coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

बिपीका घुम्ती

हरिशरण आचार्य
नेपाली राजनीतिका प्रसिद्ध महापुरुष एवं नेपाली साहित्य जगत्का उत्तम पुरुष विश्वेश्वरप्रसाद कोइरालाको ‘तीन घुम्ती’ पुस्तक ५–५ वर्षका फरकमा पाँचपटक पढेहँुला। पहिलोपटक २०५१ सालमा मनोविश्लेषण गर्दै पढेँ। ‘विश्वेश्वर विश्व प्रसिद्ध उपन्यासकार हुनेरहेछन्, राजनीतिमा नलागेका भए’– यस्तो मूल्यांकन गरेँ। २०५६ मा दास्रोपटक यौन विश्लेषण गर्दैै पढेँ। ‘विश्वेश्वर भावुक कथाकार हुनेरहेछन्, राजनीतिमा नलागेका भए’– यस्तो लाग्यो। २०६० मा आफू छरपस्ट हँुदै पढेँ। सोचेँ– ‘विश्वेश्वर एउटा मूर्धन्य सिद्धहस्त आख्यानकार हुनेरहेछन्, राजनीतिमा नलागेका भए। २०६६ मा चौथोपटक पढ्दा मेरो मूल्यांकन रह्यो– ‘अतुलनीय आख्याता हुनेरहेछन्, राजनीतिमा नलागेका भए।’ पाँचौँपटक २०७५ भदौ १५ गते यो ‘तीन घुम्ती’ उपन्यास मोटामोटा किताबको बीचमा दोब्रिएर रहेको अवस्थामा आफ्नै दराजमा भेट्टाएँ। यसपटक प्रत्येक घुम्ती दुईपटकका दरले ६ घण्टा लगाएर पढेँ। ‘क्यान्सरले नभेट्टाएको भए तीन घुम्तीका उपन्यासकार विश्वेश्वरप्रसाद कोइरालाका समकालीन अरू साहित्यकार पुच्छारमा बसेर दिन बिताउनुपथ्र्यो होला,’– यस्तो मूल्यांकन गरेँ।

वैदिक पौराणिक र अर्वाचीन युगका तीनवटै घुम्तीका मान्यतालाई इन्द्रमायाले भत्काएकी छन्। यौवनलाई बन्धनमा राख्न सकिनन्, बरु विद्रोहको सौम्य रूप देखाइन्, उनले। पहिलो पात्र युवक दोस्रो पीताम्बर र तेस्रो पात्र रमेशसँग खेल्न आफ्नो रुचि देखाइन्, इन्द्रमायाले। परपुरुष रमेशसँग शारीरिक सम्बन्ध गाँसिन्, यौन सन्तुष्टिले तृप्त भइन्, छोरी पाइन्, आत्मग्लानि वा पीडाबोध केही नभएको जस्तो गरिन्।  

र, अन्त्यमा दुवै किसिमका प्राप्ति फेला पर्दारहेछन् । एउटालाई पाउँदा अर्कोलाई छाड्नुपर्दोरहेछ । जीवनको सापोनापो बराबर । जीवनलाई वरण गर्दा मृत्युलाई पनि स्वीकार गर्नुपर्छ ।

‘कामेच्छाको तृप्ति जीवित प्राणीको आवश्यकता हो’– यो सिद्धान्तले अनुप्राणित पीताम्बर झ्यालखानामा परेको नेता भएर पनि उनीबाट स्वीकार नभएपछि छोरीसँग अलग हुनुपर्ने अवस्था आयो, इन्द्रमायालाई। तर रगतको सम्बन्ध, मुटुको टुक्रो छोरीलाई छाड्न सकिनन्, उनले। पीताम्बर चाहन्छ– छोरी रमेशकै जिम्मामा छाडोस्, इन्द्रमायाले। इन्द्रमाया चाहन्छिन्– छोरीका साथ आफू पीताम्बरसँग बस्न पाइयोस्। तर यो चाहना पूरा भएन, उनको। पीताम्बरका साथ छोरीलाई छाडेर अलप हुन्छिन्, इन्द्रमाया। पीताम्बर जेलमा परेपछि इन्द्रमायाले यौन तृप्तिका लागिमात्रै रमेशसँग शारीरिक सम्बन्ध गाँसेकी थिइन्। तर छोरी पनि पाएपछि उनी औधी खुसी भएकी थिइन्।

