७ वैशाख २०८१ शुक्रबार
समाज

सुविधा थोरै, सास्ती धेरै

कर्णाली राजमार्गको बड्डीचौर–गुठु खण्डमा गाडी धकेल्दै यात्रु र हिलाम्मे सडकका कारण बाटोमै रोकिएका ट्रक।

सुर्खेत - पश्चिम सुर्खेतको लगामका ७५ वर्षीय सौराम बुढा दुई दिन लगाएर अघिल्लो साता प्रदेश राजधानी वीरेन्द्रनगर आइपुगे। राजधानीकै जिल्ला भए पनि बर्खा लागेसँगै पश्चिमका जनता कष्टपूर्ण यात्रा गरेर सदरमुकाम वीरेन्द्रनगर आउने गरेका छन्। ‘घर (लगाम) बाट एक दिन हिँडेर बिजौरा बास बसें,’ बुढाले भने, ‘त्यहाँबाट दिनभर गाडीको यात्रा गरेर यहाँ (वीरेन्द्रनगर) आइपुगेको हुँ।’

उपचारका लागि छोरासँग आएका उनी अब कसरी घर पुग्ने हो भन्ने चिन्तामा छन्। ‘गाडी चढेपछि पनि ठाउँठाउँमा झर्नुपर्छ, अरु बेला तीन–चार घण्टा लाग्ने बाटोमा अहिले दिनभर लाग्छ,’ उनले भने, ‘प्रदेश राजधानी भइसक्दा पनि सुर्खेतले विकासको गति लिन सकेन्।’ बड्डीचौरदेखि बेनीघाटसम्मको ९४ किलोमिटर सडक सञ्चालनमा आएको वर्षौं भयो। सडकको स्तरोन्नति नहुँदा हरेक वर्ष पश्चिम सुर्खेतका जनताले सास्ती भोग्दै आएका छन्।

‘विशेष गरेर पश्चिम सुर्खेतको लगाम, बेतान र बिजौराका बासिन्दा घण्टौं हिंडेर प्रदेश राजधानी आउनुपर्ने बाध्यता छ,’ नेकपाका नेता मोहन बढुवालले भने, ‘सडकको स्तरोन्नति र खोलाहरुमा पुलको तत्काल व्यवस्था गर्नु आवश्यक छ।’
२४४ दशमलव ९७ वर्ग किलोमिटर क्षेत्रफल रहेको कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा जम्मा एक सय ७५ किलोमिटर सडक छ। जसमध्ये ४२ किलोमिटर मात्रै कालोपत्रे छ। प्रदेश राजधानी वीरेन्द्रनगरका कतिपय सडकमा वर्षायाममा गाडी चल्दैनन्। २०७१ मंसिरमा वीरेन्द्रनगर नगरपालिकासँग गाभिएका गढी, गर्पन र रतुका बासिन्दा वर्षा सुरु भएसँगै सार्वजनिक यातायात सेवाबाट वञ्चित हुनुपर्ने अवस्था छ।

‘प्राविधिक अध्ययनबिनै डोजरले खनेका सडक बर्खा सुरु हुनेबित्तिकै अवरुद्ध भइहाल्छन्। भूगोलको अवस्था र प्राविधिक अध्ययनबिनाका सडकका कारण जनताले सुविधाभन्दा सास्ती धेरै पाएका छन्।’

३० हजार तीन सय १३ वर्ग किलोमिटर भूगोल रहेको कर्णाली प्रदेशमा दुई हजार तीन सय ५२ किलोमिटर सडक छ। प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार कालोपत्रे सडकको लम्बाइ छ सय ३२ किलोमिटर मात्रै छ। तीन सय ४७ ग्राभेल र एक हजार तीन सय ७३ किलोमिटर सडक कच्ची छ। ‘कच्ची र ग्राभेल सडक मात्रै होइन्, यो प्रदेशमा कालोपत्रे सडकमा पनि बर्खामा गाडी गुड्न समस्या हुन्छ,’ प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघराजप्रसाद चौरसियाले भने, ‘भएका सडकको स्तरोन्नति नहुँदा यात्रुलाई समस्या हुने गरेको छ।’

