स्मृति

सर्पबाट भयभीत दिनहरू

शनिबार, ११ साउन २०७६, ११ : ०६ रत्न प्रजापति

असार लाग्नासाथ काठमाडौं उपत्यका र आसपासका काँठहरूमा रोपाइँको चटारो सुरु हुन्थ्यो। अब ती दिन रहेनन्। उपत्यकाका सहरी क्षेत्रमा रोपाइँ गर्ने जमिनै बाँकी रहेनन्। मानव वस्ती काँठतिर सर्न थालेपछि काँठ पनि विस्तारै घरहरूले भरिन थालेका छन्। त्यसैले रोपाइँ गर्ने जमिन घट्दैछन् र रोपाइँका बेला गाइने असारे गीतका भाका पनि सुनिन छाडेका छन्। रोपाइँका बेला खुवाइने मीठो र पीरो आलुको अचारको स्वाद पनि सम्भवतः उपत्यकावासीले बिर्सिसके। बाँकी छन् मात्र यादहरू !

असार आउनासाथ स्मृतिमा धेरै कुरा आउँछन्। झरीमा रुझ्दै खेत खनेको, बाउसे गरेको, रोपाहारतिर हिलो छ्यापेर जिस्केको, बिउ काढेको, हरियो खुर्सानी हालेर साँधेको पीरो आलुको अचारसँगै घरेलु थ्वँः खाएको, मासुभात दन्काएको, अनि रोपाइँ सकेपछि साँझमा मसला बाँडेको। मीठा यादहरू अझै आउँछन्। अब यस्तै यादहरूमा रमाउने मात्र हो। त्यो रोपाइँ, त्यो पीरो अचार, त्यो मीठो घरेलु थ्वँ अनि त्यो ल्वाङ, सुकुमेल, सुपारी, चकेलटसहितको मसला सबैसबै स्मृतिमा मात्र छन्।

असारकै बेला नवलपरासी जिल्लामा एघार दिन बडो कठिनसित र भयभीत भएर बिताएको अझै सम्झन्छु म। कुरा २०४९–०५० सालतिरको। म एउटा रिसर्च कम्पनीमा काम गर्थेँ। रिसर्चकै सिलसिलामा टोली संयोजक भएर बेलाबेलामा जिल्लाहरूमा गइरहनुपथ्र्यो। एक पटक असारकै बेलामा परिवार नियोजनसम्बन्धी एउटा अध्ययनको सिलसिलामा नवलपरासी जानुपर्ने भयो। टोलीमा दुई महिलासहित् आठ जना थियौं। टोलीका सबै युवावयका। कम्पनीका तर्फबाट म आफैं र बाँकी अरूचाहिँ करारमा लिइएका थिए। यसरी अध्ययन टोली लिएर फिल्डमा जान पाउनु पनि राम्रै लाग्थ्यो। किनभने यसवापत राम्रो भत्ता आउँथ्यो भने नयाँ ठाउँ घुम्ने र त्यहाँको वस्तुस्थिति बुझ्ने अवसर पनि मिल्थ्यो।

भित्तामा माटोले लिपेको झुपडीमा गुजारा गर्ने धेरै गरिब नेपाली छन् तराईमा। मलाई जस्तै तिनलाई पनि सर्पको डर अवश्य हुँदो हो।  डराईडराई बाँच्न विवश छन् ती। सर्पले टोकिहाले सहजै मृत्युलाई अँगाल्न पनि बाध्य छन् ती।

बिहान साझा बसमा काठमाडौंबाट प्रस्थान गरेका हामी साँझमा मात्रै परासी बजार पुग्यौं। परिवार नियोजन संघले आवश्यक परे सहयोगका लागि भनेर चिठ्ठी लेखिदिएको थियो। तर कार्यालय समय सकिइसकेको हुँदा संघका पदाधिकारीसँग भेट हुन सकेन। त्यस दिन परासीकै एउटा होटलमा मुश्किलले बस्यौं। गर्मी खपिनसक्नु थियो भने होटेलका कोठा गुम्सिएका थिए। गर्मीले रात काट्न निकै कठिन भयो।

