काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेश सिलवालले १३औं दक्षिण एसियाली खेलकुद (साग) का लागि कार्यविधि समयमै नआए पनि तयारीमा कुनै किसिमको अवरोध सिर्जना नहुने बताएका छन्।
१३औं सागको कार्यविधि समयमै बन्न नसक्दा नेपालमै आयोजना हुने भनिएको सागको तयारी प्रभावकारी रूपमा हुन नसकेको टीकाटिप्पणी आइरहँदा सदस्यसचिव सिलवालले भने कार्यविधिको पर्खाइमा नबसी फास्ट ट्र्याकबाट कामको थालनी भइरहेको बताएका हुन्। त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले शनिबार आयोजना गरेको सम्मान, स्वागत तथा अन्तरक्रिया कार्यक्रममा सदस्यसचिव सिलवालले कुनै पनि कारणले सागको तयारीमा अवरोध सिर्जना नहुने स्पष्ट पारेका छन्।
‘१३औं सागको आयोजनाका लागि कार्यविधि आउन समय लाग्न सक्ला,’ राखेप सदस्यसचिव सिलवालले भने,‘तर त्यसको पर्खाइमा हामी हुनेछैनौं। कार्यविधि आउँदै गर्छ, हामी आफ्नो तवरबाट काम गरिरहन्छौं।’ साथै संरचना निर्माणमा पनि पछिल्ला समय तीव्रता बढेको दाबी गर्दै राखेप सदस्यसचिव सिलवालले दैनिक रूपमा निरीक्षण भइरहेको बताए।
आवश्यक मात्रामा निर्माण कार्य सम्पन्न हुन नसक्दा खेलकर्मी र खेलप्रेमीमा यस पटक पनि नेपालमा १३औं साग हुने आशंका पैदा भइरहेको छ।
१३औं साग आयोजनाको प्रमुख स्थलहरू काठमाडौं र पोखराका निर्माणधीन रंगशालाको कार्यप्रगतिका बारेमा आफू दैनिक रूपमा अपडेट रहेकाले समयमै निर्माण सकिने सिलवालले भनाइ छ। पटकपटक मिति सरेको १३औं साग आगामी मंसिर १५ देखि २४ गतेसम्म सञ्चालन गर्ने तयारीमा सरकार छ। यद्यपि, आवश्यक मात्रामा निर्माण कार्य सम्पन्न हुन नसक्दा खेलकर्मी र खेलप्रेमीमा यस पटक पनि नेपालमा १३औं साग हुने आशंका पैदा भइरहेको छ।
तर, राखेप सदस्यसचिव सिलवालले भने सुरुआतमा त्यस्ता आशंका भए पनि हाल उनीहरूको मनोविज्ञानमा सकारात्मक परिवर्तन आएको दाबी गरेका छन्। साग आयोजनाको मुख्य स्थल दशरथ रंगशाला, सातदोबाटोमा रहेका पौडी पोखरी र पोखरामा रहेका केही खेल संरचनामा समयमै बन्न सकिरहेका छैनन्। वर्षाैंदेखिको मिहिनेतको प्रतिफल पाउने साग आयोजनाको अन्योलताका कारण खेलाडी र खेलकर्मीहरू निराश बन्न बाध्य छन्।
तर, सदस्यसचिव सिलवालले कुस्तीबाहेक अन्य खेलको प्रशिक्षण सुरु गरिसकेकाले खेलाडीहरूमा पनि छुट्टै किसिमको उत्साह पैदा भएको बताए। ‘सुटिङको प्रशिक्षणका लागि केही समस्या भएको थियो। तर, अहिले त्यसको पनि लगभग समस्या समाधान भइसकेको छ,’ सदस्यसचिव सिलवालले भने, ‘कुस्तीबाहेक सबैले आफ्नो किसिमबाट तयारी थालिरहेका छन्। कुस्तीको पनि केही दिनमा प्रदेश–२ मा लगेर प्रशिक्षण गराउने तयारी भइरहेको छ।’
आगामी विश्वकप फुटबलको एसियाली छनोट चरणका खेल तत्कालै गर्न भने सम्भव नभएको सिलवालको भनाइ छ। ‘विश्वकप छनोटको खेलअन्तर्गत भदौ १९ गते कुवेतविरुद्ध घरेलु मैदानमा हुने खेल गर्न भने हामी असमर्थ छौं,’ सिलवालले भने,‘तर पहिले अवे खेल खेलेर पछि होम खेल गर्नका लागि अखिल नेपाल फुटबल संघमार्फत प्रयास भइरहेका छन्।’
सदस्यसचिव सिलवालले दशरथ रंगशाला निर्माणलाई तीव्रता दिन आवश्यक पर्ने सामग्री निर्माण भइरहेका स्थानमा आपूmहरू जान लागेको पनि जानकारी दिए। ‘भिआइपी प्यारापिटका लागि आवश्यक पर्ने सामग्री चीन र भारतका बनिरहेका छन्,’ सदस्यसचिव सिलवालले भने, ‘म चीनतर्फ जानेछु र उपाध्यक्ष (पीताम्बर तिम्सिना) भारत जाँदै हुनुहुन्छ। सकेसम्म छिटै बनाउन हामीले दबाब दिनेछौं।’
यद्यपि, समयमा रंगशाला बन्न नसक्ने अवस्था भएमा आफूहरू वैकल्पिक रंगशाला निर्माणको योजनामा पनि रहेको सिलवालको भनाई छ। ‘हामी हरेक तवरबाट तयारी गरिरहेका छौं। त्यसैले यस पटक नहुने अवस्था नै हुँदैन,’ सदस्यसचिव सिलवालले थपे। उनले खेलकर्मीबीच एकताको भावना जगाउन १३औं साग आयोजनाअगावै कुनै पनि संघको निर्वाचन नगर्ने सोचसमेत बनाएको बताएका छन्।
राखेप र ओलम्पिकबीच विगतमा भएका खराब सम्बन्धका बारेमा कोट्याउँदै सदस्यसचिव सिलवालले एकअर्काको क्षेत्राधिकार नाघ्ने प्रयास हुँदा त्यस्तो अवस्था सिर्जना भएको बताउँदै आफूले पनि त्यस किसिमको परिस्थिति नदोहो-याउने र अन्यले गरेमा सह्य नहुने उद्घोष गरेका छन्।
शनिबार एक कार्यक्रमबीच नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) ले नवनियुक्त सदस्यसचिव सिलवाललाई स्वागत गर्दै आगामी चारवर्षे कार्यकाल सफलताको शुभकामना दिएका थिए।
प्रकाशित: १२ श्रावण २०७६ ०५:०६ आइतबार