coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

करौडौंका सडकमा गुडेनन् गाडी

बन्द भएको रामपुर–जब्गादी सडक। तस्बिरः नागरिक

पाल्पा– पाल्पा जिल्लाका अधिकांश गाउँपालिकाको केन्द्र पुग्ने सडकको सम्पर्कविच्छेद भएको छ। वडा कार्यालयदेखि गाउँपालिका तथा जिल्ला सदरमुकाम तानसेन जोड्ने सडक अवरुद्ध हुँदा जनताले सास्ती खेप्न बाध्य भएका छन्। हिउँदको समयमा करोडौं रकम खर्च गरेर बाटो खन्ने र वर्षाको भेलले बगाउँदा जनता सडक सञ्जालबाट टाढा भएका हुन्।

रम्भा गाउँपालिकाले गत आर्थिक वर्ष २०७५÷७६ मा ४४ दशमलव पाँच किलोमिटर सडकको नयाँ ट्रयाक खोलेको छ। गत वर्षनै एक सय ९ किलोमिटर सडक स्तरोन्नति गरिएको थियो। रम्भा गाउँपालिकाले यो वर्ष पनि सडक निर्माण र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ। तर, गत वर्ष नयाँ खनिएका कुनै पनि सडकमा अहिले गाडी गुड्न सकेका छैनन्।

हिउँदको समयमा करोडौं रकम खर्च गरेर बाटो खन्ने र वर्षाको भेलले बगाउँदा जनता सडक सञ्जालबाट टाढिएका छन्।

रम्भा गाउँपालिकाको वडा नं. १ को असेर्दीदेखि वडा नं. २ फोक्सिङ्कोट जोड्ने सडकमा मानिससमेत हिँड्न समेत नमिल्ने गरी बिग्रिएको छ। ३९ लाख रुपैयाँमा असेर्दी फोक्सिङकोट सडक खनिएको हो। फोक्सिङकोटका स्थानीय एवत सारुले लाखांै खर्च गरिएको सडकमा हिँड्नै नमिल्ने भएको बताए। उनी भन्छन्, ‘बिना अध्ययन बोझा चौपारीबाट माथि बाटो खनिएको छ। जताततै लथालिङ्गै छ। गाउँमा पनि विनाश भएको छ। वडा सचिवको घरभन्दा मुनि पनि पहिरो खसेको छ। मानिस हिँड्न सक्ने अवस्थामा छैन।’

अहिले गाउँपालिकाको केन्द्र खोकखोलामा जानको बाटोमा समेत गाडी गुड्न मुस्किल छ। गाउँपालिकाको केन्द्र पुग्ने बाटोमा नाली नहुँदा गाडी गुड्नै नसक्ने स्थितिमा पुगेको छ। गाउँपालिकाले चालू आर्थिक वर्ष २०७६/७७ मा कालोपत्रे गर्ने गौरवको योजना अगाडि बढाएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए।

पूर्वखोला गाउँपालिकाको केन्द्र, रिङ्ग्नेरह जाने बाटो एक हप्तादेखि पूर्णरूपमा अवरुद्ध छ। प्रदेश सरकारको बजेटबाट जिल्ला सदरमुकाम तानसेन हुँदै हुमिन–रिङ्ग्नेरह जाने सडकको स्तरोन्नतिको काम सम्पन्न भयो। वर्षौदेखि नियमितरूपमा वर्षाको समयमा पनि गाडी गुड्ने देविनगर–रिङ्ग्नेरह सडकमा गाडी गुड्नै नमिल्ने गरी बिग्रिएको छ।
पूर्वखोला गाउँपालिका–३, रिङ्ग्नेरहका प्रविन तिमिल्सिनाले पहिलो पटक पूर्वखोला गाउँपालिकाको केन्द्र जानै मुस्किल परेको बताए। उनी भन्छन्, ‘दिनदिनै डोजर आएर सोहर्नपर्ने स्थिति बनाएका छन्। बनाउनुभन्दा धेरै बिगार्ने काम मात्र भयो। जनताले सास्ती पाए।’

