coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

किर्ते गरी जग्गा पास गर्ने पक्राउ

ओखलढुंगा - वडा कार्यालयका सरकारी कागजात किर्ते गरी जग्गा पास गर्ने मुख्य अभियुक्त पक्राउ परेका छन्। सुनकोसी गाउँपालिका–९ ककनीका कर्णबहादुर तामाङ सोही वडाको छाप, लेटरप्याड, मालपोत रसिदलगायत किर्ते गरी जग्गा पास गरेको आरोपमा पक्राउ गरिएको प्रहरीको भनाइ छ। उनलाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख एवं प्रहरी नायब निरीक्षक पुष्पराज मल्लले बताए। पक्राउ परेका तामाङलाई बिहीबार जिल्ला अदालतमा पेस गरिएको मल्लको भनाइ छ। उनीविरुद्ध सरकारी कागजात किर्तेमा मुद्दा चलाइएको छ। घटनाबारे अनुसन्धान भइरहेको भन्दै प्रहरीले सबै विवरण सार्वजनिक गरेको छैन।

यसअघि सोही मुद्दामा स्थानीय ४४ वर्षीय पञ्चबहादुर तामाङ र अम्बरबहादुर तामाङ पक्राउ परिसकेका छन्। कर्णबहादुरको अगुवाइमा सबै कागजात किर्ते गरेर २०७६ जेठ १ गते अम्बरबहादुरको नाममा जग्गा पास भइसकेको प्रहरी अनुसन्धानबाट खुलेको छ। कागजात किर्ते गरी जग्गा नामसारीका लागि मालपोत कार्यालयमा पेस गर्ने क्रममा पञ्चबहादुर परेसँगै घटना सार्वजनिक भएको थियो। सरकारी कागजात किर्ते गरी जग्गाको समेत कारोबार गरेको आरोपमा दुईजना पक्राउ परेपछि मुख्य अभियुक्त कर्णबहादुर फरार थिए। पक्राउ परेका अन्य व्यक्तिहरूले समेत सबै कागजात कर्णबहादुरले मिलाएको बयान प्रहरीसमक्ष दिएका थिए।

जग्गा पास गर्न ३५ दिने सूचनासमेत प्रकाशित गरेर काम गरेको पाइएको छ। तामाङले सर्जमिन मुचुल्का, वडा कार्यालयका विभिन्न निर्णय भएको भनी फर्जी सिफारिसलगायत बनाउने कामसमेत गरेको देखिएको छ। ती सबै कागजातमा कार्यवाहक वडाध्यक्ष भनेर धनबहादुर तामाङ र टंकबहादुर कटवालको नाम उल्लेख छ। तामाङ र कटवाल दुवै ती वडाका सदस्य हुन्। किर्ते कागजातबाट मालपोतमा जग्गा कारोबार भइरहेको सूचना पाएपछि स्थानीयले वडा र प्रहरीमा खबर गरेका थिए। आफूहरूको नाममा किर्ते काम गरेको भेटिएपछि दुवै वडा सदस्यले आफ्नो नाममा किर्ते भएको भन्दै वडा कार्यालयमार्फत प्रहरी र प्रशासनमा उजुरी दिएर छानबिनका लागि आग्रह गरेका थिए।

किर्ते कागजातका आधारमा जग्गा पास गर्ने मालपोत कार्यालय र लेखापढी व्यवसायीको समेत संलग्नता रहेको भन्दै स्थानीयले उनीहरूमाथि पनि छानबिन गर्न माग गरेका छन्। किर्ते सूचनाका आधारमा कार्यालयले सबै कागजातसमेत किर्ते नै राखेर जग्गा रजिस्ट्रेसन गरी लालपुर्जासमेत जारी गरेको अनुसन्धानबाट खुलेको छ। छाप, मालपोत रसिद, सर्जमिन मुचुल्का तथा हस्ताक्षर किर्ते गरेर जिल्ला मालपोत कार्यालय ओखलढुंगाबाट अनधिकृत व्यक्तिका नाममा जग्गा नामसारी गरेको पाइएको वडा ९ का अध्यक्ष झनक कार्कीले बताए। अभियुक्त तामाङ स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडा सदस्यका उम्मेदवार थिए।

प्रकाशित: १२ श्रावण २०७६ ०२:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App