८ वैशाख २०८१ शनिबार
राजनीति

राजपा केन्द्रीय समितिको बैठक एकपटक मात्र

काठमाडौं - राष्ट्रिय जनता पार्टी नेपाल गठन भएको दुई वर्षमा जम्मा एकपटक मात्रै केन्द्रीय समितिको बैठक बसेको छ। त्यो पनि निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने प्रयोजनका लागि बसेको थियो। यसबाहेक केन्द्रीय समिति बैठक बस्न सकेको छैन। केन्द्रीय समितिको बैठक दुई वर्षदेखि बैठक बस्न नसकेपछि केही केन्द्रीय सदस्यहरू केन्द्रीय समितिको बैठक बोलाउन नेतृत्वलाई दबाब दिँदै आएका छन्। अध्यक्षमण्डलका सदस्यहरू भने बैठक बोलाउने विषयमा चासो राख्दैनन्।

‘यो अति नै भयो। अब पनि बैठक नबोलाइने हो भने हामीले दबाब दिन्छौं। कसरी दबाब दिने भन्ने विषयमा काठमाडौंमा रहेका केही केन्द्रीय सदस्यहरूले एक दुइ दिनमा छलफल गर्दैछांै।’ केन्द्रीय सदस्य हृदयनारायण दासले भने, ‘छलफलबाट कस्तो निष्कर्ष निस्कन्छ, त्यो हेरी अघि बढ्छांै।’ साउन ६ देखि अध्यक्षमण्डलको संयोजमा चयन गरिएका राजकिशोर यादवले बिहीबार काठमााडौंमा उपलब्ध पार्टी पदाधिकारी र केन्द्रीय सदस्यसँग छलफल गरी पार्टीलाई अब कसरी अघि बढाउने भन्नेबारे राय लिएका थिए। छलफलमा केही केन्द्रीय सदस्यले केन्द्रीय समितिको बैठक तत्काल बोलाउन आग्रह गरे। यस विषयमा यादवले स्पष्ट जवाफ भने दिएनन्। उनले छलफलबाट आएका सुझाव अध्यक्षमण्डलको बैठकमा राखी सम्बोधन गर्ने प्रयास गरिने प्रतिबद्धता मात्र गरे। राजपामा ८ सय १५ जना केन्द्रीय सदस्य छन्। बैठक बोलाउँदा एकैपटक त्यती धेरै केन्द्रीय सदस्यको व्यवस्थापन गर्न कठिन हुने भएकाले पनि बैठक बोलाउन अध्यक्षमण्डलका सदस्य तयार नभएको हुनसक्ने एक पदाधिकारीले बताए। राजपामा पदाधिकारीको संख्या पनि १ सय २७ जनाको छ।

पार्टीका उपाध्यक्ष सत्यनारायण मण्डलले भने केन्द्रीय समितिको बैठक बोलाउने विषयमा आइतबारसम्म केही टुंगो लाग्ने बताए। उनले भने, ‘केन्द्रीय समितिको बैठक बोलाउने विषयमा छलफल भइरहेको छ। अध्यक्षमण्डलको संयोजक (राजकिशोर यादव)ज्यूले आफ्नो कार्याकालमा एकपटक केन्द्रीय समितिको बैठक बोलाउने पक्षमा हुनुहुन्छ।’ केन्द्रीय समितिको बैठक बोलाउन दबाब आइरहको उनले स्वीकार गरे। उनले भने, ‘केन्द्रीय समितिको बैठक बोलाउन ठूलो खर्च हुन्छ। त्यसको तयारीको विषयमा पनि आन्तरिक छलफल भयरहेको छ।’ आगामी कात्तिकको अन्तिम साता राजपाको महाधिवेशनको तिथी तय गरिएको छ। पार्टी अहिले महाधिवेशनको तयारीमा जुटेको छ। महाधिवेशन पछि केन्द्रीय समितिको आकार ह्वात्तै घटाउने तयारी भइरहेको छ। यसका लागि विधानको मस्यौदा बनाउने काम भइरहेको छ।

 राजपा गठनपछि पनि राजपासँग एक÷दुईवटा स–साना जनजाति पार्टी एकीकरण भए। राजापसँग एकीकरण हुन आएका अन्य पार्टीका सबै केन्द्रीय सदस्यलाई राजपाका केन्द्रीय सदस्यको हैसियत दिने घोषणा दिने राजपाको अध्यक्षमण्डलका सदस्यहरूले गरेका छन्। ‘त्यसैले राजपामा अहिले कति केन्द्रीय सदस्य छन् र कति पदाधिकारी छन् भन्नेबारे आधिकारिक रकेर्ड पार्टीमा छैन,’ एक पदाधिकारी भन्छन्। ६ महिनाअघि तत्कालीन राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले करिब आधा दर्जन केन्द्रीय सदस्य मनोनित गरेका थिए। उनले गरेको नियुक्तको विषयमा विवाद भए पछि अध्यक्ष मण्डलको बैठकले ठाकुरले गरेका मनोयन रद्द गर्ने घोषणा गरेको थियो। त्यसपछि ठाकुरले गरेको मनोनयनलाई केन्द्रीय सदस्यको हैसियत दिने कि नदिने भन्नेमा पनि फरकफरक मत छ।

२०७४ वैशाख ७ मा तत्कालनि ६ वटा तराई–मधेस केन्द्ति दलबीच एकीकरण भई राजपा गठन गरिएको थियो। राजपा गठन हुँदा तत्कालीन ६ वटा पार्टीका केन्द्रीय सदस्यले संयुक्त बैठक गरेका थिए। त्यसपछि निर्वाचन आयोगमा पार्टी दर्ता गर्न केन्द्रीय सदस्यको हस्ताक्षर संकलन गर्ने प्रयोजनका लागि २०७४ भदौमा बैठक बोलाइएको थियो। त्यसपछि केन्द्रीय समितिको बैठक बोलाउने विषयमा अध्यक्षमण्डलका सदस्यले चासो राखेका छैनन्।

प्रकाशित: १२ श्रावण २०७६ ०१:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App