मलाई सर्पदेखि निकै डर थियो। गर्मीको समय तराईमा धेरै सर्प बाहिर आउँछन् र चिसो ठाउँ खोज्दै घरभित्र पनि पस्छन्। घरभित्र सिरक, डस्ना, तकिया र खाटमुनि लुकेर बसेका सर्पले मानिसलाई टोक्छन् भनेर सुनेको थिएँ। त्यसैले मलाई गर्मीको उकुसमुकुस भन्दा सर्पको डरले उकुसमुकुस बनाइरहेको थियो। सुत्नुअघि मैले सिरक, डसना, तकिया आदि सबै ओल्टाइपल्टाई हेरेँ। झ्यालका कापमा  पनि कपडा कोचेर टालेँ। तैपनि भुसुक्क ननिदाउँन्जेल डर लागिरह्यो। म डराएको देखेर टोलीका अरू साथीले अलिअलि हाँसेर उडाए र अलिअलि मलाई नडराउन ढाडस पनि दिए। मैलेचाहिँ उनीहरू पटक्कै नडराएको देखेँ। उनीहरूका अगाडि मलाई अलिअलि लाज  अनुभूति भयो। तर जति नडराएको स्वाङ गरे पनि डरले मुटु भने जोडले ढुकढुक गर्न छाडेन। सधैं त्यहाँ बस्ने र झुपडीमा सुत्ने गरिबलाई सर्पको डर हुन्छ कि हुँदैन होला ? अवश्य हुन्छ होला। आखिर सर्पले टोकेर मर्नेहरू पनि त्यस्तै झुपडीमा सुत्ने गरिब नै त धेरै हुन्छन्, जहाँ सर्पले सजिलै प्रवेश पाउनसक्छ। पक्की घरमा त सर्पलाई पनि  प्रवेश गर्न गा-है हुन्छ होला नि !

अध्ययन क्रममा गाउँगाउँमा गएर प्रश्नावली भराउनुका साथै सेकेण्डरी तथ्याङकहरू पनि संकलन गर्नुपर्ने थियो। टोली खटाउनेमात्रै होइन, कतिपय ठाउँमा म आफैं पनि जानुपर्ने थियो। हाम्रो अध्ययनको क्षेत्र परासी, सुनवल, सरावल, वर्दघाट, रामनगर, पञ्चनगर, जहदा, जमुनिया, कोल्हुवा, रूपौलिया आदि गाउँ थिए। एक त बर्खाको समय, त्यसमाथि यातायातको समस्याले गाउँगाउँमा पुग्न निकै सकस भयो। स्थानीय यातायात साधन कम हुँदा कहिले निजी सवारीमा लिफ्ट मागेर, कहिले हिँडेरै त कहिले स्थानीयसँग साइकल सापटी मागेर पनि गाउँगाउँमा पुग्थ्यौं। साइकल अलिअलि मात्रै सिकेको मैले त्यहाँको खाली बाटोमा साइकल त चढेँ। तर घरी यता र घरी उता लड्न खोजेर झन्डै मेरो सातो नै गएन। गर्मीमा असिनपसिन भएर साइकल चलाउँदै एउटा गाउँबाट अर्को गाउँमा पुग्दा थकाइले पनि चुर बनाउँथ्यो।

गर्मीमा पनि मानिसहरू प्रशस्त पानीसँगै पान खान सुझाउँथे। मैले जिन्दगीमा पहिलो पटक त्यहीँ थाहा पाएँ पानले गर्मी काट्छ भन्ने कुरा। अझ मानिस मरिच हालेको चिया खान्थे। मैले पनि मरिचको पीरोले हिक्कहिक्क गर्दै कालो चिया खाएँ। तर गर्मी घटेको अनुभव भने भएन। हप्प गर्मी भएर खलखल पसिना आउँथ्यो। तर घामले पोलेको अनुभूति भने हुँदैनथ्यो। यता काठमाडौंमा चाहिँ गर्मीमा घामले टाउको नै फुट्लाझैं गरी पोल्थ्यो। तर उताजस्तो खलखली पसिनाचाहिँ आउँदैनथ्यो। अहिले पनि आउँदैन।

