नियात्रा

आइबक्स्योस् जाजरकोट!

आइतबार, १२ साउन २०७६, १६ : ०९ नागरिक

युवराज नयाँघरे

डोर्‍याएको डोर्‍याएकै गर्‍यो नदीले!
भेरी नदीको डोर्‍याइले हामीलाई सजिलो भयो। अनि उसकै किनारमा खनिएको बाटो भएर जाजरकोट पुग्यौँ हामी। अझ खलङ्गा पुगुञ्जेल नि त्यही भेरीको हापझाँप थियो उस्ताको उस्तै। उसको फकाइमा हाम्रो फुलाइ— सरोबरी भो।

खलङ्गा पुग्दा जिउमा बिहानदेखिको फूर्ति सेलाएको थियो।

नसेलाओस् नि किन? नेपालगञ्जसम्म बेगिएर पुगे पनि त्यस यता बर्दिया, सुर्खेत, सल्यान हुँदै जाजरकोट पुगेथ्यौँ हामी। धेरै वरदेखि बबई र भेरीको किनारसँगै आँखाले सकेसम्म पिउन र निल्न खोजिरह्यो।

हरिया गहुँका पिपिरा र पहेँलपुर तोरीबारीमा मनले स्वाँफ्वाँ गर्दै दगुर्न नि छोडेन। हरियोसँग जीवनको सबै तागत र फुर्ति रहेछ। म गहुँका हरिया फाँट र तोरीबारीमा आफ्नो मन कुद्दा बसिरहेँ चुपचाप।

बिहानको तातो घामले डामुँला–डामुँला गरेको ज्यान छेडागाडमा चिसिएर शिताङ्गे भयो। एकातिर फागुनको स्याँठ र फेरि घण्टौँ अघिदेखि ओइरिएको हिउँदे झरी। यी दुवैको निसानीमा म परेँ– नराम्ररी। जाडो भएको थियो भयानक।

मटेला पुगेपछि थोरै–थोरै देखिएको खोला र पहाड पनि कता लुके कता। सेतो बादलको छोपछापमा सबै परे। बादलको गीत थियो कि लोरी! कि हावाको हप्कीदप्की थियो!

विकटता र दुर्गमको नाम अहिलेसम्म रहेछ– जाजरकोट। अविकास र ओझेलको परिचय रहेछ– जाजरकोट।

बाटाभरि अनौठा–अनौठा नाम र ठाउँ भेटिन्थे। ठाडै भीर र कहालिलाग्दा खोँचमा आँखा पनि खल्र्यामखुर्लुम खस्थे। छाँगा र भीरमा झरेर बाटो लाग्न आँखाका निम्ति नि सकस पथ्र्यो अचम्मैले।

मटेला पुगेपछि खलङ्गा निकै नजिकियो।

भीर र भेरी नदी तलतिर बग्थ्यो। हामी बिस्तारै उकालियौँ। चिसो कुइरो छानिएर झन् सेतै भो। बिर्बिरे पानी लेकका थाप्लामा झन् थपियो। लेकाली ठिहीले चिनाजानी गर्न खोजिरह्यो घरी–घरी।

झमक्क साँझमा हाम्रो हुल खलङ्गा पुग्यो। पानीले पखालिएको चिसोमा कठ्याङ्ग्रिएर पिँढीमा झर्‍यौँ हामी। झरीले धोइएका राता र निख्खर सिम्रिक रङका गुराँसे थुँगा हाम्रा हात–हातमा परे।

“स्वागत छ स्वागत!” राजेश्वर कार्की र हरिबहादुर बस्नेतले हामीलाई माया पोखे। तिनका बोली, व्यवहार र विचारले जाजरकोट छङछङिएर एकै पटक छातीभित्र सरक्क पस्यो, आँखामा मायाले सजियो र कानमा मीठो भएर झन्कारियो।

