coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बुद्धमूर्ति तोडफोडपछि सिसिटिभी राखिँदै

फाइल तस्बिर ।

रुपन्देही– तिलोत्तमा नगरपालिकाले बुद्धमूर्ति तोडफोड भएपछि सिसिटिभि क्यामेरामार्फत् सडक क्षेत्रको निगरानी बढाउने भएको छ। साउन १ गते राति बुटवल–भैरहवा ६ लेन सडकको डिभाइडरमा राखिएका पाँचवटा बुद्धमूर्ति अज्ञात समूहले तोडफोड गरेको थियो।

यो घटनापछि बौद्धमार्गीहरूले बुद्धको मूर्ति सुरक्षा गर्न नसक्ने हो भने नराख्नसमेत सुझाव दिएका थिए। तिलोत्तमा नगरपालिकाले भने बुद्ध मूर्तिले लुम्बिनी आउने पर्यटकलाई स्वागत गर्ने र पर्यटन प्रवद्र्धन गर्ने भएकाले यसलाई थप सुरक्षित बनाएर व्यवस्थापन गर्ने तयारी गरेको हो।

प्रदेश सरकारले भ्रमण वर्ष २०७६ घोषणा गरेपछि गत वैशाखमा २० वटा बुद्धका मूर्ति स्थापना गरेको थियो। एउटा मूर्तिका लागि करिब ६० हजार खर्च भएको छ। बुटवल योगीकुटीदेखि कोटिहवासम्म नगरपालिकाले बुद्धमूर्ति र सडक क्षेत्रमा हुने अपराधलाई नियन्त्रण गर्ने गरी आधुनिक सिसिटिभी क्यामेरा जडान गर्न लागेको तिलोत्तमा नगरपालिका प्रमुख वासुदेव घिमिरेले बताए। उनले नगरपालिकाले विकास गर्न थालेपछि अपराधिक समूहले तोडफोड गरेको भन्दै बुद्धप्रतिको सम्मान र गरिमालाई बचाउँदै सुरक्षा दिने गरी सिसिटिभीमार्फत् निगरानी गर्ने निर्णय गरिएको बताए।

 साउन १ गते राति बुद्धका मूर्ति तोडफोड भएको थियो। उक्त घटनामा संलग्नको भने पहिचान हुन सकेको छैन।

फोडिएका बुद्धका मूर्ति तत्काल तयार गरेर राख्ने तयारीमा समेत जुटेको नगरपालिकाले जनाएको छ। उनका अनुसार बुद्धका मूर्तिसहित समग्र सडक क्षेत्रका अपराधका क्रियाकलाप निगरानी गर्ने गरी एक महिनाभित्र सिसिटिभी जडान गरिनेछ।

तिलोत्तमा नगरपालिकाले प्रहरी र स्थानीय संघसंस्थासँगको सहकार्यमा सिसिटिभी जडान गर्न उपभोक्ता समितिसमेत गठन गरिसकेको छ।

रातिमा समेत भिडियो रेकर्ड गर्ने खालको क्यामेरा राखेर तिलोत्तमाको १६ किलोमिटर सडकमा सिसिटिभी क्यामेरा जडान गर्न लागिएको प्रमुख घिमिरेले बताए।

तिलोत्तमा उद्योग वाणिज्य संघ र तिलोत्तमा व्यापार संघलाई सिसिटिभी जडानका लागि जिम्मेवारी दिइएको छ। उपभोक्ता समितिमार्फत् काम अघि बढाउने गरी सिसिटिभी खरिदको तयारी भइरहेको तिलोत्तमा व्यापार संघ अध्यक्ष जेपी कँडेलले बताए। उनले पहिलो चरणमा योगिकुटीदेखि कोटिहवासम्म ४० देखि ४५ वटा सिसिटिभी क्यामेरा जडान गर्ने योजना बनाइएको बताए।

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी भीमलाल भट्टराईको संयोजकत्वमा गठन भएको अनुसन्धान टोलीले तथ्य नजिक पुगेको बताएको छ। कसले, किन तोडफोड गरेको भनेर यकिन गर्न भने अझै केही दिन लाग्ने उनले बताए। उनले घटना अपराधिक समूहबाट भएको र यसमा कुनै पनि धार्मिक गन्ध नरहेको प्रष्टाए।

प्रकाशित: १२ श्रावण २०७६ ०८:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App