coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

क्षतविक्षत हुलाकी राजमार्गः सास्ती नै सास्ती

सर्लाही–दुई सातायता प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत करिब २५ किलोमिटर पश्चिमको बलरा जानुप-यो भने ३५ किलोमिटर उत्तर पुगेर पुनः ४० किलोमिटर दक्षिणको बाटो हिड्न बाध्य छन्। दुई हप्ताभित्र सदरमुकाम मलंगवास्थित कार्यालयबाट उनी पटक–पटक बलरालगायत दक्षिणी क्षेत्रका बाढी एवं डुवान पीडित गाउँ जानका लागि हरेक चोटी १५० किलोमिटर यात्रा गर्न बाध्य छन्। 

असार अन्तिम सातायता पटक–पटक परिरहेको अविरल वर्षा कारण लखन्देही खोलामा आएको बाढीले कौडेना गाउँपालिकास्थित हुलाकी राजमार्ग बगाएर क्षतविक्षत बनाएकाले प्रजिअ राउतले त्यस्तो सास्ती व्यहोरिरहेका हुन्। ‘बाढीले हुलाकी राजमार्ग ठाउँ–ठाउँमा बगाएको र कतिपय ठाउँमा क्षतविक्षत बनाएको छ’, प्रजिअ राउतले भने, ‘त्यसैले दक्षिण पश्चिम क्षेत्रका बलरा, रामनगर, विष्णु, धनकौल, बसबरियालगायत आधा दर्जन स्थानीय तहका बाढी एवं डुबान पीडित गाउँमा जानु प¥यो भने पूर्व–पश्चिम राजमार्ग हुँदै बरहथवा भएर लामो यात्रा गर्नु परिरहेको छ।’

त्यस्तै बलरा, गोडैता र बरहथवा नगरपालिका तथा विष्णु, धनकौल, बसबरिया गाउँपालिकाका प्रमुख एवं अन्य पदाधिकारी सदरमुकाम मलंगवामा हुने बैठकमा सहभागि हुन पटक–पटक प्रजिअ राउतले जस्तै निकै घुमाउरो फन्को मार्न बाध्य छन्। सामान्यतया सदरमुकाम मलंगवाबाट बलरा जान आउन २ घण्टा लाग्ने गरेपनि हाल पूरै जिल्ला फन्को मार्नुपर्दा दिन नै बित्ने गरेको प्रजिअ राउतको गुनासो छ। सिधै पूर्वको सदरमुकाम मलंगवा पटक–पटक जाँदा उत्तर हाईवे पुगेर निकै लामो बाटो घुम्नु परिरहेको बलरा नगरपालिकाका प्रमुख अभय सिंहले गुनासो गरे। 

बाढीले जिल्लास्थित हुलाकी राजमार्गका दर्जन भन्दा बढी ठाउँमा भत्काएको छ। दक्षिणी क्षेत्रको लाइफलाईन मानिने हुलाकी राजमार्गम दुईसातासम्म पनि सामान्य मर्मत संभारको काम समेत नहुँदा जिल्लाकै प्रमुख प्रशासकले यस्तो सास्ती ब्यहोरिरहनु परेको छ। अझ दैनिक सदरमुकाम मलंगवा आवतजावत गर्ने दक्षिण पश्चिम क्षेत्रका सयौं सर्वसाधारणको कष्ट त भनि साध्य छैन्।

बलराबाट सदरमुकाम मलंगवासम्म बसलगायत सार्वजनिक सवारी साधन नियमित चल्ने उक्त राजमार्गमा हाल चार चक्के सवारी साधन ठप्प छ। कौडेना गाउँपालिकाले केही दिनअघि लखन्देहीको भंगालो बगिरहेको ३ ठाउँमा बाँसको अस्थायी पुल हालेपछि मोटरसाईकल मात्र चलिरहेका छन्। त्यो पनि ठाउँ–ठाउँमा हिलाम्मे अनि क्षतविक्षत सडकका कारण ओर्लेर डो¥याउनु पर्छ। मोटरसाईकल नहुने सर्वसाधारण २० किलोमिटर सम्म पैदल यात्रा गर्न बाध्य छन्।