हार्दिकताको तातो ओर्लिएको अनुभूत भयो चिसो मौसमसँग।

कोही कता, कोही कता भए रातिको गाँसबासको मेलोमेसोमा। पानी दर्किन छोडेन। हावा बेगिन छोडेन। सिरेटो हुइँकिन छोडेन। लेकाली आकाशमा मेरा सपनाको इन्द्रेनीले एक चोटि थप्यो अर्को रङ।

खलङ्गाको अरिङ्गाले ठिहीमा म पनि डसिएँ। माथि मालिका डाँडाबाट तारा खसेपछि म निदाएँछु। छुट्ने बेलामा मास्तिर चोटामा उक्लेका साथीहरुले भनेथे– “दाइ, बिहान छ बजे भेटुम् है!”

“सकिएला त?”

 “नसके छुट्नु होला। हामी त खलङ्गा डुल्छौँ बिहानैदेखि!”
    फागुन ४, २०७५।
०००

रातभरि परेको पानी केही मत्थरियो। अनि म पनि छ बजेको झिसमिसेमै हुलमा मिसिएँ ठेलठालिएर। हुल तात्तिएर फुरुप्पिएथ्यो।

अँध्यारो केही मत्थर होस् भनेर पर्खियौँ हामीले। अदुवाको धुलो र तातो पानी थपी–थपी खायौँ।

“पानी थपी बक्सेला!”

अमर शाहको स्नेह हामीलाई भइरह्यो पटक–पटक।

छिन्चु छोडेदेखि नै मलाई जाजरकोटे भाषा, संस्कृति र व्यवहारले छोइरहेथ्यो। त्यो अतीतकालको सभ्यता पढ्न मेरो धुकधुकीले टेकिरहेथ्यो चार हातपाउ। मनका आँखामा उल्काको खुल्दुली उर्लिरहेथ्यो।

ठकुरी र शाह खानदानीले छपक्कै ढाकेको खलङ्गामा एउटै मिल्ने भाषिक शिष्टता र आत्मीयता सुनिरहेथेँ म।

“लौ सवारी होस्!”
    शाहकै पाइलामा डोर्रिएर हामी गैरी खालीतिर झर्‍यौँ। उहिले–उहिले छेलो खेल्न यही चौरमा खलङ्गा र त्यस वरपरका भेला हुने गरे पनि अहिले भने बजारले भरिएछ गैरी खालीमा।
    कालीढुङ्गा, खबटा र काँचा माटाका टायलले छाइएका घरहरुको लस्करले बाटा पूर्व र पश्चिम उकुसमुकुसिएर लाग्थे। उज्यालो ओर्लिएर दैलो र पिँढीतिर आइरहेथ्यो। हामी छ जनाको डफ्फा एकोहोरो उत्तरतिर लाग्यौँ लुइँलुइँ।
    “दम पो फुल्यो त!”
    हुलमा बोल्ने सुइँ–सुइँ अघि लागे।
    तर दम फुलेर म पो हिँड्न सकिनँ। बाटो उकालै थियो। ठूला–ठूला झ्याप्ले कुकुरले हामीलाई निहाली–निहाली झरे।
    “नटोकी बक्सेला!’
    “भुकी मात्र बक्सेला!”

 ठट्टा गरिरहेका थियौँ हामी। भाषामा सम–संस्कारले पाएको थियो जाजरकोटे सम्मान।
    निकैमाथि पुगेपछि रुकुमको सिस्ने हिमाल आँखा सोझी पर्‍यो। हिउँमा चुलिएर निमग्न देखिन्थ्यो।
    मैले एकपटक त्यो चुलीलाई मनमनै भनेँ– ‘अग्लिन नछोड्नु!’

