coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

फोक्सुण्डोः ल्याण्ड अफ बोन

फोक्सुण्डो तालमा पुग्दा बेग्लै किसिमको ऊर्जा मिल्छ। भुःस्वर्गमा पुगेको अनुभूति हुन्छ। नेपाली भएकोमा गौरवबोध हुन्छ। त्यहाँको कञ्चन पानीमा तन र मन डुबुल्की मार्न थाल्छन्। त्यसमाथि बोन धर्मका झण्डाहरूबाट बगेर आएको शीतल हावा र मन्त्रोचारणका मधुर वाणीले त्यतै हराउन मन लाग्छ। त्यसैले जीवनमा एकपटक घुम्नै पर्ने गन्तव्य हो फोक्सुण्डो। त्यहाँ फागुनदेखि असार र असोजदेखि कात्तिकसम्म घुम्ने उत्तम सिजन मानिन्छ। नेपालगञ्जबाट ताल घुमेर नेपालगञ्ज फर्कन एक साता समय र खल्तीमा २५ हजार रुपैयाँ छुट्टयाए पुग्छ।   

फोक्सुण्डो ताल
छिनमा नीलो, छिनमै कालो र छिनमै सिन्दुरे बन्छ फोक्सुण्डो। बिहानदेखि बेलुकीसम्म फरक–फरक रंगमा सजिन्छ ताल। काञ्जिरोवा हिमालको काखमा अवस्थित फोक्सुण्डो ताल अंग्रेजी शब्द ‘वाई’ आकारमा छ।

शे–फोक्सुण्डो गाउँपालिका–८, डोल्पामा पर्ने ताल (३६११ मिटर)को क्षेत्रफल ४.९५ वर्ग किमि छ। यसको अधिकतम लम्बाई ५.९३ किमि र अधिकतम चौडाइ १.८० किमि छ भने गहिराइ १४५ मिटर। ताल २३ सेप्टेम्बर २००७ मा रामसार साइटमा सूचिकृत भएको छ।

आकाश नीलो हुँदा तालको पानी पनि नीलो देखिन्छ। बादल मडारिँदा ताल पनि कालै बन्छ। सूर्यास्तका बेला रंगीन रुप हुन्छ। आकाशको रंगअनुसार तालले आफ्नो रुप बदलिरहन्छ। 

शे–फोक्सुण्डो ताल राष्ट्रिय निकुञ्जमा पर्छ। नेपाल सरकारले हिमाली जैविक विविधता संरक्षण गर्न विसं २०४० सालमा निकुञ्ज बनाएको हो। निकुञ्जको क्षेत्रफल ३ हजार ५५५ वर्ग किमि छ।

तालमा नुहाउन, पौडी खेल्न र लुगा धुन पाइँदैन। त्यहाँ डुंगा चढ्ने सुविधा छैन। आँखा नझिम्क्याई हेरिरहन भने पाइन्छ। जति हेरे पनि आँखा थाक्दैनन्। आँखाभरि, मनभरि सजाइरहन मन लाग्छ। ताललाई छोडेर फर्कन मन लाग्दैन।

वर्षैभरि फोक्सुण्डो यात्रा गर्न सकिन्छ। फागुनदेखि असारसम्म र असोजदेखि कात्तिकसम्म घुम्ने उत्तम सिजन। डोल्पाको सुलिगाडबाट दुई दिन एक बिहान पदयात्रा गरेपछि मात्र तालमा पाइला टेक्न सकिन्छ। ताल किनारामा रिग्मो गाउँ, गुम्बा, चैत्य आदि छन्।

तालबाट अढाई घण्टा पदयात्रा गरेर भ्यू पोइन्ट पुगेमा फोक्सुण्डोको बेग्लै स्वरुप देखिन्छ। तालको निकासबाट बग्ने खोलालाई फोक्सुण्डो खोला भनिन्छ। खोलामा चित्ताकर्षक छाँगो छ जसलाई फोक्सुण्डो झरना भनिन्छ। पदमार्गबाटै झरनासँग आँखा जुधाउन मिल्छ। फोक्सुण्डो खोला सुलिगाड पुगेपछि ठूली भेरिमा मिसिन्छ।

पहिला निकुञ्जको हेडक्वार्टर पलममा थियो भने सेनाको सुम्दुवामा। माओवादी द्वन्द्वका बेला उनीहरू सुलिगाड झरे। मुलुकमा शान्ति बहाल भैसकेको अवस्थामा उनीहरू पुरानै ठाउँमा फर्कनुपर्ने स्थानीयको माग छ।

सुलिगाडबाट २७ किमीमा पदमार्गमा फोक्सुण्डो। पहिलो दिन ६ घण्टा हिँडेर साङता÷ छेप्कामा बास, दोस्रो दिन ७ घण्टा हिँडेर चुनुवारमा र तेस्रो दिन ४ घण्टा हिँडेर रिग्मो गाउँमा बास बस्ने गरी पदयात्रा योजना बनाउनु बेस हुन्छ।    
रिग्मो गाउँ
फोक्सुण्डो ताल किनाराको रिग्मो गाउँ पदयात्रीहरूको बासस्थान हो। डोल्पा लोअर सर्किट, अपर डोल्पो र फोक्सुण्डो पदयात्रा गर्नेहरू रिग्मो गाउँमा बास बस्छन्। गाउँमा ६५ घर छन्। त्यहाँ ९ वटा होटल सञ्चालनमा छन्।

