८ वैशाख २०८१ शनिबार
अर्थ

रासायनिक मलको मौज्दात रित्तियो

नेपालगन्ज – किसानको माग बढी हुने बेला बाँकेमा रासायनिक मलको मौज्दात रित्तिएको छ। किसानलाई रासायनिक मल उपलब्ध गराउन नेपाल सरकारले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई जिम्मा दिँदै आएको छ।

अनुदानको मल बिक्रीका लागि कृषि सामग्रीले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत कोटा पाउँछन्। धान उत्पादन गर्न किसानले रासायनिक मल बढी मात्रामा प्रयोग गर्छन्। युरिया मल अभाव भएपछि किसान तनावमा छन्। कृषि सामग्रीसँग अहिले युरियासहित डिएपी र पोटासको मौज्दात सकिएको छ।

नयाँ आव ०७६/७७ का लागि मल आयात गर्न ढिलाइ हुँदा अभाव सिर्जना भएको कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय नेपालगन्जका निमित्त प्रमुख रमेश पौडेलले बताए। ‘अहिले धान खेतीको सिजन चलिरहेको छ, किसानले धानमा धेरै जसो युरिया मल प्रयोग गर्छन्,’ उनले भने ‘नयाँ आवका लागि आयात गर्न ढिलो हुँदा मल अभाव सिर्जना भएको हो।’ यो सिजनका लागि अझै २५ सय मेट्रिक टन युरिया र दुई सय मेट्रिक टन डिएपी आवश्यक परेको पौडेलले सुनाए।

पौडेलका अनुसार कम्पनीको क्षेत्रीय कार्यालयले आव ०७५/७६ को असार मसान्तसम्म युरिया मल चार हजार ६ सय टन, डिएपी एक हजार नौ सय ७२ र पोटास ४९ टन बिक्री गरेको छ। कम्पनीले युरिया तीन हजार टन, डिएपी एक हजार ६ सय र पोटास ७० टन बिक्री गर्ने वार्षिक लक्ष्य लिएको छ। गत आव ०७४/७५ मा युरिया चार हजार तीन सय ८१ टन, डिएपी एक हजार ६ सय ५१ र पोटास ७४ टन बिक्री गरेको थियो। रोपेको २१ दिनपछि किसानले धानलाई युरिया मल दिनुपर्छ। ‘अधिकांश किसानले अहिले धान रोपिरहेका छन्, रोपेको २१ दिनपछि किसानलाई जब युरिया मल आवश्यक पर्छ, त्यसपछि झन् के हालत होला ?’ पौडेलले भने, ‘आर्थिक रुपले सम्पन्न किसानले धान नरोप्दै मल किनेर राखेका छन्, तर गरिब किसानसँग पहिल्यै किनेर राख्ने क्षमता हुँदैन, मल अभाव हुँदा उनीहरु बढी समस्यामा पर्छन्।’

कृषि सामग्रीसँग मल खरिद गरेर बाँकेका एक सय ५३ सहकारी संस्थाले किसानलाई बिक्री गर्दै आएका छन्। कृषि सामग्रीको क्षेत्रीय कार्यालयले बाँकेसहित सल्यान, दैलेख, रुकुम (पश्चिम), जुम्ला, हुम्ला, मुगु र कालिकोटसम्म मल खपत गर्दै आएको निमित्त प्रमुख पौडेलले जानकारी दिए। कम्पनीको केन्द्रीय कार्यालयले नयाँ आर्थिक वर्षका लागि मल खरिद गरिसके पनि भैरहवा नाका भएर भदौ पहिलो सातासम्म नेपालगन्ज आइपुग्ने उनको अनुमान छ।

नेपालगन्जस्थित साल्ट ट्रेडिङको गोदाममा पनि अहिले युरिया मल मौज्दात छैन। कम्पनीको नेपालगन्ज कार्यालयका लेखा प्रमुख धु्रवमान श्रेष्ठले अहिले अनुदानको युरिया मल गोदाममा नभएको जानकारी दिए। उनका अनुसार अनुदानको डिएपी मल एक सय ५० टन र पोटास १२.५ टन रहेको छ। आव ०७५/७६ मा कम्पनीले युरिया एक हजार सात सय टन, डिएपी एक हजार २० र पोटास ६ सय ३० टन बिक्री गरेको छ।

साल्ट ट्रेडिङले गैरअनुदानको सिंगल सुपर फस्फेट (एसएसपी) र एमोनियम सल्फेट(एएस) नामक रासायनिक मल पनि सहकारीमार्फत किसानलाई बिक्री गर्दै आएको श्रेष्ठले बताए। बाँके र बर्दियाका किसानलाई रासायनिक मल बिक्री गर्न ८५ सहकारी संस्थामार्फत कारोबार गरिरहेको उनले जानकारी दिए। नयाँ आवका लागि अनुदानको रासायनिक मल थप्न आउने साल्ट ट्रेडिङ कम्पनीले जनाएको छ।

प्रकाशित: १२ श्रावण २०७६ ०४:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App