जाजरकोटका आफ्ना पहाडहरु जत्ति भए पनि हिमालको कमी रहेछ मनग्गे। हिउँचुलीको अभावमा यो जिल्ला मुर्झाएको रहेछ। नहुनुको पीडा लर्तरो हुँदैन।

बाटो पश्चिमतिर लागेर उकालियो। घना वनले थुम्का, डाँडा र खोँच भरिभराउ देखिन्थ्यो।

अमरले अगाडि छङछङाइरहेको धारो देखाएर भने, ‘जाजरकोटे राजकुमारी थिइन् श्री ३ चन्द्र समशेरकी महारानी बालकुमारी। उनले माइतीको दुःख नजिकैबाट देखेकीले पानी खुवाउने चाँजोपाँजो मिलाउन भनिछन् श्री ३ महाराजलाई। अनि बेलायती इन्जिनियर आएर पारि बुदबुदेको पहराबाट पानी ल्याएर खलङ्गाभरि बाँडियो। आजसम्म त्यै बेलाको इन्जिनियरिङले काम गरिरा’छ। हामी बालकुमारीकै प्रतापले गरेको कामबाट पानी खान सकिराछौँ।’

सल्यान घर भए पनि जीवनका धेरै समय जाजरकोटमै बिताएका शाहले अरु थपे।
    त्यो धारोमा मुख धोएर मैले पनि इतिहासको साक्षी बसेँ। दाँत मज्जैले सिरिङ्ग गर्‍यो।
    “हातै छिनाल्ला हजुर!”
    शाहको आदरभाव उस्तै थियो।
    त्यसपछि बाटो चोइटिएर झाप्रातिर गयो। हामी भने उकालो लाग्यौँ। सेनाको तारबेरा थियो। माथि डाँडामा सोझिएर बसेको मेसिनगनतिर हेर्न मन लाग्दैनथ्यो। तर त्यसले हाम्रा टाउका ताकेको–ताकेकै थियो।
    “जाजरकोटमा यस्ता तकाइ कति भए कति!”
    शाह बोलिरहेकै थिए।
    पसिनै छुटायो उकालीले।
    घाम, गर्मी, उकालोले मिलाएर पेले हामीलाई। म त राम्रैसँग गलेँ छु। पसिना, थकाइ र उकालीको थिचथाच राम्रै भो। ढुंगा मिलाए पनि वर्षा र हावाले उकाली उक्लन मुस्किलै भयो। घुमी–घुमी उक्लेको डाँडामा पुगेपछि पो सबै शरीर छोडेर लट्ठिएँ म।
    “ओहो, क्या गज्जब!”
    मेरा आँखाले खलङ्गा हेरेर परेली झिम्क्याउनै मानेन।
    रातभरिको पानीले पखालिएका वरिपरिका डाँडाबाट उक्लेको बादलको रासले खलङ्गा झन् हतारिएको लाग्थ्यो। बादलको सेताम्मे अन्धमुष्टिमा खलङ्गा घरी लुक्थ्यो, घरी खुल्थ्यो। फन्को मारेर गएको भेरीले आँखामा बेरबार पाथ्र्यो फनफनी।
    “त्यो सेतो दूधकुण्ड होइन ?”
    “त्यो भेरी नदी हो, कुइराको अँगालोमा परेछ!”
    अमरले चिनाइरहँदा मैले कान दिएँ, आँखा दिइनँ।
    बादलको घुम्टोले छोपिने र उघारिने भइरहेथ्यो खलङ्गामा। ठाडै उकालिएका थुम्कामा बसेको रहेछ– खलङ्गा। थाप्ले, गोर्खाली बाडा, बाहुन बाडा, काजी बाडा, बाँठा बाडा र जुजु बाडामा बाँडिएको रहेछ– खलङ्गा बजार।

जाजरकोटे समाज जुम्ली संस्कृति र भाषाको दबदबाले छोइएको रहेछ। जुम्लाकै एक शासित अङ्गको रुपमा इतिहास रहेछ यस भूभागको।
    जाजरकोटे शाह राजाहरुले गोर्खाली राजा पृथ्वीनारायण शाहलाई अविच्छिन्न सघाएछन्। त्यसकै प्रतिफल २०१८ सालसम्म जाजरकोटे राजाहरुको शिरपोस थामिएको रहेछ। तर पछि राजा–रजौटा ऐनले नेपालमा गाभिएपछि त्यतिखेरका राजा स्वयमप्रकाश शाहपछि कांग्रेसकै नेता भएर समाजसेवामा जोडिए छन्।
    शाहहरु राजा र तिनका प्रधानमन्त्री कार्कीहरु रहेको जाजरकोटको ऐतिहासिक तथ्य रहेछ। खलङ्गालाई आजको राजधानी माने पनि त्यसको पुरानो राजधानी जगतीपुरमा रहेछ।
    मालिका डाँडाबाट मनमौजी हेरेर ओरालो लाग्दा एकजना तन्नेरीले अर्कोलाई भनेको सुनेँ मैले– ‘म माइती पसी आउँछु!’