गाउँमा भोटे समुदायका लामा, बुढा, बैजी र गुरुङको बसोबास छ। त्यहाँ आलु, फापर, गहुँ, र तोरी उत्पादन हुन्छ। तरकारीमा काउली, बन्दा, गाजर, साग फलाइन्छ। पशुपालनमा चौंरी, बाख्रा र कुखुरा पालिन्छ।
गाउँको उत्तरपश्चिममा काञ्जिरोवा हिमाल छ भने दक्षिणमा काङ ताईका तोङ हिमाल। गाउँमा गुम्बा, चैत्य र मानेहरू छन्। त्यहाँ भोटे जीवनशैलीको सौन्दर्य पाइन्छ।

दुई रात रिग्मोमा बसेर फोक्सुण्डोको सौन्दर्यपान गर्नु उत्तम मानिन्छ। गाउँमा बिजुली सुविधा छैन, सौर्य ऊर्जाको उज्यालोको भर पर्नु पर्छ। मोबाइल फोन लाग्छ। गाउँमा पुस–माघमा बाक्लो हिउँ पर्छ। हिउँ पर्नु अगाडि नै उनीहरू बेंसीतिर झर्छन्।

रिग्मोमा केही होटल छन्–हिमालयन, टे«किङ, लामा, शेर्पा, काञ्जिरोवा, रिग्मो, शिखर र स्तुपा नाउँका। खासमा सडकमार्गबाट सुलिगाड पुगेर पदयात्रा गर्दा होस् या जुफालसम्म उडेर यात्रा गर्दा सबैतिर मध्यम खालका होटल पाइन्छ। त्यसैले ‘टि हाउस टे«किङ’ सम्भव छ। घुमन्तेहरूले सिल्पिङ ब्याग बोकेर यात्रा गरेमा झन् सजिलो हुन्छ। 

रिग्मो गाउँबाट दुई दिनको पदयात्रामा प्रसिद्ध शे–गुम्बा पुगिन्छ भने दुई दिन एक बिहान हिँडेमा बगला र नुमला भञ्ज्याङ पार गरेर धो–तराप भ्याली (४,२०० मिटर)।

बोन धर्म
डोल्पामा प्रकृतिपूजक बोन धर्मावलम्बिको बसोबास छ। बोन धर्मका प्रवर्तक शेन्पा तोन्राव मिवो हुन् जुन धर्म सुरु भएको १८ हजार ३६ वर्ष पुगिसक्यो। संसारका सबै प्राणीलाई सबैखाले दुःखबाट रक्षा गर्ने धर्मलाई युङढुङ् बोन धर्म भनिन्छ। यसको अभ्यासबाट सुख प्राप्त हुन्छ।

समय क्रममा पृथ्वीमा एक हजार आठजना बुद्धको जन्म हुन्छ भन्ने बोम्पोहरूको विश्वास छ। शेत्पा तोन्राव आठौं बुद्ध हुन्। उनी स्याङ्स्युङ राज्यको ओल्मो लुङ रिङ भन्ने ठाउ“मा पिता ग्याल्बोन थोकार र माता योछि शेन्राव ग्याल्सेमाका पुत्रको रुपमा जन्मिएका थिए।

जनहितका लागि उनले प्रतिपादन गरेको प्रज्ञा र करुणायुक्त मार्गलाई बोन धर्म भनिन्छ। उनका दिव्योपदेश संग्रह गरिएका १४० पुस्तक छन्। जसलाई ‘काङग्युर’ भनिन्छ। यसबाहेक धर्म गुरुबाट करिब तीन सय शास्त्र रचिएका छन्, तिनलाई ‘कातेन’ भनिन्छ।

बोन धर्म अभ्यास गर्नेहरूलाई बोन्पो भनिन्छ। अन्य बौद्धमार्गीहरू माने घुमाउँदा ओम माने पेमे हुँ भन्छन्। तर, बोन धर्मावलम्बिहरू ‘ओम मा ट्रि मु ये सा ले दु’ भन्छन्। अन्य बौद्धमार्गीहरू माने, गुम्बा र चैत्यलाई दाहिना पारेर घुम्छन्। बोन्पोहरू भने देब्रे पारेर घुम्छन्। 

फोक्सुण्डो ताल किनारमा पन्ध्रौं शताब्दीमा टेतोन छेवाङ छुल्ठिमले बनाएको थासुङ छोलिङ गुम्बा छ। हिमाली भेगमा यस्ता धेरै गुम्बा छन्। बोन बुद्धिस्ट महासंघका महासचिव गेसे लोटोई छोग्लेक (छिरिङ लामा) का अनुसार डोल्पा, मुस्ताङ, हुम्ला, जुम्ला, बागलुङ, मुगु, कास्की, चितवन र काठमाडौंमा बोन्पोको उल्लेख्य बसोबास छ। डोल्पामा मात्र साना–ठूला गरी तीन दर्जनभन्दा बढी बोन गुम्बा छन्। त्यसैले डोल्पालाई ‘ल्यान्ड अफ बोन’ भनिन्छ।