ट्रक, ट्र्याक्टर, जीप, मोटरसाइकल, साइकल, रिक्सा जे भेट्यो त्यसमै चढेर हामीले गाउँ घुम्यौं। जमुनिया गाउँमा हिँड्दै गर्दा खेतमा रोपाइँ गरिरहेका महिला भाग्दै गरेको र पुरुषले चाहिँ एउटा सर्पलाई लखेट्दै गरेको देखेर मेरो सातो गयो। सर्प पानीमाथिमाथि टाउको उठाएर भागिरहेको थियो। अन्ततः दुइतीन जना पुरुषहरूले त्यो सर्पलाई मारिछाडे। मनमा सर्पको डर झन् बढ्यो।

एक दिन, जमुनिया गाउँबाट वर्दघाट फर्केर काठमाडौंमा सम्पर्क गर्न टेलिफोन भएको एउटा मेडिकलमा पसेँ। त्यहाँ दुईतीन जना मानिस औषधि किन्दै थिए। त्यसैबेला एउटी महिला हस्याङफस्याङ गर्दै आएर सर्पले टोेकेको औषधि मागिन्। पसलेले ‘औषधि छैन, तुरुन्त अस्पतालमा लैजानुस्’ भने। महिला हस्याङफस्याङ गर्दै गइन्। डरले मेरो पनि मुटु काम्न थाल्यो। अब कसरी होटलमा रात काट्ने होला ? मनमा पीर पर्न थाल्यो।

हामी वर्दघाटको होटलमा बसेका थियौं। होटल धेरै ठूलो थिएन र सुत्ने कोठा धेरै थिएनन्। हाम्रा लागि जम्मा दुई वटा कोठा मात्रै उपलब्ध थियो। राति सुत्ने बेलामा मैले सबै सिरक, डस्ना, तकिया ओल्टाइपल्टाइ गरेँ। झ्यालका कापहरूमा कपडा पनि कोचेँ। भित्ताको सानो दुलोमा पनि कपडा कोचेर टालेँ। सबै झ्यालहरू पनि लगाएँ। चिसो हावाका लागि फ्यान त थियो, तर झुल थिएन। त्यसैले लामखुट्टेले पनि सुत्न दिएन।

एउटै कोठामा हामी पाँच जना थियौं। खाट पनि पाँचै जना एकै ठाउँमा सुत्नेगरी मिलाइएको थियो। हामी पाँचजना लहरै सुत्यौं। सबैभन्दा छेउमा म। त्यसपछि एकजना भाइ। त्यो भाइसँगै उनको आफ्नै दिदी। त्यसपछि उतातिर अर्की केटी र केटीसँगै अर्को केटा। त्यो केटी र केटाको हाउभाउ हेर्दा र बोलचाली सुन्दा उनीहरू प्रेमीप्रेमिकाजस्ता देखिन्थे। ती राति अरू निदाएपछि विस्तारै चल्दारहेछन्। भाइसँगै सुत्ने दिदीले एक दिन चाल पाइछन्। त्यसपछि उनलाई त्यसरी सँगै सुत्न अप्ठ्यारो लाग्यो। लजाउँदै उनले त्यो कुरा मलाई पनि शेयर गरिन्। पछि काठमाडौं फर्केपछि थाहा भयो, ती त लोग्नेस्वास्नी नै रहेछन्। यसरी सुन्दा लाज लाग्ने, तर रमाइलो घटना पनि हुन्छ बाहिरको भ्रमणमा कहिलेकाहीं।

राति खाना खानुअघि वर्दघाटको होटलको आँगनमा खटियामा बसेर हावा खान बस्थ्यौं। त्यहाँ होटलमा बास बस्ने र होटलका मानिस पनि हुन्थे। उनीहरूसँग गफगाफ पनि हुन्थ्यो। गफमा मैले सर्पको डरको कुरा गरेपछि उनीहरू झन् हौसिएर सर्पकै किस्सा सुनाउन थाल्थे।

घटना एक– एक पटक पञ्चनगरमा एउटा चीलले सर्पलाई टिपेर लगेछ। माथि आकाशमा पुगेपछि सर्पले कसोकसो चीललाई टोक्न भ्याएछ। त्यसपछि चीलले त्यो सर्पलाई छोडिदिएछ। सर्प आकाशबाट बतासिँदै भुइँमा खसेछ। त्यो सर्प एउटा गुडिरहेको मोटरसाइकल चालकको घाँटीमा परेछ। रिसाएको सर्पले मोटरसाइकल चालकको घाँटीमै टोकिदिएछ। मोटरसाइकल लडेछ र चालकको घटनास्थलमै मृत्यु भएछ।

