coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

सुन्दरता निखार्न स्किन सुहाउँदो सौन्दर्य सामग्री

ज्योति श्रेष्ठ

सौन्दर्य नारीको महत्वपूर्ण गहना हो। यो स्वास्थ्यको दृष्टिकोणबाट पनि स्वास्थ्यजनक छ। तर, यसमा सजगता अपनाउनुपर्ने हुन्छ। अचेल यसलाई पहिचान र व्यक्तित्वसँग पनि जोडेर हेर्न थालिएको छ। मानिसको पहिलो नजर अनुहारमा जान्छ। त्यसकारण नारीहरू विशेष गरेर मेकअपमा ध्यान दिन्छन्। अनुहार र छाला शरीरको संवेदनशील अंग भएकाले कुनै पनि सौन्दर्य सामग्री प्रयोग गर्दा विशेष ख्याल गर्न सौन्दर्यकर्मी र डर्मोटोलोजिस्ट (त्वचा चिकित्सक) सुझाउँछन्। अचेल बजारमा अनुहारको स्वरूप तथा छालाको प्रकारअनुसार विभिन्न ब्रान्डका सौन्दर्य सामग्रीहरू भित्रिएका छन्।

सौन्दर्य सामग्री प्रयोग गर्दा आफ्नो अनुहार र छाला सुहाउँदो प्रयोग गरेमा सौन्र्दयमा अझ बढी निखारपन आउँछ। त्यसकारण पनि प्रयोगकर्ताहरूमा विशेष गरेर नारीहरू अलि बढी सर्तक हुने गर्छन्। कहीँ कतै शुभ कार्य र विशेष कार्यक्रममा जाँदैछौँ भने हामी अलि बढी मेकअप गर्छौँ। कुनै विशेष कार्यक्रमको लागि कतै जानु छ भने भक्तपुरकी रन्जना तिमिल्सनालाई हेभी मेकअप गर्न मन पर्छ। ‘सामान्य मेकअप त नियमित नै भइरहेको हुन्छ नै,’ उनले भनिन्, ‘विशेष कार्यक्रममा त सामान्य लुकभन्दा त फरक देखिनै प-यो नि।’ आफूले कुनै पनि सौन्दर्य सामग्रीहरू प्रयोग गर्दा त्यसको ब्राण्ड र गुणस्तरमा विशेष ध्यान दिने गरेको तिमिल्सना बताउँछिन्।

काठमाडौँ जोरपाटीकी लस्ता सिवाकोटी भने सामान्य गेटअप र लुक्स नै रुचाउँछिन्। चाहे विशेष कार्यक्रम होस् वा सामान्य दिन नै उनी एकै खालको मेकअप गर्छिन्। ‘धेरैथरि कस्मेटिक्स लगाउँदा फेसमा धेरै समस्या देखिन्छ,’ सिवाकोटीले भनिन्, ‘आफ्नो फेसलाई सुट गर्ने खालका कस्मेटिक्सहरू मात्र लगाउनुपर्छ। फेस नै बिग्रिएपछि त पर्सनालिटी पनि बिग्रिहाल्यो नि।’ त्यसकारण पनि सौन्दर्य सामग्री प्रयोग गर्दा निकै होसियार हुने गर्छिन्।

मनमैजुकी कल्पना लम्साल नर्मल फेस मेक गर्न रुचाउँछिन्। फेस मेकअपमा गर्दा आफ्नो स्किन सुहाउँदो कस्मेटिक उत्पादनहरू मात्र प्रयोग गर्ने उनी बताउँछिन्। ‘अरूले हेर्दा राम्रो देखिने लगाउन मन पर्छ,’ उनले भनिन्, ‘भद्दा मेकअप गर्दा स्किन बिग्रन्छ। स्किनको मामलामा कम्परमाइन गर्दिनँ। कुनै पनि कस्मेटिक उत्पादन प्रयोग गर्दा पहिला त्यसको विशेषताको बारेमा बुझेर मात्र प्रयोग गर्छु।’