दक्षिण–पश्चिम क्षेत्र स्थित छतौना हुलाका कार्यालयमा कार्यरत मतनारायण यादव हुलाकी राजमार्ग मर्मत संभार नहुँदा निकै कष्ट झेल्नु परेको गुनासो गर्छन्। केही दिनअघि छतौनाबाट सदरमुकाम मलंगवा मोटरसाईकलमा आईरहेका यादवले भने, ‘यस्तो दुःख त जिन्दगीमा आईपरेको थिएन, सदा १ घण्टाको बाटो अहिले ३ घण्टा भन्दा बढी लाग्छ, त्यो पनि ठाउँ ठाउँमा हिलोमा मोटरसाईकल अड्केर डो¥याउनु पर्छ।’

सदरमुकाम मलंगवाबाट भारतीय सीमा एवं केही उत्तरका तीन दर्जन बढी गाउँहरु पुग्नका लागि प्रयोग हुने एकमात्र हुलाकी राजमार्ग दुईसाता देखि उचित मर्मत संभार नहुँदा प्रशासकदेखि सर्वसाधारणले निकै कष्ट झेल्नु परिरहेको छ। हरेक वर्षायाममा लखन्देहीलगायत स्थानीय खोलाहरुमा ठुलो बाढी आउने वितिकै हुलाकी राजमार्ग कटानको शिकार बन्ने गरेको छ। जसले गर्दा तीन दर्जनबढी बस्तीहरुको सदरमुकाम मलंगवासँग निकै दिनसम्म सम्पर्क विच्छेद नै हुने गरेको छ।

बाढीले लडाएको विद्युत पोल तथा तारहरु अझैपनि छरपष्ट छन् । दुई साता भन्दा बढी समयदेखि विद्युत सुचारु नहुुँदा कौडेना लगायत जिल्लाका कतिपय गाउँहरु अझै अन्धकारमय छन्। सर्लाहीमा ४०.३७० किलोमिटर लम्बाई रहेको हुलाकी राजमार्ग अन्तर्गत सदरमुकाम मलंगवाबाट पश्चिम खण्डमा बढी ठाउँमा क्षति भएको छ। पूर्वी खण्डमा भने एकादुई ठाउँमा त्यो पनि पश्चिमको तुलनामा निकै कम क्षति भएको बताईएको छ।

प्रमुख जिल्ला अधिकारी राउतले बाढीले बगाएर आगामनमा समस्या भईरहेको हुलाकी राजमार्ग मर्मत संभारका लागि सडक कार्यालयले ताकेता गरिएको बताए। ‘डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका प्रमुखलाई पटक–पटक सडक मर्मतसंभारका लागि भनिसकेको छु’, प्रजिअ राउतले भने, ‘तर मर्मत संभारको लागि प्रकृया अगाडी बढाईएको बाहेक केही जवाफ आउँदैन्।’

डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख दारोगा प्रसादले साउन लागेयता खोलाबाट गिट्टी बालुवा निकाल्न नपाउने व्यवस्था लगायत विभिन्न बाधा अड्चनका कारण क्षतिग्रस्त हुलाकी राजमार्ग मर्मत संभार गर्न नसकिएको बताए। त्यस्तै सडक विभाग सहित प्रदेश एवं संघीय सरकार अन्तर्गत माथिल्लो निकायमा पटक–पटक मौखिक एवं लिखित जानकारी गराउँदा समेत उचित निर्देशन नआएको दारोगा प्रसादको कथन छ। 

लखन्देहीको बाढीले बगाउँदा क्षतविक्षत बनेको कौडेनास्थित हुलाकी राजमार्ग । तस्बिरः टंक÷नागरिक

प्रकाशित: ११ श्रावण २०७६ ११:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App