८ वैशाख २०८१ शनिबार
समाज

सञ्चालकद्धारा लाखौं हिनामिनाः चार वर्षदेखि २४ परिवारको २५० रोपनी जग्गा रोक्का

जिल्ला प्रशासन कार्यालय गोरखामा सहकारीका अध्यक्षविरुद्ध उजुरी गर्न आएका सदस्यहरु । तस्बिरः नरहरि/नागरिक

गोरखा– पालुङटार नगरपालिका–१० को डुम्रेथुम कृषि सहकारी संस्थाका अध्यक्ष मैदबहादुर वाईवाले लाखौँ रुपैयाँ हिनामिना गरेको भन्दै सदस्यहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेका छन्। २०७२ सालमा सहकारी दर्ता गरेर गोरखा सदरमुकामको सांग्रिला डेभलप्मेन्ट बैंकबाट सदस्यहरुको जग्गाको पुर्जा राखेर एक करोड रुपैयाँ ऋण लिएका थिए। एक करोड ऋणमध्ये ४० लाख अध्यक्ष वाइबाले नतिरेका कारण अहिलेसम्म २४ जना सदस्यको दुई सय ५० रोपनी जग्गा रोक्का रहेको छ।

‘एक करोड ऋण ल्याएर सदस्यहरुलाई ५० लाख जति बाँडे, अरु पैसाको हिसाब किताब छैन’ आइतवार सहकारीका अध्यक्षविरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्न आएकी धनकुमारी लामाले भनिन्। सहकारीमा आवद्ध किसानलाई कृषिमा लगानी गर्न बैंकबाट वाइबाले सदस्यहरुको जग्गा धितो राखेर ऋण लिएका थिए। तर उनले ५० लाख आफैँले चलाएको आरोप पीडित सदस्यहरुको छ। बैंकमा ऋण नतिरेपछि सहकारीका सदस्यहरुलाई जग्गा लिलामी गर्न सूचनासमेत गरिएको थियो।

‘जग्गा लिलामी हुन लागेको खबर बैंकले हामीलाई गरेको थियो’ सहकारीकी कोषाध्यक्ष राममाया गुरुङले नागरिक न्यूजसँग भनिन् ‘५० प्रतिशत पैसा तिरेपछि लिलामी हुँदैन भनेपछि सबैले पैसा उठाएर तिरेका हौं।’ अध्यक्ष वाइबाले खर्च गरेको ४० लाख र अन्य सदस्यको १० लाख बैंकलाई तिर्न बाँकी रहेको उनले बताईन। अन्य सदस्यहरुले जग्गा फिर्ता आउने पक्का भएपछि तत्काल १० लाख दिने बताएका छन् भने अध्यक्ष वाइबाले एक वर्ष अघिदेखि पैसा दिन्छु भन्दै ढाँट्दै आएको आरोप पीडितहरुको छ।

आइतबार जिल्ला प्रशासन कार्यालय गोरखामा उजुरी गर्न आएका सहकारी सदस्यहले लामो समयदेखि बैंकमा लालपुर्जा राखिँदा छुटभिन्न हुन नपाएको, जग्गा धितो राखेर पेसा व्यवसाय गर्न नपाएको गुनासो गरेका थिए। सुनबहादुर लामाको ३४ रोपनी, धनकुमारी लामाको २७ रोपनी, गोविन्द श्रेष्ठको २६ रोपनी जग्गा बैंकले रोक्का राखेको छ। अन्य सदस्यहरुको छ आनादेखि रोक्का छ। जग्गा फुकुवा गरिदिन पटक—पटक आग्रह गर्दा आलटाल गरेपछि प्रहरी र प्रशासनमा उजुरी गर्न सदरमुकाम आएको पीडित महिला धनकुमारी लामाले बताइन्। जग्गा खरिद बिक्रीसमेत गर्न नपाउँदा समस्या भएको गुनासो उनीहरुको छ। बैंकमा रोक्का भएको जग्गा ३४ रोपनी पालुङटार नगरपालिका–१ को छ भने बाँकी सबै मिरकोट–१० मा पर्छ।

सहकारीका सञ्चालक अध्यक्ष वाइबाले आफुले खर्च गरेको पैसा तिर्ने र जग्गा फिर्ता लिइदिने बताएका छन्। नगारिक न्यूजसँगको कुराकानीमा उनले भने ‘सबै पैसा मैले खर्च गरेको छैन्, बैठक राखेर हिसाब बुझाउँछु।’ तर सरकारीले दुई वर्षदेखि लेखा परीक्षण गरेको छैन्। स्थापना भएको बेला पाँच सयदेखि पाँच हजारसम्म शेयर बाँडेर अध्यक्ष वाइबाले एक सय ५ जनालाई सेयर सदस्य बनाएका थिए। सदस्यमध्ये करिब ६० जनाले मासिक दुई सय ५० रुपैयाँ बचत गर्थे। प्रतिव्यक्ती करिब ८ हजार, शेयरको पैसा र बैंकबाट १४ प्रतिशतमा ऋण लिएर १६ प्रतिशतमा लगाएर दुई प्रतिशत आफैंले खाएको, बैंकको ४० लाख पनि नतिरेको आरोप अध्यक्ष वाइबालाई लागेको छ। एकलौटी सहकारी संचालन गरेर आर्थिक हिनामिना गरेको आरोप उनलाई लागेको छ।

पीडित सदस्यले प्रशासन, प्रहरी र पालुङटार नगरपालिकामा पटक—पटक उजुरी गर्दा समेत कुनै छानबिन नगरेको गुनासो सदस्यहरुको छ। आइतबार तेस्रो पटक जिल्ला प्रशासनमा गुनासो लिएका आएकाहरुको कुरा सुनेपछि जिल्ला प्रशासनले तत्काल छानबिन गर्ने प्रक्रिया अघि बढाएको छ। बैंकले कृषि सहकारीलाई लगानी गर्न प्रक्रिया पुरा गरेर ऋण दिएको जनाएको छ। सांग्रिला बैंक गोरखा शाखाका म्यानेजर महेश अधिकारीले भने ‘पहिले सबै सदस्यले मञ्जुरीनामा दिएर अध्यक्षलाई ऋण लिन पाठाउनुभयो, पछि समस्या आयो, अझै ५० लाख ऋण बैंकलाई सहकारीले तिर्न बाँकी छ।’ सहकारीले बैंकलाई तिर्नुपर्ने किस्ता भने नियमित भएको छैन्।

प्रकाशित: १२ श्रावण २०७६ १०:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App