coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

'पारवहनका स्थलगत समस्या हटाउँछाैं'

काठमाडौं – नेपाल र भारतबीचको पारवहनमा विद्यमान चुनौती तथा व्यावहारिक समस्याका विषयमा शनिबार महासंघ सचिवालयमा बृहत् छलफल भयो। भारतीय सरकारका उद्योग तथा वाणिज्य मन्त्रालयका विशेष सचिव (लजिस्टिक) एन सिभासैलामको स्वागतमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा आयोजित विशेष भेटवार्ता कार्यक्रममा उक्त छलफल भएको हो।

विशेष सचिव (लजिस्टिक) सिभासैलाम नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र मेरिटाइम गेटवे इन्डियाद्वारा संयुक्त रूपमा काठमाडौमा आइतबार आयोजना गर्न लागेको नेपाल–भारत पारवहन सहजीकरण सम्मेलन (इन्डो नेपाल लजिस्टिक्स समिट–२०१९) मा भाग लिन काठमाडौं आएको महासंघले जनाएको छ।

महासंघ अध्यक्ष भवानी राणाले सो अवसरमा विशेष सचिव एन सिभासैलामको महासंघ सचिवालयमा स्वागत गरिन्। उक्त भेटवार्तामा भारत सरकारको वाणिज्य मन्त्रालयका सहसचिव अनन्त स्वरूप, नेपालस्थित भारतीय राजदूतावासका द्वितिय सचिव (वाणिज्य) कपिध्वजप्रताप सिंह, महासंघको कार्यकारिणी समितिका सदस्यहरू अशोककुमार तोदी, भरतराज आचार्य, प्रकाशसिंह कार्की, प्रवलजंग पाण्डे, कार्गो व्यवसायमा आवद्ध उद्यमी–व्यवसायी, महासंघका निमित्त महानिर्देशक गोपालप्रसाद तिवारी सहितको सहभागिता रहेको थियो।

भेटवार्तामा अध्यक्ष राणाले भारत, नेपालको सवैभन्दा ठूलो व्यापारिक साझेदार रहेको र अधिकांश व्यापार भारतीय भूमि भएर हुने गरेको स्थितिमा पारवहनका विषयमा देखापरेका समस्या समाधान गरी निर्वाध व्यापार, व्यवसायको वातावरण बन्नुपर्ने विषयमा नेपाली निजी क्षेत्रको धारणा राखिन्। अध्यक्ष राणाले विशेष सचिवसँग भएको अन्तक्र्रियाबाट पारवहन क्षेत्रमा देखिएका समस्याका विषयमा स्पष्ट पार्ने मौका मिलेको र समस्या समाधानमा विशेष सचिवबाट महत्वपूर्ण पहल हुने विश्वास प्रकट गरिन्।

विशेष सचिव सिभासैलामले नेपाल–भारत पारवहनका विषयमा प्रत्यक्ष रूपमा नेपाली उद्यमीसँग बसेर छलफल गर्ने मौका पाएकोमा खुसी व्यक्त गरेको महासंघले जनाएको छ। उनले स्थलगत रूपमा रहेका समस्या समाधानमा आफूले सक्दो सहयोग गर्ने विश्वास पनि दिलाएका छौं। ‘भारत–नेपालबीच व्यापारको दृष्टिकोणले मात्र होइन हामीबीचको सम्बन्ध अत्यन्त पारिवारिक समेत रहेकाले आपसी लाभका लागि संयुक्त रूपमा सहकार्य गर्न भारत सरकार तयार छ,’ उनले भने। छलफलमा उठेका नीतिगत, पूर्वाधार तथा स्थलगत सबै प्रकारका समस्या समाधानमा सहयोग गर्ने पनि उनको प्रतिबद्धता छ।

छलफलमा नेपाली उद्यमी व्यवसायीको तर्फबाट नेपालले पैठारी गरेका सामानहरू बन्दरगाहमा जाहाजबाट झार्ने, गोदाममा राख्ने, रेलका डिब्बाहरूको अपर्याप्तता लगायत कारण नेपाल पठाउने क्रममा विभिन्न समस्याहरू रहेको, त्यसले अनावश्यक खर्च बढाइरहेको, गोदाममा रहेका सामान नेपाल पठाउन अनावश्यक ढिलाइ हुँदा ठूलो रकम विलम्ब शुल्कबापत तिर्नुपरेको, कतिपय ठाउँमा पूर्वाधार समेत अत्यन्त कमजोर रहेका कारण समस्या उत्पन्न भएको र यसबाट समग्रमा नेपालको व्यावसायिक लागत समेत बढ्न गएकाले समस्या समाधानका लागि सचिव सिभासैलामको ध्यानाकर्षण गराइएको थियो।

पारवहनका समस्या र समस्या समाधानतर्फ भइरहेका प्रयासको पृष्ठभूमिमा नेपाल–भारतबीचको पारवहनलाई कसरी सरल र प्रभावकारी बनाउन सकिन्छ भन्ने उद्देश्यले आइतबार काठमाडौंमा नेपाल–भारत पारवहन सहजीकरण सम्मेलन हुँदैछ। सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम तय भएको छ। सम्मेलनमा दुवै देशका व्यापार तथा वाणिज्य क्षेत्रका विज्ञ र सरकारी पदाधिकारीबाट पारवहन, आयात–निर्यात लगायतका विषयमा कार्यपत्र प्रस्तुति तथा छलफल हुने कार्यक्रम छ।

प्रकाशित: १२ श्रावण २०७६ ०४:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App