घटना दुई– रामनगरमा एउटी महिला बिहानै दैला पोत्दै रहिछन्। दैलो पोत्दापोत्दै उनको औंलामा च्वास्स काँडाले घोचेजस्तो भएछ। उनले त्यति ख्याल गरिनछन्। एकछिनपछि उनलाई रिङ्गटा लागेजस्तो भएछ। वान्ता पनि हुन थालेछ। हतारहतार अस्पताल लगेछन्। अस्पताल लगेपछि पो थाहा भएछ, उनलाई सर्पले टोकेको रहेछ। पछि आँगनमा खनेर हेर्दा सर्प भेटिएछ।

घटना तीन– वर्दघाटमै भक्तपुरतिरबाट आएर बसेको एउटा कुमालेको परिवार थियो। उनीहरू माटाका भाँडा बेच्थे। उनीहरूका दुईटा ससाना छोरा थिए। दुर्भाग्य, दुवैको पालैपालो दुई तीन वर्षको अन्तरालमा सर्पले टोकेर मृत्यु भयो।

यस्ता घटना सुनेपछि मलाई सर्पको डर झन् बढी लाग्न थाल्यो। म झन् बढी भयभीत हुन थालेँ। दिन त यसोउसो गर्दागर्दै बित्थ्यो। सर्पका बारेमा सोच्ने समय नै हुँदैनथ्यो र सर्पतिर उति ध्यान पनि जाँदैनथ्यो। जब राति हुन्थ्यो, अनि मलाई सर्पको डर एक्कासि बढ्थ्यो। रात काट्नै गा-हो हुन्थ्यो। सातआठ घण्टाको रात पनि सातआठ रात जस्तै लाग्थ्यो। डर, चिन्ता, पीडा, वेदना, पर्खाइ र व्यग्रताको समय लामो लाग्ने रहेछ।

म सर्पको डरले हरपल अत्तालिइरहेको हुन्छु। तर त्यहाँका मानिस ढुक्कले बसेको देख्छु। एकदिन होटलको आँगनमा खटियामा बसेर गफ गरिरहेकै बेला मैले एकदुई जनासित सोधेँ, ‘तपाईंहरूलाई सर्पदेखि डर लाग्दैन ?’ उनीहरूले निश्चिन्त भएर भनेँ, ‘लाग्दैन। हामीलाई त बानी परिसक्यो।’

के उनीहरूलाई सर्पसँग बानी परेको हो ? सर्पले टोक्यो भने ज्यान जानसक्छ। त्यसैले सर्प त काल हो। के कालसँग पनि उनीहरूलाई बानी परिसक्यो ? मेरो मनमा यस्तै कुरा आए त्यतिखेर।

एक दिन, रूपौलियामा कामले घुम्दै गर्दा बेसरी पानी प-यो। स्थानीय नहरमा पानीको भेल बढ्यो। त्यो भेलसँगै साना–ठूला धेरै वटा सर्प बग्दै आएको देखेर मानिस भाग्दै थिए। कोहीचाहिँ सर्पलाई ढुंगा, लाठो आदिले हान्दै थिए। सानो सर्पको पनि फुँकार निकै ठूलो सुनेँ मैले। सर्पले मानिसलाई देखेर टाउको उठाएर गर्धन फुलाएको देखेर म डरले अत्तालिन थालेँ। स्थानीयले ढाडस दिएर मलाई समाले।

सम्भवतः जहदा गाउँमा हुनुपर्छ। म र एकजना अध्ययन टोलीकै साथी जनप्रतिनिधिलाई भेट्न उनको घर गएका थियौं। उनी घरमा थिएनन्। त्रिवेणी पारि गएका छन् भन्ने थाहा भयो। किन गएको भनेर सोध्दा थाहा भयो परिवारको एक जना सदस्य राति घरको छतमा सुतेका रहेछन्। सुतेकै ठाउँमा सर्पले टोकेछ। त्यसैले उपचारका लागि त्रिवेणीपारि गएका रहेछन्।