पूर्वखोला गाउँपालिकाका प्रवक्ता नीरबहादुर सारुले ९६ लाख खर्च गरेर ६ दशमलव ५ मिटर चौडा गरेको सडकमा गाडी गुड्नै समस्या भएको बताए। उनी भन्छन्, ‘प्रदेश सरकारको बजेटबाट पुरानो सडकलाई खनेर सडक चौडा गरियोे। नाली पनि पूरा काटेको छैन। जताततै भत्केको छ। पहिले एसएनआरटिपीले गर्दा हेरालु हुन्थ्ये अहिले नभएर समस्या भयो।’

निस्दी गाउँपालिकाको केन्द्र, मित्याल रुक्सेभञ्याङ सडकमा नियमित रुपमा लाखौं खर्च गरेर स्तरोन्नतिको काम हुँदै आएको छ। तर, अहिले यस क्षेत्रका जनताहरु सडकबाट यात्रा गर्न सक्दैनन्। अधिकांश वडा कार्यालयदेखि गाउँपालिकाको केन्द्र पुग्ने सडकको सम्पर्कविच्छेद भएको छ। वर्षामा खोला बढेपछि ग्रामीण भेगका यातायात प्रायः ठप्प हुन्छ । निस्दी खोला बढेपछि असार दोस्रो सातादेखि ज्यामिरे जाने सवारीसाधन ठप्प छ । पानी परेपछि तीनचार घण्टा पैदल हिँडेर यहाँका बासिन्दा ओहोरदोहोर गर्छन् ।

निस्दी गाउँपालिका–ज्यामिरेका नरबहादुर नेपालीले वर्षाको समयमा पानी परेपछि मोटरसाइकल, जीप केही पनि तर्न सक्ने अवस्था छैन। निस्दी खोला बढेको छ। यातायात ठप्प छ। यस गाउँपालिकामा वर्षायामको झन्डै चार महिना यातायातका साधनहरु थन्काएर राखिन्छ। निस्दी गाउँपालिका–७, का वडाध्यक्ष गगनसिंह सोती भन्छन्, ‘पानी प-यो भने जता गएको हो उतै बास हुन्छ, खोला तर्न निकै समस्या छ ।’ उनका अनुसार अरुणखोला क्षेत्रमा सवारीसाधन ठप्प भएका छन् । नवलपरासीको सर्दी, दुम्किबासबाट निस्दीका विभिन्न स्थानमा चल्ने सवारीसाधन पनि अहिले बन्द भएको छ । माथागढी गाउँपालिकाको केन्द्र, झडेवा पुग्ने कच्ची सडकहरुको अवस्था दयनीय छ।

माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार थापाले गत वर्ष २० किलोमिटर नयाँ ट्रयाक खोलेको बताए। गाउँपालिकाले ४२ किलोमिटर सडकको स्तरोन्नति गरेको छ। ‘नयाँ सडकमा नाली अनिवार्य खनिएको छ, जसले गर्दा मात्र वर्षाको समयमा यातायात चल्न सकेका छन्,’ अध्यक्ष थापाले भने, ‘गत वर्ष डेढ किलोमिटर सडक ग्राभेल गरेका छौं। अहिले बहादुरबाहेक सबै वडामा पुग्न सकिन्छ। बाटो सफा गर्न डोजर राखेका छौं। गिटी पनि बिच्छाएका छौं।’ उनले चालू आर्थिक वर्ष २०७५–७६ मा वडा नं. ८ सँग सडक जोड्न ९१ लाख बजेट विनियोजन गरेको बताए। ‘बहादुरबाट प्रदेश सरकारको बजेटको अलि थोरै काम भएको रहेछ अन्यत्र समस्या छैन,’ थापाले भने।

तिनाउँ गाउँपालिकाले सातवटा सडकमा २५ किलोमिटर नयाँ ट्रयाक खोलेको छ। यस्तै तिनाउँले ४० किलोमिटर सडकको स्तरोन्नतिको काम गरेको जनाएको छ। अहिले गाउँपालिकाको केन्द्र पुग्न सिद्धार्थ राजमार्गबाट झोलुंगे पुल तरेर जानुपर्छ। सिद्धार्थ राजमार्गबाट गाउँपालिकाको केन्द्र दोभान जोड्ने पुल केन्द्र सरकारबाट तीन वर्षे ठेक्का भयो। तर, यो पुल निर्माण हुन अझै एक वर्ष लाग्ने भएको छ।