काठमाडौंको इचंगुनारायण तीनघरेमा पनि बोन गुम्बा छ। गुरु योङजीन रिम्पोचेले ३६ वर्ष अघि स्थापना गरेको त्रितेन नोर्बुचे गुम्बामा बोन धर्मसम्बन्धी ‘फिलोसपी अफ डाक्टर’ पढाइ हुन्छ। यस्तो कोर्ष पूरा गर्नेलाई गेसे भनिन्छ। यसका लागि कम्तीमा १५ वर्ष पढ्नु पर्छ। गुम्बामा ध्यान कोर्ष पनि पढाइ हुन्छ।
इतिहास हेर्ने हो भने स्याङस्युङ राज्य आठौं शताब्दीसम्म दक्षिण एसियाका ठूला र शक्तिशाली राज्यमा गनिन्थ्यो। भोटका पहिलो राजा न्याठी चेन्पोदेखि ३२ औं राजा नाम्री स्रोङ्चेनसम्म भोटमा बोन धर्मले व्यापकता पाएको देखिन्छ। 

राजा स्रोङचेन गोम्पोदेखि बुद्ध धर्म भोटमा विस्तार हुन थालेको हो। भोटका राजा ठिसोङ देचेनको पालामा बोन धर्ममा धेरै उतारचढाव आयो। त्यसपछि क्रमशः धेरै बोन धर्मावलम्बि भोटबाट विभिन्न ठाउँमा छुट्टिनुपर्ने अवस्था आयो।

धर्म विस्तार गर्न संस्थापक मिवो बीस वर्षको उमेरमा नेपाल आएको पाइन्छ। त्यतिबेलैदेखि नै नेपालमा बोन धर्म प्रचार भएको मानिन्छ। हिमाली भेकका कतिपय प्राचीन गुम्बा, माने र चैत्यहरूको संरक्षणमा राज्यले लगानी गर्नुपर्ने देखिन्छ।  

यार्चागुन्बु
‘यार्सागुम्बा’ भनेर प्रचारित जडीबुटीको खास नाम ‘यार्चागुन्बु’ हो। भोटे भाषामा यार्चाको अर्थ ‘बर्खे च्याउ’ हुन्छ भने गुन्बुको अर्थ ‘हिउँदे कीरा’। बर्खामा वनस्पतिका रुपमा रहने यार्चागुन्बु हिउँदमा कीराको रुपमा जमिनमुनि देखिन्छ। त्यस हिसाबले यार्चागुन्बु प्रकृतिको अनौठो सृजना हो। 

यार्चागुन्बु सेवनले शरीर स्वस्थ हुन्छ। मह र दूधसँग मिलाएर खानु बेस हुन्छ।  यसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। यौनशक्तिबद्र्धक मानिएको यार्चा कलेजो, फोक्सो तथा मृगौला रोगको उपचारमा पनि प्रयोग हुन्छ। नियमित सेवनले चाँडै बुढोपन आउन दिँदैन, क्यान्सरबाट हुनबाट बचाउँछ र मृगौलालाई पोषण पनि दिन्छ।  

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका अनुसार यार्चागुन्बुको लम्बाइ १० देखि १५ सेमीको हुन्छ जुन ५ सेमीसम्म मोटो हुन्छ। त्यसैले आकारअनुसार एक किलोमा २२०० देखि ३३०० वटा यार्चागुन्बु हुन्छन्।

संसारका २७ देशमा ४०० भन्दा बढी प्रजातिका यार्चागुन्बु पाइएको छ। नेपालमा चाहिँ ११ प्रजातिका। डोल्पामा सामान्यतः ३९०० मिटरदेखि ५२०० मिटरका घाँसे मैदानमा यार्चागुन्बु पाइन्छ। निकुञ्जले जेठ–असारमा महिना दिनका लागि यार्चागुन्बु संकलन गर्न खुला गर्छ। उसलाई तोकिएको रकम तिरेर पाटनहरूमा यार्चा संकलन गर्न पाइन्छ।  

कसरी पुग्नेः काठमाडौं–नेपालगञ्ज–जाजरकोट–डोल्पा सडक यात्रा, बसमा तीन दिन। जाजरकोट–डोल्पा सदरमुकाम दुनै ११८ किमि कच्ची सडक। खोलामा पुल बनि नसकेकाले ५ ठाउँमा जीप परिवर्तन गरेर सुलिगाड पुगिन्छ। अथवा काठमाडौं–नेपालगञ्ज १ घण्टा हवाई यात्रा। नेपालगञ्ज–जुफाल ३५ मिनेट हवाई यात्रा। जुफाल–सुलिगाड जीपमा। डोल्पाको सुलिगाडबाट दुई दिन एक बिहान पदयात्रामा फोक्सुण्डो ताल। 
 

खुशी 100%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App