए । काम चलाउ बलर जेपी डुमिनीकोे पहिलो बलमा ख्वाजा क्याच आउट भएका थिए । तर निर्णय पुनविर्चार गर्दा उनले जीवनदान पाएका थिए । रिप्लेमा बलले ब्याट छुनुअघि प्याड छोएको देखिएको थियो ।

स्टेभन स्मिथ र ४१ रनमा जीवनदान पाएका ख्वाजाले कम्तिमा बराबरी गर्ने लक्ष्यमा अस्टे«लियाको इनिङ सम्हाल्ने प्रयास गरेका थिए । तर स्मिथले लामो समय त्यसलाई निरन्तरता दिन सकेनन् । ३४ रन बनाएका स्मिथ रावाडाको बलमा आउट भए । २१ वर्षे रावाडाले करियरको नवौं टेस्टमा उत्कृष्ट बलिङ गर्दै भविष्यमा आफ्नो स्थान सुरक्षित गर्न सक्ने क्षमता प्रमाणित गरे । उनले स्मिथसँगै एडम भोग्स (१) लाई आउट गर्द स्टेयनको अनुपस्थिती खट्किन दिएनन् ।

स्मिथ राम्रो लयमा देखिएका थिए । तर अगाडी बढेर खेल्ने क्रममा विकेटकिपर क्विन्टन डी ककबाट आउट हुन पुगे । रावाडाले अतिरिक्त प्रदर्शन गर्दै खेलमा पकड जमाएको बेला अर्को ओभरमा आएका नयाँ ब्याटसम्यान एडमले सहज रुपमा ब्याटिङ गर्न सकेनन र १ रनमा आउट भए । दक्षिण अफ्रिकाका बलिङ प्रशिक्षक चार्ल ल्याङगेभेल्टले रावाडाको बलिङ सानदार भएको बताए । उनले भने, ‘रावाडाले यसअघि पनि आफूलाई प्रमाणित गरिसकेका छन् । आज उनले फेरी उच्च प्रदर्शन गरे । प्रतिघण्टा १ सय ४५ किलोमिटरको गतिमा बलिङ गर्न सक्यो भने त्यो जहिले पनि रोमाञ्चक हुने गर्छ ।’

स्टेयनको अनुपस्थितमा दक्षिण अफ्रिकालाई अन्तिम दिनमा सफलता दिलाउनमा रावाडा र भेर्नन फिलान्डरको मुख्य भुमिका रहने ल्याङगेभेल्टले बताए । आइतबार ८ विकेटको नोक्सानीमा ५ सय ४० रनमा अफ्रिकाले इनिङ समाप्तीको घोषणा गर्दा फिलान्डरले ७३ र डी ककले ६४ रन जोडेका थिए ।

निराशाजनक अवस्थामा भए पनि अस्टे«लियन तीव्र गतिका बलर पिटर सिडलीले घरेलु मैदानमा अझै खेलमा फर्कने विश्वास लिएको बताए । ‘अहिले हामी निराशाजनक अवस्थामा छौं । अहिलेको स्थान कठिन छ । तर हामी सधै आशावादी हुन्छौं । बलियो सोचाई राख्छौं,’ उनले भने ।

फिलान्डरले ७३ रन जोडेको बेला स्मिथबाट बोल्ड भएपछि दक्षिण अफ्रिकाले इनिङ समाप्तीको घोषणा गरेको थियो । इनिङ समाप्तीको घोषणा गर्दा केशव माहाराज ४१ रनमा अविजित थिए ।

प्रकाशित: २२ कार्तिक २०७३ ०२:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App