coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

भक्तपुर–नगरकोट सडक विस्तार

भक्तपुर नगरकोट सडक विस्तारमा ढिलाइ भएपछि आक्रोश व्यक्त गर्दै स्थानीय।

नगरकोट - दुई वर्षभित्र सकिनुपर्ने भक्तपुरदेखि नगरकोट पुग्ने सडक विस्तार योजना ६ वर्ष भइसक्दा पनि नसकिएपछि स्थानीयले आक्रोश व्यक्त गरेका छन्। संघीय संसद्को विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्का नेतृत्वको टोलीले भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्मको सडकको आइतबार गरेको स्थलगत अवलोकनपछि आयोजित अन्तत्र्रिmयामा स्थानीयले ठेकेदारमाथि कारबाहीको माग गरे।

स्थानीयबाट गठित सडक निर्माण दबाब समूहका अध्यक्ष राजकुमार लामिछानेले दुई वर्षको ठेक्का ६ वर्षमा पनि नसकेको भन्दै ठेकेदारमाथि कारबाहीको माग गरेका हुन्। यो सडक विस्तारको यसअघि पनि पटकपटक अनुगमन भएको बताउँदै उनले थपे, ‘अनुगमनको प्रतिवेदन बने पनि त्यत्तिकै थन्किने गरेका छन्।’ भक्तपुरको कमलविनायक भत्केको पाटीबाट नगरकोट पुग्ने १६ किलोमिटर लामो सडक विस्तार ६० प्रतिशत सकिएको दाबी गरे पनि अहिलेसम्म तीन किलोमिटरमात्रै कालोपत्रे गरिएको छ। कालोपत्रे गरिएको सडक पनि निर्माणाधीन सडकजस्तै खाल्डाखुल्डी भएर हिलाम्य छ। एक्जिम बैंक इन्डियाको सहयोगमा विस्तार भएको सडक निर्माण आर्थिक वर्ष २०७२÷७३ भित्र सम्पन्न गर्ने योजना थियो।

आरामाली इन्फ्रा पावर लिमिडेट र सैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालिले संयुक्त रुपमा सडक निर्माणको जिम्मा पाएका थिए। चार मिटर फराकिलो दुई लेन सडकलाई सात मिटर फराकिलो पारी चार लेन बनाउने योजनाअनुसार काम थालिएको थियो। सडक निर्माणमा एउटा डोजर प्रयोगमा छ, त्यो पनि सिसा नभएको। त्यसैले पानी प¥यो कि काम रोकिन्छ। नगरकोट नाल्दुम पर्यटन विकास समितिका उपाध्यक्ष धनबहादुर लामाले भने, ‘पानी परे पनि भिजीभिजी काम गर भनी कसरी डोजर चालकलाई भन्ने।’

सडकको ठेक्का शारदा अधिकारीले पाएका हुन्। उनी नेकपाका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी हुन्। दाहालको घरबेटी भएकै कारण अधिकारीलाई कारबाही नभएको स्थानीयले बताएका छन्।

स्थानीय यादव अधिकारीले सडक विस्तार छिटो गराउन नगरप्रमुख, सांसद, मन्त्री र प्रधानमन्त्रीसम्म पुग्दा सबै पन्छिने गरेको बताए। ‘एउटा ठेकदारले देश चलाएको देखियो। हाम्रा मन्त्री, प्रधानमन्त्रीभन्दा ठेकेदार बलिया रहेछन्’, उनले भने।

सैलुङ कन्स्ट्रक्सन कम्पनीका मालिक शारदा अधिकारी हुन्। उनी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालको घरबेटीका रुपमा परिचित छन्। दाहालको घरबेटी भएकै कारण अधिकारीलाई कारबाही नभएको भन्दै स्थानीयले नेता दाहालको पनि आलोचना गरेका थिए। गृहमन्त्री रामबहादुर थापाले काम नगर्ने सबै ठेकेदारलाई कारबाही गर्ने बताइरहेका छन्। तर यो सडकखण्डको विषयलाई लिएर गृहमन्त्री थापालाई भेट्दा उनले समेत यो केस आफूभन्दा माथिको भनी पन्छिएको स्थानीयले संसदीय टोलीलाई सुनाए।

सडक विभागअन्तर्गत भक्तपुर–नगरकोट–सिपाघाट सडक विस्तार योजनाअनुसार यो सडक ३१ करोडको लागतमा विस्तार कार्य भइरहेको छ। पहिलो चरणमा भक्तपुर–नगरकोट जाने सडक विस्तार सुरु भएको हो। सडक साँघुरो हुँदै गएको, सडक मिचेर घरटहरा, पसल निर्माण भएर अव्यवस्थित बनेपछि आयोजनाले मापदण्डविपरीतका घरटहरा भत्काउँदै २०७१ सालमा सडक विस्तार सुरु गरेको थियो। पहिलो चरणको योजनापछि नगरकोटबाट करिब २० किलोमिटरको सिपाघाटसम्मको सडक विस्तार गर्ने योजना रहेको जनाइएको छ।

सडक विभाग, सडक सुधार तथा विकास आयोजना निर्देशनालयका सुशीलबाबु ढकालले ठेकेदार समयमै कार्यसम्पादन गर्ने प्रतिबद्धताका साथ आएकाले म्याद थप गर्ने प्रक्रियामा रहेको जनाए। विकास तथा प्रविधि समितिकी सभापति खड्काले ठेकदारबाट लापरबाही भएको स्वीकार गरिन्। म्याद सकिएकाले अबका दिनमा समयमै काम सकाउने प्रतिबद्धताकासाथ एकैपटक वर्षभरिको नभई केही महिनामात्रै म्याद थप गर्न सकिने उनको भनाइ छ।

सडककै कारण नगरकोट पुग्ने बाह्य पर्यटकको संख्यामा कमी आएको होटल व्यवसायीको भनाइ छ। नगरकोटमा रहेका करिब चार दर्जन होटलले मौसममा दैनिक करिब ५० लाख रुपैयाँसम्म कारोबार गर्ने नगरकोट नाल्दुम पर्यटन विकास समितिको तथ्यांक छ। तर सडकको दुरवस्थाले अहिले उक्त कारोबार आधाले कमी आएको समितिले जनाएको छ। नगरकोटका होटलको क्षमता दैनिक आठ सय पर्यटक छ।

प्रकाशित: १३ श्रावण २०७६ ०१:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App