५ वैशाख २०८१ बुधबार
राजनीति

निशानामा वडा कार्यालय

शिखर नगरपालिका ७ को वडा कार्यालयभित्र आगजनीपछि जलेर नष्ट भएका कागजातहरु । तस्बिरः नागरिक

डोटी– यहीँ साउन ७ गते राती जोरायल गाउँपालिका–४को वडा कार्यालयमा आगजनी भयो। वडाध्यक्ष र वडा सचिवको कार्यकक्ष रहेको भवनको छत फोरेर भित्र पसी सम्पूर्ण कागजातहरु जलाइयो। 

त्यसको एकसाता नबित्दै शनिबार राती शिखर नगरपालिका–७ को कार्यालयमा पनि सोही घटना दोहोरिएको छ। राती कार्यालयको चैनगेट फोरेर भित्र पसी कार्यालयका सम्पूर्ण कागजातहरु जलाएर नष्ट गरिएका छन्। 

वडा कार्यालयमा आगजनी भएका यी दुई घटनामात्रै होइनन्। त्यसअघि बैशाख २४ गते बडीकेदार गाउँपालिका–४ को कार्यालयमा पनि आगजनी भएको थियो। 

यी तीनवटै घटनाको आधिकारिक जिम्मेवारी भने कसैले लिएको छैन। यद्यपी प्रकृति एकनाशको छ। सबै घटना राती भएका छन्, जसमा कार्यालयका कागजातहरुलाई बढी क्षति पुर्याइएको छ भने आधिकारिक जिम्मा कसैले लिएको छैन। 

घटनाका दोषीबारे भने प्रहरीले अझै अज्ञात समूह भनिरहेको छ। ‘घटनाको जिम्मेवारी कसैले लिएको छैन्,’ जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विद्यानन्द माझी भन्छन्, ‘हामी अनुसन्धान गरिरहेका छौं। छिट्टै दोषी पत्ता लाग्छ।’ 

यद्यपी यी घटनामा नेत्रबिक्रम चन्द(विप्लप) नेतृत्वको नेकपाको संलग्नता रहेको प्रहरीको आशंका छ। ‘जोरायल घटनास्थलमा एउटा मोबाइल फेला परेको छ’, प्रहरी उपरीक्षक माझीले भने, ‘सो मोबाइलको कल डिटेल हेर्दा विप्लव समूहको संलग्नता रहेको देखिन्छ। अझै अनुसन्धानपछि पूर्ण विवरण खुल्छ।’
यता विप्लव नेतृत्वको नेकपाले भने अझै यसबारे आधिकारिक धारणा सार्वजनिक गरेको छैन। डोटी जिल्ला र सुदूरपश्चिम प्रदेशका नेताहरु समेत सम्पर्कबिहीन छन्। 

यता धमाधम कार्यालयहरु जलिरहँदा जनप्रतिनिधिहरु भने त्रसित भएका छन्। ‘आगजनीपछि पनि बैकल्पिक व्यवस्था गरेर कार्यालय सञ्चालन गरिरहेका छौं’, जोरायल गाउँपालिका–४ का वडाध्यक्ष नन्दराज भट्ट भन्छन, ‘कतैबाट अनुचित दबाब त छैन। र पनि अकस्मात कार्यालय जलाईएको छ, मन डर त हुँदो रैछ।’ 

जनता र राष्ट्रको दायित्व रहेकाले जिम्मेवारी बहन गर्नुपरिरहेको बडीकेदार गाउँपालिका ४ का वडाध्यक्ष विरेन्द्र कोटकेनीले बताए। उनले भने, ‘गर्नेले पनि राज्यको सम्पत्तीमाथि यसो नगर्नुपर्ने हो। राज्यले पनि सुरक्षाको प्रबन्ध मिलाउनु पर्ने हो।’ 

यसरी धमाधम वडा कार्यालयहरु जलाइँदा अन्य जनप्रतिनिधी समेत त्रसित छन्। ‘बेलाबेला अनेकन धम्की आइरन्छन्। यसरी वडा कार्यालय जलाइँदै छन्’, एक जन प्रतिनिधी भन्छन, ‘यो देशमा के हुन्छ? केही पत्तै छैन।’

प्रकाशित: १२ श्रावण २०७६ १४:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App