वैकल्पिक मार्ग झुम्सा–चरङ्गे, झिंगामारा जानेबाटो र मुर्गीगा–झिंगामारा जाने बाटो प्रदेश सरकारबाट यो वर्ष स्तरोन्नतिको काम गर्ने योजना रहेको गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले बताए। उनी भन्छन्, ‘अहिले गाउँपालिकाको केन्द्र र सबै वडा कार्यालय सडक सञ्जालले जोडिएको छ। तर, वडा नं. १ कचल र वडा नं. ४ सत्यवतीमा गाडी वर्षाको समयमा चल्न सक्दैनन्।’

चालू आर्थिक वर्षमा ओखलढुंगाबाट देउराली हुँदै रिब्दीकोट जाने बाटोका लागि २५–२५ लाख गाउँपालिका र प्रदेशबाट रकम विनियोजन गरिएको श्रेष्ठले बताए। असारबाट चार महिना तिनाउ पारि कचलतर्फ गाडी सञ्चालन ठप्प हुन्छ । तिनाउ गाउँपालिका–२, झ्याङ्लाका डिलबहादुर क्षेत्रीले भने, ‘असार नलाग्दै सवारीसाधन बन्द हुन्छन्। त्यसपछि पैदल यात्रा गर्नुपर्छ ।’ यहाँको सात किलोमिटरसम्म मात्र जीप सञ्चालन सम्भव हुन्छ । बाँकी सडक कच्ची, हिलाम्य र खाल्डाखुल्डी छन्। तिनाउ खोलामा पुल नभएकाले समस्या हुँदै आएको हो ।

रैनादेवी छहरा गाउँपालिकाले गत वर्ष तीन किलोमिटर नयाँ ट्रयाक खोलेको छ। झण्डै एक सय किलोमिटर स्तरोन्नति गरिएको गाउँपालिकाका प्रवक्ता विष्णुप्रसाद पोखरेलले बताए। अहिले रैनादेवी छहराको जुठापौवा, बल्ढेङगढी, सत्यवती र सिद्धेश्वर वडा कार्यालयको सम्पर्क गाउँपालिकादेखि टुटेको प्रवक्ता पोखरेलले बताए।

उनले सबै वडा कार्यालयहरू र गाउँपालिकाको केन्द्र छहरासँग सडक सञ्जाल जोडिएको बताउँदै आगामी आर्थिक वर्षमा १२ औं महिना सवारी चल्न सक्ने सडक बनाइने बताए। रैनादेवी छहराको सुन्दरेढुङ्गा हुँदै जुठापौवा–सालझण्डी जाने बाटोमा गत वर्ष १० लाख बढी खर्च गरेर स्तरोन्नतिको काम गरियो। अहिले यो बाटो पूर्णरूपमा अवरुद्ध भएको छ।

रैनादेवी छहरा गाउँपालिका–६ जुठापौवा वडा कार्यालयसहित तीन घर जोखिममा पर्ने गरी पहिरो खसेको छ। माथिबाट आएको पहिरोले वडा कार्यालय, प्रहरी चौकी, स्थानीय कमला जिसी, टोपबहादुर पुनको घर जोखिममा रहेको वडा सचिव हुमबहादुर कुँवरले बताए। पाल्पा पश्चिमको सोमादीस्थित सर्देवा खोला बढेपछि शिद्देश्वरलगायतका स्थानमा जाने सवारीसाधन चल्न सकेका छैनन्।

करोडौं खर्च गरेर खनिएका सडकले भू–क्षय गराउने र रुख बिरुवा मास्ने काम गरेको स्थानीय बताउँछन्। खोला बढेपछि कालीगण्डकी कोरिडोरमा यातायात पूर्णरूपमा बन्द भएको छ। हिउँदको समयमा करोडौं रकम खर्च गरेर स्थानीय सरकारले सडक निर्माण गरिरहँदा स्थानीय जनता भने सरकारको दैलो (गाउँपालिकाको केन्द्र) पुग्नै हिँडेर जानुपर्ने बाध्यता हटेको छैन।

प्रकाशित: ११ श्रावण २०७६ ०९:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App