‘नारी वा पुरुष जो भए पनि जहाँ भए पनि मन चोखो हुनुपर्छ, शरीर त बिटुलिन सक्छ’–यो सिद्धान्तका अर्थ हो– मन चोखो राखेर शरीर यौन तृष्णा मेट्नमात्रै दिन सकिन्छ, यो प्रकृति प्रतिकूल कुरा होइन। मन र शरीर दुवै यौन तृप्तिका लागि दिनु खोक्रो नैतिकतामात्र होइन, आडम्बर, छल र प्रपञ्च हो।’ यसरी टुंगिएको छ, ‘तीन घुम्ती’ उपन्यास। ऋब ‘तीन घुम्ती’कै अर्को प्रसंग– साहित्य कृतिमार्फत राजनीतिक बेइमानी, प्रतिशोध र निष्ठाको तीन कुइनेटो नेपाल, चीन र हिन्दुस्तानका पाठकले राजनीतिक धारणाले प्रतिष्ठाभंगको परीक्षण गर्दै अध्ययन गरेछन् भने सम्भवतः विश्वेश्वरप्रसाद कोइराला नेपाली साहित्य आकाशमा अझ चम्किला देखिनेछन्।

तीन घुम्ती उपन्यासको पहिलो घुम्तीमा ४५ वर्ष उमेर चर्चा छ। यो हो– उनको जन्म १९७२ देखि पञ्चायत व्यवस्थाको प्रादुर्भाव भएको २०१७ सम्मको। ‘१६ वर्षे इन्द्रमाया’ को चर्चा छ। यो हो– उनका पिताश्रीको देहावसान (२००१ माघ कृष्ण १४) भएको वर्ष। पञ्चायत घोषणा भएको २०१७ पुस १ गते। यसै दिन पटनाबाट प्रकाशन हुने सर्चलाइट पत्रिकाबाट नेपालमा प्रजातन्त्र स्थापना गर्न तानाशाहविरुद्ध क्रान्तिका लागि आह्वान गरेको प्रतीकात्मक वर्ष गणना १६ हुन्छ। ‘१९ वर्ष पुगेर २० मा टेकेकी रमाको चर्चा छ।’ यो हो– उनलाई राजा महेन्द्रले संविधान २०१९ को धारा टेकेर झ्यालखानाबाट छाडे। १९९७ मा सुरु प्रजातान्त्रिक आन्दोलनलाई २०१७ मा राजा महेन्द्रले कुल्चे। यो अवधि १९ वर्ष पुगेको र २०औँ वर्ष सुरु भएको वर्ष गणनालाई उनले प्रतीकात्मकरूपमा १९ वर्षे, तर २० मा टेकेकी रमा भनेर लेख्न पुगे। उपन्यासको उत्तराद्र्धमा ‘१८ वर्षको उमेरमा कहाँ जाने ?’ यो प्रश्नको चर्चा छ। यो हो– २०१९ देखि २०३६ र २०१५ देखि २०३३ सम्मको। कालगणनाले परिणाम दिएको छ– १८ वर्ष। जनमत संग्रह र राष्ट्रिय मेलमिलाप नीति, सुधारिएको पञ्चायत व्यवस्थाको विजय र त्रिभुवन विमानस्थलबाटै पक्राउ गरी झ्यालखानाको बास। किंकर्तव्यविमूढ अवस्था।

उपन्यासको दोस्रो घुम्तीमा पीताम्बर नामक पात्र विश्वेश्वर, युवक नामक पात्र महेन्द्र, रमेश नामक पात्र तुलसी गिरी, इन्द्रमाया नामक पात्र रत्न छद्मरूपमा प्रतीकात्मक छन्। तेस्रो घुम्तीमा मियोको रूपमा छ– आलंकारिक राजतन्त्रात्मक प्रजातन्त्र, जसको यथार्थ सत्य प्रतीकात्मक छ। महेन्द्र र विश्वेश्वर राजतन्त्र र प्रजातन्त्रको स्वाभाविक अस्तित्व प्रतीकात्मक छ। तुलसी गिरी कृतध्वनताको परिचर प्रतीकात्मक छ। उपसंहार गर्दै विश्वेश्वर लेख्छन्– ‘जीवनका प्राप्ति २ किसिमका मात्र हँुदारहेछन्। यात एकदम प्रचुर या एकदम शून्य। र, अन्त्यमा दुवै किसिमका प्राप्ति फेला पर्दारहेछन्। एउटालाई पाउँदा अर्कोलाई छाड्नुपर्दोरहेछ। जीवनको सापोनापो बराबर। जीवनलाई वरण गर्दा मृत्युलाई पनि स्वीकार गर्नुपर्छ।

 

प्रकाशित: १२ श्रावण २०७६ ०२:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App