बजारमा धेरै थरिका सौन्दर्य सामग्री भित्रिएका छन्। कुनै बेला सौन्दर्य सामग्री फेसनको रूपमा चलेको थियो। तर, अचेल प्रयोगकर्ताहरूले सबैभन्दा पहिले आफ्नो स्वास्थ्य र सौन्दर्यमा बढी ध्यान दिन्छन्। विगतको तुलनामा अहिले प्रयोगकर्ताहरू सौन्दर्य सामग्री प्रयोग गर्दा निकै सचेत हुने गरेको सौन्दर्यकर्मीहरू बताउँछन्। नर्चस् ब्युटी पार्लरकी ब्युटिसियन सरु तामाङ भन्छिन्, ‘अचेल ग्राहकहरू मूल्यभन्दा पनि गुणस्तरमा ध्यान दिन थालेका छन्। केही समय अघिसम्म सस्तो खालको कस्मेटिक्स खोज्नेहरू पनि अहिले ब्राण्डेड र गुणस्तरका सामान खोज्न थालेका छन्। हामी आफै पनि क्वालिटी प्रोडक्ट नै प्रयोग गर्न रिक्वेस्ट गर्छौँ।’

आफ्नो पार्लरमा भएका सामाग्री देखाउँदै उनले भनिन्, ‘अहिले बजारमा चलेको डिमाण्डेड, ब्राण्डेड र क्वालिटी सौन्दर्य सामग्रीमा वले, ल्याकमी, रेभलन, लरियल, म्याकलगायत हुन्।’ केमिकलयुक्त सौन्दर्य सामग्री अहिले खोजेर पनि भेटिँदैन।

हामीले प्रयोग गर्ने सबै सौन्दर्य सामग्रीमा केमिलकल हुन्छ नै। तर, कस्तो खालको सौन्दर्य सामग्री कसरी र कुन समयमा प्रयोग गर्ने भन्ने कुरामा भर पर्छ। आफ्नो अनुहार र छाला सुहाउँदो सौन्दर्य सामग्री प्रयोग गर्दा त्यसले कुनै असर नगर्ने ब्युटिसियन तामाङ बताउँछिन्।

कमलादीमा रहेको हबिस हयेर एण्ड ब्युटी सलुन कम एकेडेमीका ब्युटिसियन लकिता राई पनि कुनै पनि सौन्दर्य सामग्री प्रयोग गर्दा स्किन सुहाउँदो प्रयोग गर्दा सुन्दरतामा अझ निखारता आउने बताउँछिन्। ‘कसैको स्किन वोइली हुन्छ, कसैको ड्राई, कसैको एकदम सेन्सिटिभ हुन्छ, आफ्नो स्किनलाई कुन उत्पादन सुहाउँछ, त्यहीँ प्रयोग गर्नुपर्छ,’ उनले भनिन्, ‘त्यहीँ–यहीँ ब्राण्ड प्रयोग गर्ने भनेर स्पेसिफिक हँुदैन। जुनै पनि प्रडक्ट प्रयोग गर्दा त्यसको साइड इफेक्टलाई ध्यान दिनुपर्छ।’

कस्मेटिक उत्पादनहरूमा धेरै केमिलकल प्रयोग भएको कुरा बजारमा आएदेखि ग्राहकहरूले हर्बल उत्पादन नै रोज्ने गरेको सौन्दर्यकर्मीहरू बताउँछन्। प्रयोगकर्ताले कस्मेटिक उत्पादन उपयोग गर्नुपूर्व त्यसको एक्सपाइरी डेटमा विशेष ध्यान दिन ब्युटिसियन राई सुझाउँछिन्। उनका अनुसार हामीले प्रयोग गर्ने ब्राण्डेड उत्पादन पनि कहाँ बनेको, त्यसको एक्सपाइरी डेट जस्ता कुरामा ध्यान दिनुपर्छ।

प्रकाशित: ११ श्रावण २०७६ ०४:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App