८ वैशाख २०८१ शनिबार
विचार

आँखा नगाडौँ शिवपुरीमा

पैसाको आँखा कहाँ कहाँ पुग्ने ! सीमातीत हुने रहेछ। त्यसैले त होला पुँजीवादले संसार खाँदै गरेको। पैसा पैसाले तान्ने। पैसाले पैसा तान्ने पनि धेरैले थोरैलाई तान्ने। यो रहस्य नबुझेको एकजनाले एक रुपियाँ पाएछ र पैसा तान्ने कल्पना गरेछ। एउटा खुत्रुकेअगाडि गएछ र एक रुपियाँ महेन्द्र मल्ली डबल खुत्रुकेको प्वालमाथि हातले समातेर खुत्रुकेको पैसा तान्न डबलको केही भाग छिराएछ। तलको पैसा तान्न। केही मिनेट त्यसो गर्दा औँला गलेछ र सो डबल खुत्रुकेमै खसेछ। तब त्यो पैसा तान्न खोज्नेले भनेछ– पैसाले पैसा तान्छ भनेको सयका सय सत्य रहेछ। तर याद गर्नुपर्ने गाँठी कुराचाहिँ के रहेछ भने धेरैले थोरै तान्ने रहेछ। म थोरैले धेरै तान्छ भन्ने भ्रान्तीमा परेर भएको एक रुपियाँ पनि गुमाएँ।

पैसा तान्ने खेलमा पैसाको आँखा शिवपुरी राष्ट्रिय निकुञ्जमा पनि परेछ। शिवपुरी राष्ट्रिय निकुञ्ज भनेको काठमाडौँ खाल्डोका लागि कामधेनु गाई हो जे चाहियो त्यही दुहुन सकिने। पानी चाहिए पानी, चोखो हावा चाहिए चोखो हावा, चराचुरुङ्गीको सुरम्य चिरविर–चिरविर आवाज चाहिए त्यही आवाज, वन्यजन्तुको अद्भूत खेल हेर्न मन लागे त्यही, शीतल हावा खान मन लागे शीतल हावा, जे खोज्यो त्यही पाइने। विचित्र, दुर्लभ र अत्यन्त अत्यन्त मनोरम शिवपुरी राष्ट्रिय निकुञ्ज। ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक सौन्दर्यको उद्गमस्थल, मुहान र मनचिन्ते भण्डार। काठमाडौँ खाल्डोको पानीको जलाधार क्षेत्र, पानीको भकारी, कटुवालदह–वाग्द्वार सांस्कृतिक यात्राको अद्वितीय थलो शिवपुरी राष्ट्रिय निकुञ्ज। प्रकृतिको अनुपम उपहार। पशुपतिनाथलाई चोखो गराउन स्नान गराउने गुणस्तरीय पानीको मुख्य स्रोत वाग्मती नदीकी आमा, वाग्मती सभ्यताको जनक एवं जननी ! शिवपुरीमा जे÷जति सुन्दर नाममा भएपनि आँखा नलगाऊ, लोभ नगर।

काठमाडौँ खाल्डोलाई प्राणवायु भर्ने शिवपुरीमा तीन÷तीनवटा केबुलकारसहितका रिसोर्ट सञ्चालन गर्न दिने हो भने काठमाडौँ उपत्यका केही दशकमै मरुभूमिमा परिणत हुनेछ।

कहाँको के न्याय हो यो?
हो, त्यही पावन ठाउँमा आँखा परेछ पैसाको। अब पैसावालाहरूले पैसा तान्न, पैसा फलाउन पैसा रोप्ने योजना बनाएछन्। नाम कति आकर्षक जुराएछन्, पर्यटक प्रबद्र्धन परियोजना सार्थक नामकरण गर्ने हो भने ‘परिशोषण’ सुहाउने। समुद्री सतहबाट २,२९६ मिटर उचाइमा केबुलकार सेवासहितका तीनवटा रिसोर्ट सञ्चालन गरी पर्यटन प्रबद्र्धन परियोजना सञ्चालन गर्ने योजना बनाइएछ। गोकर्णेश्वरदेखि मूलाबारीसम्मको एउटा केबुलकार, एउटा रिसोर्ट, बूढानीलकण्ठदेखि शिवपुरीसम्म एउटा केबुलकार एउटा रिसोर्ट र नागार्जुनदेखि नागार्जुन पिक अर्को केबुलकार र अर्को रिसोर्ट। हाललाई तीन केबुलकार तीन रिसोर्ट। पैसा कमाउने क्या लोभलाग्दो परियोजना ! वाग्मती, विष्णुमती, नागमती, श्यालमती,रुद्रमती र इच्छुमतीसमेतको जलाधार क्षेत्र। २००७ सालदेखि नै अत्यधिक वन विनाश र वन अतिक्रमण हुन थालेपछि खानेपानीको मुहान, जलाधार क्षेत्रको संरक्षणका लागि २०३२ सालमा शिवपुरी जलाधार संरक्षण क्षेत्र घोषणा गरेको हो।

