८ वैशाख २०८१ शनिबार
समाज

सर्किटमा दोलखालाई जोड्न पहल

दोलखा - नेपाल र भारतबीचको त्रेतायुगकालीन सम्बन्धलाई जीवन्तता दिन भारत सरकारले अघि सारेको ‘रामायण सर्किट’मा दोलखालाई समेत जोड्न पहल सुरु भएको छ।  त्रेतायुगमा वनवासका क्रममा भगवान् राम र सीता पुगेका तथा रामायणसँग प्रहरूले पहल थालेका छन्।भारतको पर्यटन मन्त्रालयले नेपालको जनकपुरलाई सर्किटमा समावेश गरेको छ। उसको सर्किटमा रामले स्वयंवरका लागि जनकपुर आउँदा र विवाहपछि अयोध्या फर्किंदा प्रयोग गरेको मार्ग र धार्मिकस्थलहरू परेका छन्।

रामायणका प्रमुख पात्रहरू राम र सीताका साथै हनुमानसँग सम्बन्धित कतिपय तथ्यहरू दोलखामा समेत भेटिएको दाबी गर्दै यसका अध्येताहरूले थप अनुसन्धान गर्नुपर्ने तर्कसमेत अघि सारेका छन्। राम जन्मिनुअघि राजा दशरथ दोलखा आएको र यहाँ तपस्या गरिरहेका शृंगे ऋषिलाई पुत्रेष्टि यज्ञ लगाउन जनकपुर हुँदै अयोध्या लिएर गएको उनीहरूको दाबी छ।

गत साता रामायण सर्किटको विषयमा भारत सरकारका अधिकारी तथा योजनाकारहरूको उपस्थितिमा जनकपुरमा सम्पन्न बैठकमा पुगेका दोलखाको ईतिहास तथा पौराणिक विषयका अध्येता शान्तकृष्ण श्रेष्ठले दोलखालाई सर्किटमा समावेश गर्नुपर्ने आधारबारे ६ पृष्ठ लामो अवधारणा–पत्र प्रस्तुत गरेका थिए। प्रस्तुत अवधारणामा दोलखालाई रामायण सर्किटमा जोड्नुका पाँच प्रमुख कारण उल्लेख छ, जसमा भगवान् रामको जन्म हुनुअघि दशरथ आफैंले दोलखाको सुनखानीबाट शृंगे ऋषिलाई लिएर गएको प्रसंग मुख्य छ। ‘सुनखानीमा शृंगे ऋषिको ध्यानस्थल अझै छ,’ श्रेष्ठले भने, ‘राम जन्मिनुअघि अयोध्यामा यज्ञ लगाउने सप्तऋषिमध्येका एक शृंगे ऋषि सुनखानीमा ध्यान गरेर बस्दा रामका पिता दशरथ आफैं आएर लिएर गएको देखिन्छ।’ श्रेष्ठले दशरथ आफैं आएर शृंगे ऋषिलाई निमन्त्रणा गरी यज्ञ लगाउन लिएर गएको कुरा नेपाल आर्य समाज र सार्वदेशिक आर्य प्रतिनिधिसभा समाजको काठमाडौंमा सम्पन्न अन्तर्राष्ट्रिय सम्म्मेलनमा स्वामी सम्पूर्णानन्द सरस्वतीले समेत उल्लेख गरेको प्रसंगलाई पनि आधार बनाएका छन्। स्वामी सरस्वतीले दोलखामा तपस्या गर्ने शृंगे ऋषिले अयोध्यामा पुत्रेष्टि यत्र गराएपछि भगवान् राम जन्मिएको उल्लेख गरेका थिए। दोलखाको सुनखानीमा शृंगे ऋषिको तपस्यास्थल तथा गुफा रहेको छ।

यस्तै दोलखाको फस्कुमा सीताले पकाएको चुल्हो, नुहाएको सीताकुण्ड र वनवासका क्रममा तिर्खाएकी सीतालाई पानी खुवाउन आफ्नो वाणले हानेर दोलखाको लामाबगरमा तीन ठाउँबाट पानीका धारा निकालेका स्थलहरू अझै स्पष्ट रहेको र त्यहीनजिक सीताका पाइला रहेको स्थानमा वर्षौंदेखि पूजाआजा हुँदै आएको आधार अध्येताहरूले अघि सारेका छन्। यस्तै लक्ष्मणलाई युद्धमा बेहोस भएको अवस्थाबाट ब्युँताउन कैलाश क्षेत्रबाट सञ्जीवनी बुटी ल्याई फर्किंदा विश्राम गरेको स्थल हनुमन्ते डाँडासमेत दोलखामै रहेको तर्क उनीहरूको छ। हनुमन्ते डाँडाको विकासका लागि गुरुयोजना निर्माण गर्न प्रदेश ३ सरकारले समेत बजेट विनियोजन गरिसकेको छ। श्रेष्ठले दोलखा र जनकपुरस्थित रामजानकी मन्दिरको सम्बन्ध ऐतिहासिक रहेकाले समेत रामायणसँग दोलखा जोडिन सक्ने आधार रहेको दाबी गरे। श्रेष्ठले आधार–पत्र प्रस्तुत गरेपछि भारत सरकारका तर्फबाट सर्किटका योजनाकार डाक्टर श्रीराम अवतारले दुई महिनाभित्र सर्किटको टोली दोलखा हेर्न र घुम्न आउने आवश्वासन दिएका थिए। प्रदेशसभा सांसद पशुपति चौलागाईले दोलखा आफैंमा ऐतिहासिक र पुरानो ठाउँ रहेकाले त्रेतायुगको दोलखाबारे गहन अनुसन्धान हुनुपर्ने बताए। रामायण सर्किटमा दोलखालाई जोड्न सकिने प्रशस्त आधार रहेकाले त्यसबारे खोज–अनुसन्धान हुनुपर्ने उनको भनाइ छ।

प्रकाशित: १२ श्रावण २०७६ ०१:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App