ससुरालीलाई माइत भनिने रहेछ, जाजरकोटे समाजमा।
    अलिक तलबाट भेरीको लोभलाग्दो सुन्दरता देखियो। भेरीको नागबेली सुन्दरतामा डाँडा, बस्ती र किनारको सौन्दर्य औधी लोभलाग्दो देखिन्थ्यो। भेरी नाचेको थियो आङ मर्काई–मर्काई।
    खलङ्गा उत्तर–दक्षिण फैलेको छ। त्यसको फैलाइमा बादलको रास कैले देखिन्थ्यो, कैले जम्थ्यो, कैले पातलिन्थ्यो। बादलको लुकामारीमा जाजरकोटे रुप देखिन्थ्यो अप्रतीम।
    भेरीका छाल हेर्दै हिजोको दिन बितेथ्यो। त्यही सेतो छाल जतिखेरै अकासमा अडुँला भएर फैलेको लागिरहेथ्यो मलाई।
    “भुइँको बरफ अकासमा पुगेर फेरि जमेछ!”
    मैले भनिनसक्दै अरुहरु हाँसे।
    “असिना होला दाइ!”
    ओरालो झर्दा कोही बोलिरहेथ्यो।
    “बादलको नौनीले दुःख धोएर राम्रीएकी हो खलङ्गा!”
    मैले फेरि यत्ति भनेँ।
    साथीहरु हाँसे गलल्ल।

बाटोमा एक जना कपाल फुलेका बूढा भेटिए असर्फी मल्ल। काँधमा लिउ र फेरेका भारी थिए। लेकाली भेडाको ऊनबाट लिउ र बाख्राको भुत्लाबाट फेरे बन्दा रहेछन्। यी पाखी बेच्न खलङ्गा झरेका रहेछन् असर्फी।
    म रूखतिर छेलिएर उभिएँ। उनी अर्को पोथ्रातिर उभिएर सुरुवालको इँजार खोल्न थाले।
    मै पनि रोगी पिसाबको।
    “जवानीमा थन्काउन गाह्रो, बुढेसकालमा निकाल्नै साह्रो।”
    इँजार खोलिरहेका असर्फी बोलिरहेकै थिए।
    अहो, कति ठूलो ज्ञान!
    मैले एकछिन कुरेँ। असर्फी आएपछि हामी सँगसँगै गफ गर्न थाल्यौँ। उनले भीर मह, ओखर, घ्यू, चिउरी पनि बेला–बेलामा खलङ्गा ल्याएर बेच्ने कुरा सुनाए। जाजरकोटमा यिनको राम्रो उत्पादन हुने रहेछ।
‘लाने भए पत्थर नि खोजिदिउँला!’
    जाजरकोटमा अमूल्य पत्थर पाइन्छ भन्ने सुनेथेँ। यहाँका धेरै पहाडमा त्यसको खानी समेत छ रे।
    राना गाउँसम्म हामी सँग–सँगै आयौँ। तातो चिया सुर्काउन थाले साथीहरु। म पनि त्यही डफ्फामा मिसिएँ। पानीले मालिका डाँडाबाट बिर्बिराउन सुरु गरे पनि यो बेला अलिक बाक्लियो।
    पानी बढ्न थालेपछि आपूm बसेको घरमा म भित्रिएँ। तातो खानाले भुँडी तताएँ। लुगा अरु खापेर ज्यान नि तातो पारेँ।
०००
    घाम डुब्न लागेपछि हाम्रो हुल दक्षिणतिरको बजार उकालियोे। यो बेला पो निकै सुन्दर देखिन्थ्यो खलङ्गा।
बाटा पूर्व भीर र पहरो थिए सातै उड्ने। पश्चिमतिर खपटा र कालढुङ्गाले छाइएका एक–दुई तल्ले घरको गुजुमुज्जे लस्कर थियो।
    “आँखा तिर्मिराउँछन्।”

