coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रेडपाण्डा जोगाउन ‘वन अभिभावक’

जुम्लामा पाइने रेडपाण्डाः डिबी/नागरिक

जुम्ला– सिँजा गाउँपालिका वडा नम्बर २ विष्टवाडा गाउँमा जंगलमा रहेको रेडपाण्डा जोगाउन ‘वन अभिभावक’को व्यवस्था गरिएको छ। वनमा पाइने वन्यजन्तुको संरक्षण गर्ने उद्देश्यले वन ‘वन अभिभावक’को व्यवस्था गरिएको स्थानीय बताउँछन्। रेड पाण्डाको संरक्षण र अनुगमन गर्नको विष्टवाडा गाउँका प्रेमबहादुर खत्रीलाई ‘वन अभिभावक’ जिम्मेवारी दिइएको छ।

जुम्लामा पहिलो पटक ‘वन अभिभावक’को व्यवस्था गरिएको हो। वन अभिभावकलाई रेडपाण्डाको अवस्था अध्ययन गर्ने जिम्मेवारी दिएको छ। खत्री भन्छन्,‘दुर्लभ वन्यजन्तु रेडपाण्डा मासिँदै जान थालेपछि संरक्षणका लागि गाउँबाटै पहल हुन थालेको हो। यो भुमिका पाउँदा निकै उत्साहित छु।’  रेडपाण्डा पाइने क्षेत्रमा गएर रेड पाण्डाको दिसा संकलन गर्ने, रेडपाण्डाले छोडेका संकेतहरु र चोरी सिकारी सम्वन्धी रेखदेख गर्ने जिम्मेवारी बन अभिभावकको तोकिएको छ।

केही वर्षयता लोपोन्मुख रेडपाण्डाको बासस्थानमा असर पर्दै गएको अध्ययनले देखाए पछि संरक्षणमा स्थानीय र गैर सरकारी क्षेत्रको नजर पुगेको छ। सडकसञ्जाल विस्तारले तथा चरीचरनले बासस्थानको विनाश हुनु, कुकुरको आक्रमण बढ्नु, आहारका रूपमा प्रयोग हुने मालिङ्गो र निगालोको जंगल मासिंदै जानु, अवैध व्यापार बढ्दै जानु,जनावरहरूका लागि थापिने पासो र वन–जंगलमा लाग्ने डढेलोका कारण रेडपाण्डा मासिंदै गएको छ। नेपालसहित पाँच देशमा रेडपाण्डा पाइन्छ।

रेडपाण्डा नेटर्वकले स्थानीय संस्थासँग साझेदारी गरी अध्ययन, अनुगमन, सामुदायिक वन तथा स्थानीय बासिन्दालाई संरक्षण सचेतना जगाउने कार्यक्रम गर्दै आएको छ। समुन्द्र सहतबाट २ हजार २ सय मिटरदेखि ४ हजार ८ सय मिटर उचाइ सम्ममा रेडपाण्डा पाइने गरेको यस क्षेत्रका विज्ञहरुले बताउने गरेका छन्।

यसअघि जुम्लाका कुन जंगलमा रेडपाण्डा पाइन्छ भन्ने बिषयमा अनुसन्धान थालिएको थियो। जुम्लाको सिँजा गाउँपालिका, कनकासुन्दरी, पातारासी, गुठिचौर, चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिकाका जंगलमा रेडपाण्डा पाइन्छ।

प्रकाशित: ११ श्रावण २०७६ ०८:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App