यसरी हरेक दिन कहीं न कहीं, कतै न कतै सर्प देखेको, सर्पले टोकेको र सर्पकै बारेमा धेरै कुरा सुनेकाले म सर्पदेखि डराउने मान्छेलाई डरले बेहोशै बनाउला जस्तो हुन्थ्यो। अध्ययनको सिलसिलामा विभिन्न गाउँको काम सक्न एघार दिन लाग्यो। तर त्यो एघार दिन मलाई एघार महिनाजस्तै भयो। सर्पको डरले हरेक दिन अत्यासलाग्दो बन्यो। सर्पको यस्तो डर भने मलाई सानोमा आफ्नै घरनजिक मनोहरा खोलामा माछा मार्दा सर्प समातेदेखि लाग्न थालेको हो। हरेक वर्ष असार लागेपछि म ती भयभीत एघार दिन झल्झली सम्झन थाल्छु।

भित्तामा माटोले लिपेको झुपडीमा गुजारा गर्ने धेरै गरिब नेपाली छन् तराईमा। मलाई जस्तै तिनलाई पनि सर्पको डर अवश्य हुँदो हो। डराईडराई बाँच्न विवश छन् ती। सर्पले टोकिहाले सहजै मृत्युलाई अँगाल्न पनि बाध्य छन्। राज्यले कमसेकम त्यस्ता गरिबको जीवनलाई ध्यानमा राखेर तराईका सबै क्षेत्रमा सर्पदंशको सहज उपचारसेवा उपलब्ध गराउन सके झुपडीमा गुजारा गर्ने गरिब नेपालीले सर्पको डरले डराईडराई बाँच्नुपर्ने थिएन। कथंकदाचित सर्पले टोकिहाले पनि उपचार अभावमा चुपचाप मृत्युलाई स्वीकार्नुपर्ने बाध्यता रहने थिएन। यति व्यवस्था राज्यले गरिदेओस् भन्ने कामना मेरो मनले अझै पनि गरिरहेको छ।







यसमा तपाईको मत

अन्य समाचार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरको एजेन्ट् मीट् कार्यक्रम सम्पन्न

सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र AML/CFT तालिम कार्यक्रम काठमाण्डौं स्थित एलिस् रिसेप्शन्मा सम्पन्न...

सुबिसुको दसैं, तिहार अफर

सुबिसुको दसैं, तिहार अफर

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले बडादसैं, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै मात्र ९९ रुपैयाँमा...

पोखरामा प्रोग्रेसिभ फाइनान्स

पोखरामा प्रोग्रेसिभ फाइनान्स

प्रोग्रेसिभ फाइनान्सले पोखरा महानगरपालिका–४, चिप्लेढुंगामा शाखा विस्तार गरेको छ । ...

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम बैंकको एकीकृत कारोबार सुरु

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक प्राप्त गरी एकीकृत कारोबार सुरु गरेको छ । ...

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

‘भत्ता होइन उद्यमशीलता बढाऊ’

नेपाली काँग्रेसनिकट उद्यमशील काँग्रेसको आयोजनामा शनिबार सम्पन्न ‘इन्स्पाइरिङ अन्टरप्रेनर्स’ कार्यक्रमका वक्ताले नेपालमा उद्यमशीलता प्रवद्र्धनको आवश्यकता रहेको औंल्याएका छन् । ...

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

ग्रान्डी सिटीमा कार्यक्रम सम्पन्न

कान्तिपथस्थित ग्रान्डी सिटी अस्पतालले विश्व प्राथमिक उपचार दिवसको अवसर पारेर एक कार्यक्रम सम्पन्न गरेको जनाएको छ । ...

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी बैंकद्वारा स्कुलमा पोसाक वितरण

सेञ्चुरी कमर्सियल बैंकको बनेपा शाखाले विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरेको छ । ...

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेको ल्यापटपमा माइक्रोसफ्ट विन्डोज प्रयोग नहुने

हुवावेले आफ्ना ल्यापटपहरूमा लिनक्सको विशेष वितरण अर्थात् लिनसक डिपिन इन्स्टल गर्ने भएको छ ...

Ncell Footer Ad