हामीलाई बाटो देखाइरहेकी हजारी वादीले जुम्ला, डोल्पा र मुगुतिर जाने गोरेटाहरु देखाइरहिथिन्।
    बाटैमा ठाँटी–चौतारी नि थियो। म त्यहीँ सुस्ताएँ। हजारीले वरपरका सबै थुम्काहरु चिनाइन् पालैपालो।
    यतिखेर घाम झल्मलाएको थियो। कुइरो भागेर जम्मै खलङ्गाको जगमग रुपमा फुलेको थियो, खुलेको थियो र चम्केको थियो। उत्तर–दक्षिण लमतन्न फैलेको खलङ्गाको पूर्वतिर कोट खोला थियो। पश्चिम, दक्षिण भेरी नदीले छेकारो मारेको थियो।
    ढुङ्गा छापेको बाटो निकै रमाइलो र आनन्दायी लागिरहेथ्यो। उकालो बाटोमा सुस्ताउँदै हाम्रो हुल माथि डाँडैमा पुग्यो। एउटा ठूलो गेट टुप्लुकियो। रोकिएनौँ हामी।
    बाटो गएर ठूलो सेतो दरबारको चौरमा मिसियो।
    “यो सात तले सेतो दरबार हो। नब्बे सालको भूइँचालोले लडाएपछि अहिले ४ तल्ले मात्र छ।  अलिक तल अर्को दरबार छ रातो दरबार।”
    सेतो दरबारको फन्को मारेर फेरि पटाङ्गिनीमै आएँ म। दरबारमा अहिले केही सरकारी कार्यालयका सूचनापाटी थिए।
    “त्यो हो थाप्ले!”

दरबार उत्तर अर्को झुरुप्प बजार जस्तो थियो। कुनै भव्यता, धनमानी वा बिलासी भवन त्यहाँ थिएनन्– जाडो र तातोबाट बच्ने सामान्य झिँगटी र खबडे छानामा उही एक दुई दुखिया टहरा थिए। तर त्यो मौलिक, सम्पन्न र उल्लासित लाग्थ्यो बस्ती र घर आँगनको सौन्दर्य।

०००
    सेतो दरबार हेरेर म झरेँ– रातो दरबार।
    दरबारमा पनि अहिले अनेक कार्यालयहरु बसेका रहेछन्। सरकारले आपूmलाई उभ्याएको थियो त्यो दरबारमा समेत।
आज कथा, आख्यान र विमर्शबारे हुने मन्थन सुन्न मान्छे ओइरिएका थिए। तिनका उज्याला, चम्किलो र चखिला अनुहारले हामी सबैलाई पर्खिरहेको थियो।
    मैले माथि उत्तरको डाँडो मालिकातिर आँखा हुत्याएर बादल, पहाड र कुइरोको संवादमा डुबाइरहेथेँ मनलाई।

यो त्यही थुम्का थियो जहाँबाट मैले बिहान खलङ्गाको अद्भूत रुप पढेको थिएँ। यो त्यही डाँडा थियो– जहाँबाट मैले बिहान खलङ्गाको अपार सौन्दर्य निहालेको थिएँ। यो त्यही चुचुरो थियो– जहाँ मैले बिहानको उज्यालोमा खलङ्गाको विचित्रको बैंस घटघटी पिएको थिएँ।
    त्यही अद्भूत रुप, त्यही अपार सौन्दर्य र त्यही बैंसको घुट्क्याइले अहिले म लट्ठिएको थिएँ, मात्तिएको थिएँ र निमग्न थिएँ।

