७ वैशाख २०८१ शुक्रबार
समाज

सडकको भलपानी नै विनाशकारी

चिसापानी बजारमा सडकबाट उर्लिएको भलपानीले भत्काएको पर्खाल। तस्बिरः नागरिक

खोटाङ – जिल्लाको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी बजारमा हाट लाग्ने ठाउँको पर्खाल निर्माण गरिएको केही समयपछि नै भत्किएको छ। आर्थिक वर्ष २०७५/७६ मा वडा कार्यालयमार्फत प्राप्त साढे ४ लाखमा निर्माण गरिएको सो पर्खाल असार अन्तिम साताको भलपानीले भत्काएको हो। सो स्थानमा हाट लाग्ने क्षेत्रलाई थप फराकिलो र सुरक्षित बनाउने क्रममा रेलिङसहितको पर्खाल उठाइएको थियो।

यस्तै चिसापानी–धाप्लाङ सडकखण्डअन्तर्गत जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङको वडा कार्यालयमुनि गत वर्ष १७ लाखको खर्चमा तार जालीसहितको पर्खाल हालिएको थियो। तर भारी वर्षापछि वडा कार्यालयभन्दा माथिको नागीगाउँबाट सडक नै सडक झरेको भलपानीले सो तारजालीसहितको पर्खाल बगाएको छ। आर्थिक वर्ष २०७४/७५ मा लाखौं खर्च गरेर राखिएको तारजालीसहितको पर्खाल पुनः मर्मत गर्नुपर्ने अवस्थामा पुगेको वडाध्यक्ष सुकदेव राईले बताए।

गाउँपालिकाकै केन्द्रका रूपमा रहेको चिसापानीमा हरेक शनिबार हाट लाग्छ। हाट लाग्ने स्थानलाई थप फराकिलो बनाउन वडा कार्यालयले बीचमा दुईवटा सिँढीसहितको तीन खण्डको पर्खाल निर्माण गरेको हो। तर चिसापानी र काहुले जोड्ने सडकको नाली कान्ले पहिरोले पुरेपछि भलपानी सीधै हाट लाग्ने स्थान हुँदै ओरालो झर्दा नयाँ पर्खाल भत्किएको वडा सदस्य धनकुमार राईले बताए। ‘डिल खसेर सडकको नाली थुनिएपछि भलपानी बजारतिर झर्दा क्षति भएको हो,’ वडासदस्य राईले भने, ‘काम गुणस्तरिय नै भएको थियो। दायाँबायाँको पर्खाल केही भएकै छैन। भलपानी छिरेको ठाउँको पर्खाल मात्र भत्किएको छ।’ स्थानीय नेता देवेन्द्र श्रेष्ठले पनि सिँढीबाट भल काट्न खोज्दा बजारको पर्खाल भत्किएको बताए।

चिसापानी–धाप्लाङ सडकखण्डअन्तर्गत दिप्लुङको वडा कार्यालय खण्ड र चिसापानीको हाटबजारको टेवा पर्खाल भत्कँदा राज्यको लाखौंको क्षति भएको छ। यी दुवै क्षतिको एउटै कारण भने जथाभावी निर्माण गरिएको सडक नै प्रमुख कारणका रूपमा देखिएको छ। वर्षाका बेला सडक नै सडक जम्मा भएर बग्ने वर्षाको भलपानीले नयाँ तथा पुराना भौतिक संरचनालाई क्षति पु¥याइरहेको जन्तेढुंगाका गाउँपालिकाका स्थानीय वीरबल किरातीले बताए।

पहाडी क्षेत्रमा वातावरणमैत्री विधि नअपनाई जहाँतहीँ बनाइएका सडकमा वर्षाको भलपानी जम्मा भएर खोलो बनेर बग्ने गरेको छ। त्यही भलपानीले जमिन तथा मानवनिर्मित संरचनालाई ध्वस्त पारिरहेका छन्। ‘कतिपय संरचना तत्काल भत्कनुका पछाडि गुणस्तर नुहुन कारण रहेको हुन्छ,’ किरातीले भने, ‘तर धेरैजसो संरचना सडकमा उर्लिने वर्षाको भलपानीले बिगारिरहेको देखिएको छ।’

प्रकाशित: १३ श्रावण २०७६ ०१:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App