सो जलाधार क्षेत्र नखलबलियोस् भनी निकुञ्जभित्र २०४० को दशकमै १११ किलोमिटर सडक बनेपनि बागद्वारलाई सुन्दरीजल सडकमा जोडिएको छैन। परापूर्वदेखि स्थायी बसोबास गर्दै आएका मूलाबारीका रैथानेहरूलाई बिस्थापन गरी २०३८ मा नै गोकर्णको तारेभिरमा स्थानान्तरण गरी सो मूलाबारी क्षेत्र खाली गराइएको कुरा बिर्सन नहुने विन्दु हो। मूलाबारीमा नै केबुलकारसहितको रिसोर्ट बनाउन कुन नैतिकताका आधारमा दिने भन्ने मानव अधिकारको संवेदनशील प्रश्न पनि सहसा उभिएको छ। यो कहाँको न्याय हो रैथानेहरूलाई उठिबास लगाएको ठाउँमा केबुलकारसहितको रिसोर्ट खोल्ने ?

प्रकृति बिगार्ने काम नगर
शिवपुरी राष्ट्रिय निकुञ्जको मुटु मूलाबारीसम्म केबुलकारसहितको रिसोर्ट निर्माणमा कृष्ण, बलराम, सोनाम शेर्पादेखि नेपाल कम्युनिस्ट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि साथ र सहयोग छ भनी सांसद प्रकाश श्रेष्ठले भन्नुभो भन्ने कुरो पनि अखबारमा छापिएको छ। जनताबाट निर्वाचित उहाँहरू यस्तो घातक एवं जनविरोधी काममा कसरी लाग्नुभो होला ? पत्याउन सकस भएको छ। सो संवेदनशील क्षेत्रमा यस्ता भौतिक संरचना निर्माण गर्न पूरै निषेध गर्नुपर्छ। राजनीतिक पार्टीका नेताहरूमार्फत यस्ता सभ्यता विरोधी, जलाधार क्षेत्र, खानेपानी र सिँचाइको स्रोत जङ्गल, वनस्पति एवं वन्यजन्तुको विनाशका अतिरिक्त काठमाडौँ उपत्यकाको जनजीवन नै खलबलिने, अवरोध हुने ती ठाउँमा केबुलकार र रिसोर्ट जस्ता भौतिक संरचना भएभने के होला यो खाल्डोको भविष्य?

चन्द्रागिरी केबुलकार स्थापना र सञ्चालन हुँदा त्यो क्षेत्रको वन अत्यधिक विनास हुँदैछ भन्ने कुरा देखिएको छ। शिबपुरीलाई पनि त्यही दुर्दशामा पु¥याउने ? पानी, हावा, वायु, पहिरो, सुक्खा, खडेरी, आगलागी, पानीको मुहानआदि विषय पढेका र त्यही क्षेत्रमा दशकौँदेखि पसिना बगाएका विषयविद्हरू प्रकृतिलाई नबिगार्न आग्रह गर्छन् र भन्छन्– ‘प्रकृति बिगार्नेबित्तिकै त्यसले पानीका बहावलगायत समग्र पानी प्रणालीलाई नै सिध्याउँछ। प्राकृतिकरूपमा रहेको यो टापुलाई खनजोत गरी कंक्रिटमय पार्दा कालान्तरमा अकल्पनीय क्षति निम्तन सक्छ। तसर्थ प्रकृतिसँग ख्यालठट्टा गर्नु मूर्खता हुन जान्छ। एकातिर धाप क्षेत्रमा जलाशय निर्माण गर्ने भन्ने अर्कोतर्फ पानीको मुहानका वन र जलाधार क्षेत्र विनास हुनेगरी भौतिक संरचनाको अनुमति दिनु उचित हुँदैन।