राजेश्वरले त्यही बेला मलाई ठाउँहरु चिनाए मालिकाबाट। बादलथाना, पाँचकटिया, सिद्ध पाइला, पूmल चाउली, चार जोड्नी, बडालेक हुँदै म रिम्नामा आएर रोकिएँ। पश्चिमबाट तोकिएका यी थुम्का र चुचुराहरु भेरीका किनारमा आएर रोकिएका थिए।
    डोल्पाबाट आएको ठूली भेरी र रुकुमबाट आएको सानी भेरी यही रिम्नामा भेटघाट गर्दा रहेछन्।

०००
    “अब भित्र पसौँ–पसौँ!”
    मोमिला आएर सबैलाई हुटहुटी लाएको देखियो। छरिएको भीड भित्र पस्यो। म पनि पसेँ सरक्क।
    माला, पूmल र खादाको उज्यालोले समारोह गम्किन थाल्यो। कविता, गीत र विचारले कार्यक्रम चम्किन थाल्यो। ताली, वाह र क्याबातले सङ्गोष्ठी महकिन थाल्यो।
    म बेला–बेलामा बाहिर आएर उत्तरतिरका चुचुरा हेर्थें, लेक हेर्थें। भेरीको फन्को हेर्थें गम्की–गम्की।
    हिउँले सेताम्मे कतिपय डाँडा र चुचुरामा फेरि अरु सौन्दर्य र बैंसालु सजिन खोज्दै थियो। झोपाका बथान कति जाँदा हुन त्यतातिर। गोठालालाई कति गाह्रो पर्दो हो– लेकमा। मनको रहरमा सुवास महकिन थाल्यो।

  मैले जाजरकोटका विकटमा मनलाई केही अत्याएँ।
    रुकुम, डोल्पा, सल्यान, जुम्ला, कालीकोट, सुर्खेत र दैलेखसम्म जोडिएको रहेछ जाजरकोट। दुर्गम र विकटताले चिनिएको यो भूमिमा मैले निकै अघिदेखि टेक्ने रहर गरेकै थिएँ।
    बल्लतल्ल जुर्‍यो। मौकाले जुर्‍यो। अवसर आयो।
    गुराँसको आभा छ हृदयमा। त्यही आभामा थन्केको खुसी मैले मोमिलालाई दिएँ र भनेँ– “तपाईंले सम्झिदिनाले मैले नबिर्सिने भएँ जाजरकोटलाई!”
    खलङ्गामा फेरि बादल आयो। झमक्कै पर्‍यो साँझ।
    कविता र गीतका भाका रोकिए। विचार र बहसका बोली बिसाइए। चिन्तन र विमर्शका स्वर थामिए।
    हाम्रो जत्थालाई हजारीले बास बसेको दैलासम्म आएर विदा गरिन्– ‘अनेक कष्ट गरेर हजुरहरु आइबक्सेको छ। फर्किंदा त्यो कष्ट नलिइबक्सेला।’    
खानदान भनेको खानदानै रहेछ। म ठकुरीहरु, शाहीहरुका स्वरमा एउटा शालीनता र सुसंस्कृतिको सुवासले आलोकित भइरहेको छु.... भइरहेको छु...।
    धुकधुकीमा मायाको स्वर बगिरहेछ शान्त, मौन र खलबलशून्य!








यसमा तपाईको मत

अन्य समाचार

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपो रेनोटू एफ आश्विन २९ गते नेपालमा सार्वजनिक गरिने

ओपोले आफ्नो रेनो सिरिज अन्तर्गतको रेनोटू एफ नेपाली बजारमा सार्वजनिक गर्ने मिति घोषणा गरेको छ। ...

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्टको अभिनव फोल्डिंग स्मार्टफोन

माइक्रोसफ्ट सरफेस डुवो र माइक्रोसफ्ट सरफेस नियो सार्वजनिक गरेर प्रविधिको जगतलाई आश्चर्य चकित पारेको छ ...

Ncell Footer Ad