तथ्यांक अनुसार कर्णालीका १० जिल्लामध्ये सबैभन्दा धेरै सडक सञ्जाल भएको सल्यान हो। सल्यानमा सात सय ९२ किलोमिटर सडकमध्ये एक सय ३६ किलोमिटर कालोपत्रे छ। दैलेखमा चार सय ८० किलोमिटर सडकमध्ये एक सय ६३ किलोमिटर कालोपत्रे छ। सुर्खेतमा चार सय ४० किलोमिटर सडकमध्ये एक सय ९० किलोमिटर कालोपत्रे छ।

कर्णाली प्रदेशको हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छैन। जुम्लाको १२ किलोमिटर सडकमा साना यातायातका साधन सञ्चालन हुन्छन्। भर्खरै सडक सञ्जालले छोएको डोल्पामा ३९ किलोमिटर सडक छ। कर्णाली प्रदेशको राजधानीसँग जोडिएका कर्णाली राजमार्ग, रत्न राजमार्ग, छिन्चु–जाजरकोट, वीरेन्द्रनगर–दैलेख सडक खण्ड नै बर्खाको समयमा अवरुद्ध हुन्छन्।

सडक डिभिजन कार्यालयका इन्जिनियर रेशव वली गाउँमा नाम मात्रैका सडक रहेको बताउँछन्। ‘प्राविधिक अध्ययनबिनै डोजरले खनेका सडक बर्खा सुरु हुनेबित्तिकै अवरुद्ध भइहाल्छन्,’ उनले भने, ‘भूगोलको अवस्था र प्राविधिक अध्ययनबिनाका सडकका कारण जनताले सुविधाभन्दा सास्ती धेरै पाएका छन्।’

कर्णाली राजमार्ग अवरुद्ध
साबिक कर्णालीको लाइफलाइन मानिएको कर्णाली राजमार्ग बर्खा सुरु हुनासाथ बेलाबेलामा अवरुद्ध हुन्छ। ‘मृत्युमार्ग’ को उपमा पाएको कर्णाली राजमार्ग आइतबारदेखि पुनः अवरुद्ध भएको छ। कालिकोट खण्डको कालेखोलामा ठूलो पहिरो गएको छ। पहिरोका कारण राजमार्ग अवरुद्ध भएको छ। जुम्लादेखि प्रदेश राजधानी हुँदै तराईतिर जाने र तराईबाट पहाड जाने सवारीसाधन र यात्रु बाटोमै रोकिएका छन्।

प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले पहिरोले सडक पूरै भासिएको बताए। ‘सडक नै भासिएकाले कर्णाली राजमार्ग खुल्न केही दिन लाग्नसक्छ,’ उनले भने, ‘नयाँ ट्र¥याक खोलेर सडक सञ्चालनमा ल्याउने तयारी गरिरहेका छौं।’ प्रमुख जिल्ला अधिकारी कार्की नेतृत्वको टोली पहिरो गएको स्थानमा पुगेर फर्केको छ। नेपाली सेना, नेपाल प्रहरीसहितले सडक खुलाउन सक्ने अवस्था नभएकाले डिभिजन कार्यालय जुम्लाबाट उपकरण पठाउने तयारी भएको छ।
कालेखोलामा ४० मिटर सडक भासिएकोमा १० मिटर जतिको निसाना छैन्। ‘दिनदिनै कुनै न कुनै स्थानमा पहिरो गइरहेको हुन्छ, सडकमा ढुंगा र माटो पनि दिनदिनै खसिरहन्छ,’ प्रमुख जिल्ला अधिकारी कार्कीले भने, ‘बर्खा लाग्नेबित्तिकै दिनदिनै कुनै न कुनै ठाउँमा सडक अवरुद्ध भइरहन्छ।’

कर्णाली राजमार्गमा पहिरो गएपछि हवाईसेवाका लागि जुम्ला विमानस्थलमा यात्रुको चाप बढ्न थाललेको छ। राजमार्गको गगने खोला, सुनार खोला, खल्लागाढ, राँचुलीलगायत क्षेत्रमा प्रायः पहिरो गइरहन्छ।
कर्णालीमा कहाँ कति सडक ? (किमिमा)

सल्यान ७९२
दैलेख ४८०

सुर्खेत ४४०
जाजरकोट १८७

कालिकोट १०९
रुकुम (पश्चिम) १०१

मुगु १०१
जुम्ला ९१

डोल्पा ३९
हुम्ला १२

प्रकाशित: १३ श्रावण २०७६ ०१:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App