coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

खोलाले आफ्नो पुरानै बाटो खोज्यो (भिडियो)

काठमाडौं– केही दिनअघि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट ९० जनाको ज्यान गयो भने २९ जना बेपत्ता छन्। बाढीका कारण देशभर ठूलो धनजनको क्षति भयो। पहाडमा पहिरो र तराई डुबानको चपेटामा पर्यो। यसपटकको बाढीले काठमाडौं र यस आसपासका क्षेत्रमा पनि असर गर्यो। ठूलो क्षति भएको क्षेत्र हो, कलंकी, नख्खु र बल्खु। जहाँ करोडौंको धनमालमा क्षति पुग्यो भने हजारौं मानिस प्रभावित भए। मुलपानीमा तीन जनाको मृत्यु नै भयो।

उपत्यकाको बाढीबारे अहिले जताततै एउटै प्रश्न उठ्ने गरेको छः खोला(बाढी) बस्तीमा पसेको हो की खोलामा बस्ती? यसको जवाफमा काठमाडौं महानगरपालिका १४ नम्बर वडाका वडाध्यक्ष शोभा सापकोटा खोलाको किनारमा प्लटिंग गरेर खोलाको मापदण्डलाई साँघुरो बनाउनाले कलंकी क्षेत्र बाढीको चपेटामा परेको बताउँछिन्। 

कुलेश्वरमा व्यवस्थित रुपमा बनाइएका अपार्टमेन्टहरू नै डुबानमा पर्नु अचम्मको विषय हो। अचम्ममा पर्नु पनि स्वाभाविक नै हो। किनभने कोरिडोर सडक आसपासका बस्ती सुरक्षित मानिएको थियो। सरकारले पनि नदी किनारहरूमा कोरिडोर सडक निर्माणलाई उच्च प्राथमिकता दिएको छ, अग्ला पर्खालहरू लगाएको छ, सडक बनाएको छ। तर त्यो सबै नाघेर बाढी बस्तीमा पस्यो। धनजनको क्षति पनि गर्यो। थोरै पैसाको लोभमा परी भूमाफियाहरुले खोलाको बाटो मिचेर कोलोनी र हाउजिङ निर्माण गरे। बढी मूल्यमा त्यसलाई बेचिइयो। पैसा खानेले खायो तर प्राकृतिक विपत्तिमा परेर दुःख पाउनेमा साधारण मान्छे नै परे। खोलाको बाटो मिचेर बनाइएको कारणले यी कोलोनीलाई बाढीले डुबाएको वडाअध्यक्ष सापकोटाले बताइन्।

सरकारले २०६५ सालमा नदीको दुवैतर्फ २०÷२० मिटर छाडेर मात्र पक्की संरचना बनाउन भनेको थियो। तर, नख्खु र बल्खु खोलामा मात्र होइन, आजसम्म वरपर कहीँ पनि यो पालना भएको छैन। नदी किनारसम्म घरहरू बनेका छन्। ठूलठूला संरचनाहरू ठड्याइएका छन्। खोलालाई साँघुरो बनाइएको छ। खोलाको बाटोलाई साँघुरो बनाई आफ्नै हिसाबमा अप्राकृतिक रुपमा बाटो बनाइएको छ। त्यसैले मानिसले बनाएको कृत्रिम बाटोमा खोला पस्यो। जब पानीको बहाव उच्च हुन्छ, कृत्रिम बाटोमा अट्दैन। त्यसैले घर होस् कि सडक नदीले आफ्नो बाटो कायम गर्छ। नख्खु खोलामा यस्तै भएको हो।

बर्षेनी विकासका नाममा प्राकृतिक संरचनाहरु मासिने गर्छन्। ठूला नदी तथा खोलालाई साना बनाइन्छन्। जब यी प्राकृतिक संरचनाले आफ्नो असली बाटो खोज्न थाल्छ अनि निम्तिन्छ विनाश। पटक पटक हुने यस्ता विनाशबाट मानिसले पाठ सिकेर त्यसलाई रोक्नु भन्दा अतिक्रमण गर्नतर्फ नै सधै तत्पर रहन्छ। क्लंकीदेखि खसी बजार जोड्ने पुलपारी पनि देख्न सकिन्छ यसको उदाहरण। यस क्षेत्रमा ३ वटा सरकारी कार्यालयले खोलाको बाटो मिचेर भवन निर्माण गरेका छन्। कलंकीको नापी विभाग, मालपोत र महानगर प्रहरीको वृत्त कार्यालयले खोलाको बाटो मिचेर भवन निर्माण गरेका हुन्। आएको बाढीले यी कार्यालयलाई पनि डुबायो।

त्यसैले खोला बस्तीमा पसेको होइन बस्ती खोलामा पसेको हो। बस्ती खोलामा पसेपछि खोला आफ्नो ठाउँमा बग्न नपाएर बाहिर उर्लेको मात्र हो। जुन जुन क्षेत्रमा खोला र नदीको जमिन मिच्ने काम हुन्छ, तीनै क्षेत्रमा हरेक वर्षायाममा खोला र नदीले क्षति पुर्याउँछ। लोभ तथा प्रलोभनमा नफसी प्राकृतिक क्षेत्रको संरक्षण गर्नु नै समयको माग हो। यस्तै वेवास्ता गरेर अतिक्रमण गरिरहने हो भने भविष्यमा यसले अझ ठूलो रुप लिई विनाश निम्त्याउने देखिन्छ। 

प्रकाशित: १२ श्रावण २०७६ १०:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App