८ वैशाख २०८१ शनिबार
अर्थ

क्वारेन्टाइनका समस्या समाधान हुन्छ : मन्त्री खनाल

काठमाडौं – कृषि तथा पशुपक्षी मन्त्री चक्रपाणि खनालले क्वारेन्टाइनमा देखिएका समस्या समाधानका लागि अर्थमन्त्रालयसँग समन्वय गरेर थप सहजीकरण गरिने बताएका छन्।

देशभरका मन्त्रालय मातहतका पशु, प्लान्ट  र खाद्य क्वारेन्टाइन प्रमुखसँग आइतबार भएको छलफलमा मन्त्री खनालले क्वारेन्टाइनमा रहेका समस्या अन्तरसरकारी निकायबीच समन्वय गरेर समाधान गरिने बताए। अर्थ मन्त्रालय र भन्सार विभागसँग समन्वय गरेर क्वारेन्टाइनलाई थप व्यवस्थित बनाउन मन्त्रालयको तर्फबाट पहल हुने मन्त्री खनालको भनाइ थियो।

क्वारेन्टाइनमा दरबन्दी अनुसारको कम कर्मचारी, भौतिक संरचना र सेवा सुविधासमेत कम भएको भन्ने सन्दर्भमा मन्त्री खनालले ती विषयलाई समेत समाधान गरिने बताए। भन्सार कार्यालयमा रहेका क्वारेन्टाइनमा निरन्तर परीक्षण र कडाइ गर्नुपर्नेमा जोड दिँदै मन्त्री खनालले मनलाग्दी तवरले विदेशबाट आउने जुनसुकै खाद्य सामग्री तथा पशुपक्षी जथाभावी रुपमा ल्याउन नदिइने स्पष्ट पारे। उनले प्रयोगशालालाई थप व्यवस्थित बनाउने र आयातितमा मात्र होइन स्वदेशमा उत्पादन भएको उपजमा पनि परीक्षण गरिनेमा जोड दिए।

मन्त्रालयका सचिव प्रकाश माथेमाले क्वारेन्टाइनसँग जोडिएका समस्याहरु अल्पकालीन र दीर्घकालीन कार्ययोजना योजना बनाएर समाधान गर्नुपर्ने बताए। मन्त्रालयका अर्का सचिव  युवकध्वज जिसीले समायोजनका कारण कर्मचारीमा समस्या आएको हुन सक्ने भएकाले  कहाँकहाँ समस्या रहेका छन् त्यसका बारेमा जानकारी गराउन आग्रह गरे।

कानुनी अधिकार प्रयोग गर्दै उच्च मनोबलका साथ काम उनले निर्देशन दिए। मन्त्रालय मातहत पशुपक्षीतर्फ आठ क्वारेन्टाइन कार्यालय, स्थायी र अस्थायी गरी २८ वटा चेकपोस्ट छन् भने कृषितर्फ १५ वटा क्वारेन्टाइन कार्यालय सञ्चालनमा छन्।

प्रकाशित: १३ श्रावण २०७६ ०२:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App