पानीको मुहानमै मानवीय गतिविधि थप्न दिने हो भने वाग्मती सभ्यतामा आँच पुग्न सक्छ। अत्यधिक नदी दोहनबाट नदी सभ्यतामै खग्रास ग्रहण लाग्न सक्ने कुरा नौलो होइन। नदीको शीरमा नै थप भौतिक संरचना निर्माण गर्नु कोलाहल निम्त्याउनु हो। यस्तो काम बुद्धिमानी हुँदैन। निकुञ्जभित्र भौतिक पूर्वाधारहरू निर्माण गर्न दिँदा पानीका वाटर टावर ध्वस्त हुनेतर्फ किन ध्यान नदिएको होला ? शिवपुरी राष्ट्रिय निकुञ्जभित्र कतिपय दुर्लभ वन्यजन्तुको बासस्थानसमेत भएकाले ठूला विकास निर्माणका काम गर्न दिनुहँुदैन भन्नेतर्फ वातावरणवद्हरूले सतर्क गराएका छन्।

रिसोर्ट मान्छेले बनाउने हो तर निकुञ्जहरू मान्छेले बनाउने होइन। प्रकृतिले दिने उपहार हो। तसर्थ प्रकृतिमाथि आक्रमण नगरौँ। बरु संरक्षण गरौँ। पैसा कमाउने मित्रहरू यस कारण पनि शिवपुरी निकुञ्जमा आँखा नगाड्नोस्।

जैविक विविधताको वैविद्य
शिवपुरीको सम्पूर्ण डाँडा उपोष्ष्ण र शीतोष्ष्ण क्षेत्रमा पर्ने रहेछ। यहाँको हावापानी, भूबनोट, माटो तथा जैविक तŒवहरूले गर्दा प्राकृतिक वनको संरचनामा विभिन्नतासमेत ल्याएको देख्छन् पारखीहरू। १८०० मिटरभन्दा तलका दक्षिण मोहडाका डाँडामा खोटेसल्ला, चिलाउने, कटुसको वन फैलिएको देखिन्छ। माथिल्लो भेगमा चिलाउने, कटुस, सल्ला, बाँझ, फलाँट, गुराँस, खस्रु र खोलाका छेउछाउमा उत्तीस प्रजातिछन्। यो निकुञ्जमा ३१८ प्रजातिका चरा पाइने रहेछन्। त्यसैले त संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति जिमी कार्टर त्यो पाको उमेरमा नेपाल आउँदा पनि बिहान सकारै चरा कराएको चाँचाँ, चुँचुँ, चिरविर चिरविर सुनेर आनन्द लिन शिवपुरी राष्ट्रिय निकुञ्ज जाने गर्दारहेछन्।

काठमाडौँबाट नजिकैको त्यो शिवपुरी जङ्गल रतुवा, बँदेल, ध्वाँसेचितुवा, भालु, चितुवा,जङ्गली बिरालो, लंगुर जस्ता जनावरको बासस्थान÷आश्रयस्थल बनेकोछ। यस अतिरिक्त विभिन्न रङका १२४ प्रजातिका पुतली पनि पाइन थालेछन्। पुतलीलाई धुवा असह्य हुन्छ। च्याउ नै १२९ प्रकारका र  सुनाखरी पनि १२३ प्रजातिका पाइने रहेछ। त्यतिमात्र हो र? शिवपुरी राष्ट्रिय निकुञ्जको अर्को विशेषताका रूपमा यसभित्र हिन्दु धर्मावलम्वी तथा बौद्ध धर्माबलम्वीहरूका आस्थाका महŒवपूर्ण धार्मिक स्थल पनि रहेछन्। बागद्वार, जामाचो, विष्णुद्वार, तारेभीर रगुम्बाहरूले यस क्षेत्रको महिमा र गरिमा बढाएका छन्। शिवपुरी जलाधार क्षेत्रको क्षेत्रफल १५९ वर्ग किलोमिटर पुगेको छ २०६५ सालमा नागार्जुनको १५ वर्ग किलोमिटर थपेपछि। काठमाडौँ खाल्डोलाई प्राणवायु भर्ने शिवपुरीमा तीन÷तीनवटा केवुलकारसहितका रिसोर्ट सञ्चालन गर्न दिने हो भने काठमाडौँ उपत्यका केही दशकमै मरुभूमिमा परिणत हुनेछ। जबकि शिवपुरीमा अहिले पनि वर्षको डेढ लाखभन्दा बढी पर्यटक जाँदा रहेछन्।

