coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

राष्ट्रिय वाणिज्य बैंक, नाफामा नम्बर वान

काठमाडौं – ‘१२ वर्षपछि खोला पनि फर्किन्छ’ भन्ने उखानलाई चरितार्थ गर्दै सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा बढी नाफा कमाउने बैंक बनेको छ।

करिब डेढ दशकअघि वित्तीय स्थिति अत्यन्त कमजोर अवस्थामा पुगेको यो बैंकले राष्ट्र बैंक, सरकार र बैंकको नेतृत्व गर्ने टिमका कारण पुनर्जन्म पाएको हो।

विश्व बैंकको सहयोगमा ल्याइएको वित्तीय क्षेत्र सुधार कार्यक्रमले पनि वाणिज्य बैंकलाई बचाउन सहयोग पुगेको थियो। यिनै कारणले मुलुकका २८ वाणिज्य बैंकमध्ये गत वर्ष करिब साढे चार अर्ब रुपैयाँ नाफा कमाउने पहिलो बैंक बन्न यो सफल भएको हो। 

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठका अनुसार गत वर्ष बैंकले साढे चार अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएको हो। ‘चार अर्ब २५ करोड रुपैयाँ नाफा कमाउने लक्ष्य थियो,’ श्रेष्ठले आइतबार नागरिकसँग भने, ‘अन्तिम ब्यालेन्स सिट बन्ने क्रम भए पनि साढे चार अर्ब रुपैयाँभन्दा बढी नाफा कमाएका छौं।’ 

राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा धेरै नाफा कमाउने बैंक भएको श्रेष्ठले दाबी गरे। ‘गत वर्षको तेस्रो त्रैमासिकसम्म पनि हामीले नै धेरै नाफा कमाएका छौं,’ उनले भने, ‘चौथो त्रैमासिकमा पनि धेरै कमायौं।’

गत वर्ष डिपोजिट संकलन, सिसिडी रेसियो व्यवस्थापन र कर्जा प्रवाहमा प्रगति गरेका कारण धेरै नाफा कमाउन सकिएको हो। बैंकका ब्यालेन्स सिटका सबै सूचक राम्रो भएको श्रेष्ठले बताए। ‘आफ्नो लक्ष्यभन्दा सबै पक्षमा सुधार गरेका छौं,’ उनले भने, ‘बैैंकको हरेक क्षेत्र उत्साहप्रद छ।’

असार मसान्तसम्म बैंकमा निक्षेप एक खर्ब ९० अर्ब रुपैयाँ रहेको श्रेष्ठले जानकारी दिए। यसमध्ये बैंकले एक खर्ब ४० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्ष एक खर्ब ८० अर्ब रुपैयाँ डिपोजिट ल्याउने लक्ष्य लिएकामा सात अर्ब रुपैयाँ धेरै डिपोजिट आएको श्रेष्ठले जानकारी दिए।

विगतमा बैंकको कर्जा–पुँजी–निक्षेप अनुपात (सिसिडी रेसियो) ५८ प्रतिशत रहेकोमा अहिले यो बढाएर ७३ प्रतिशत पु-याएको उनले बताए।  ‘खराब कर्जा घटाएर व्यवसाय विस्तार गरेका छौं,’ उनले भने, ‘स्रोतको अधिकतम परिचालन गरेकाले नाफा कमाउन सफल भएका हौं।’

बैंकको अध्यक्षमा महेन्द्रमान गुरुङ र सिइओ श्रेष्ठ बनेपछि व्यवस्थापनमा धेरै पक्ष सुधार भएको बैंकका कर्मचारी बताउँछन्। श्रेष्ठ २०७२ मा सिइओ नियुक्त भएर आएका हुन्। बैंकले व्यवसाय विस्तारसँगै विगतको खराब कर्जा घटाएको छ। ‘म सिइओ भएर आएपछि साँवा र ब्याज गरेर तीन अर्ब रुपैयाँ उठायौं,’ उनले भने, ‘तीन वर्षमा धेरै सुधार भएको छ। अध्यक्षज्यूले पनि धेरै सहयोग गर्नुभएको छ।’

बैंकले शाखा, एटिएम विस्तार गरेको छ। कर्मचारीको उत्पादकत्व बढेकाले पनि नाफा कमाउन सहयोग पुगेको उनले बताए। बैंकका शाखा दुई सय २३ वटा पुगेका छन्। ‘८० शाखा म आएपछि थपिए,’ उनले भने।  थप १५ वटा शाखा विस्तार गर्ने तयारी छ। ‘दुई सय ५० शाखा पु-याउने योजनामा छौं,’ उनले भने। एटिएम दुई सयवटा छन्। बैंकको ग्राहक सख्या ३१ लाख पुगेको छ। प्रत्येक वर्ष ग्राहक २० प्रतिशत बढाउँदै लगेको प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताए।

बैंकले राष्ट्र बैंकले तोकको क्षेत्रमा कर्जा प्रवाह गरेको छ। कृषि, ऊर्जा, पर्यटनमा लगानी गरेको छ। पछिल्ला तीन वर्षमा जलविद्युत्मा लगानी बढाएको श्रेष्ठले बताए। ‘जलविद्युत्मा लगानी दुई सय प्रतिशत बढाएका छौं,’ उनले भने। अहिले पूर्वाधारसँग सम्बन्धित योजनामा प्राथमिकता दिएको छ। ‘पूर्वाधारका योजनामा लगानी गर्ने प्राथमिकता बनाएका छौं,’ उनले भने, ‘जलविद्युत्सहित सिमेन्ट, स्टिललगायत उद्योगमा लगानी बढाएका छौं।’ बैंकले कारोबारको ५५ प्रतिशत साना तथा मझौला कर्जामा लगानी गरेको छ। यो क्षेत्रमा ८० अर्ब रुपैयाँ लगानी गरेको छ।

बैंकले गत वर्षको १० प्रतिशत लाभांश वितरण गर्ने जनाएको छ। ‘पहिलोपटक लाभांश वितरण गर्न लागेका छौं,’ उनले भने, ‘अर्को वर्ष १५ प्रतिशत दिन्छौं।’ बैंकलाई थप व्यवस्थित गर्दै थप मुनाफा आर्जन गरेर सेवा प्रभावकारी बनाउन  क्लिन एन्ड स्मार्ट बैंकिङको अवधारणा अघि सारेको श्रेष्ठले बताए। ‘सरकारी बैंकप्रति हेर्ने दृष्टिकोण परिवर्तन गर्दैछौं,’ उनले भने, ‘सरकारी बैंकलाई पनि स्मार्ट बनाउँदैछौं।’ अहिले वाणिज्य बैंक नाफासहित छिटोछरितो सेवा दिन सक्षम रहेको उनको भनाइ छ। सरकारी बैंकले नाफा कमाउँदैनन्, छिटोछरितो सेवा दिँदैनन् भन्ने मान्यतालाई क्रमशः तोड्दै लगेको उनले बताए।

प्रकाशित: १३ श्रावण २०७६ ०२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App