नगरौँ प्रकृतिमाथि आक्रमण
शिवपुरी राष्ट्रिय निकुञ्ज शिवपुरीमात्र नभएर, पक्षीपुरी, पुतलीपुरी, च्याउपुरीसमेत रहेछ। त्यहाँ भएका छिप्पिएका रुखका टोड्कामा सुनाखरी, चाँदीगाभा जस्ता लोभलाग्दा फूल फुलेर सम्पूर्ण निकुञ्ज नै लालित्यपूर्ण हुनेरहेछ। चिराइतो, सतुवा, पाखनभेद, विखमा, विख जस्ता जडीबुटीले शिवपुरीलाई झनै समृद्ध पारेको छ। अल्लाको बिरुवा, अर्गेली, लोक्ता पनि पाइने हुँदा वनस्पतिहरूको जीवित संग्रहालय जस्तै भएको छ शिवपुरी राष्ट्रिय निकुञ्ज। संक्षेपमा भन्नुपर्दा शिवपुरी पानीको खानी, पक्षीहरूको रतिरागको उपयुक्त थलो, पुतलीहरूको सुरम्य क्रिडास्थल एवं पुष्पधनको ढुकुटीको साझा उपहार हो प्रकृतिको यो खाल्डोका निवासीहरूलाई। १२० वर्ग किलोमिटर भन्दा पनि सानो यो भूखण्डमा ३२० प्रजातिका पन्छीको बासस्थान हुनु भनेको कुल जर्मनीको  ३,५६,७७३ वर्ग किलोमिटरभित्र पाइने ३११ प्रजातिका पन्छीभन्दा अधिक घनीभूत होइन र ?

यसो हिसाब गर्दा १५/१६ हजार हाराहारीका चराचुरुङ्गी चिरविर गर्दारहेछन्। त्यसै लोभिएका रहेछन् र राष्ट्रपति कार्टर ? पन्छी संसार अवलोकन गर्नेहरूले पाइताला चाल्दासमेत आवाज नआउने गरी हिँड्नुपर्ने रहेछ। अब तीनवटा केबुलकार र तीनवटा रिसोर्ट चले शिवपुरी शिवपुरी रहँदैन, खरानीपुरी, धूलोपुरी र ध्वनिपुरीमा रूपान्तरण हुनेछ। आजको शिवपुरीमा कुक्कु कुक्कु भन्ने कोहो, कोहो  भन्ने र बीउ कुहियो, बीउ कुहियो, काफल पाक्यो भन्ने १४ प्रजातिका कोइली चरीका बथानका बथान छन् रे। ६ प्रजातिका त बुल बुल र जुरेलीमात्र रहेछन् शिवपुरीमा। फूलमा त्यस्तै रहेछ शिवपुरी। सुनको गजुर भन्ने फूल नेपालबाहेक संसारमा नपाइने, तर यही शिवपुरीमा भने पाइने रहेछ।

भो, शिवपुरीमा आँखा नगाड
माथि उल्लिखित वैशिष्ट्यको प्रचुरताका कारण शिवपुरी राष्ट्रिय निकुञ्ज दुर्लभ निकुञ्ज भएको छ। सो निकुञ्जमा निकुञ्जअनुकूलका वा निकुञ्जमैत्री क्रियाकलापबाहेक निकुञ्जअमैत्री रिसोर्ट–केबुलकार, सडक बिस्तार जस्ता काम त के त्यहाँ त्यस्ता शब्द उच्चारणसमेत निषेधित गरिनुपर्छ। भौतिक संरचनाहरू थप्ने काम त के यस्ता कुराको कल्पनासमेत गरिनुहँुदैन। त्यो दुर्लभ ऐतिहासिक ठाउँमा मात्र होइन, काठमाडौँ उपत्यका वरिपरिका कुनै पनि डाँडामा कुनै पनि भौतिक संरचनाका काम गर्न कडा कानुन संहिता बनाएर कडा प्रतिबन्ध लगाउनुपर्छ। शिवपुरीलगायत यहाँका अन्य डाँडाका माटोमा घाउ लगाउन र एउटा ढुङ्गो पनि तल–माथि गर्ने काम निषिद्ध हुनुपर्छ। पैसा कमाउने लक्ष्मीपुत्रहरूका लागि अन्यत्र जहाँ जहाँ पनि उपयुक्त स्थान छन् त्यहाँ त्यहाँ रिसोर्ट, केबुलकार, मनोरम र मनोरञ्जनस्थल उपलब्ध गराउनुपर्छ नयाँ पुस्ताका नेपालीका लागि पनि रोजगारी, मनोरञ्जन आवश्यक छ। रिसोर्ट मान्छेले बनाउने हो तर निकुञ्जहरू मान्छेले बनाउने होइन। प्रकृतिले दिने उपहार हो। तसर्थ प्रकृतिमाथि आक्रमण नगरौँ। बरु संरक्षण गरौँ। पैसा कमाउने मित्रहरू यस कारण पनि शिवपुरी निकुञ्जमा आँखा नगाड्नोस्।

प्रकाशित: १२ श्रावण २०७६ ०२:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App