१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

लुम्बिनीमा शान्ति प्रार्थना

अतृक्षा खड्का,
कक्षा–१०,
काञ्जीरोवा नेसनल मावि कोटेश्वर,काठमाडौं।

परीक्षा सकिएपछि स्कुल बिदा थियो। मेरो बुबा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा कार्यरत हुनुहुन्छ। उहाँलाई यसपटक चितवन र रुपन्देही नपुगी नहुने भयो। उहाँको त्यही यात्रामा संलग्न भएर हामीले पनि लुम्बिनी भ्रमणमा सहभागी हुने योजना बनायौं। जीवनमै पहिलोचोटि लुम्बिनी जाने अवसर पाएँ। मन प्रफुल्ल बन्यो।

हामी बिहान सात नबज्दै काठमाडौँको जडीबुटीबाट यात्रामा निस्कियौँ। बुबा नै सवारी चालक हुनुहुन्थ्यो। दाइले बुबालाई घरीघरी सवारी हाँक्न सहयोग गरिरहनुभयो। आमा र मचाहिँ पछिल्लो सिटमा बसेर रमाइलो अनुभव सँगाल्दै थियौँ। कलङ्कीदेखि थानकोटसम्मको सडक मर्मत गरिँदै रहेछ। त्यसैले कलङ्की कटेपछि हामी एकछिन जाममा पनि प¥यौँ।

हामी सानातिनो जाम पार गर्दै सजिलै थानकोटबाट ओर्लियौँ। हामी सडक वरिपरिका सुन्दर दृश्य घर, खेतबारी, नदीनाला र हरिया डाँडाकाँडा नियाल्दै मलेखु पुग्यौँ। मलेखुको एउटा होटलमा पसेर खाना खायौँ। त्यहाँबाट नजिकै  शान्त गतिमा बगिरहेको त्रिशूलीको दृश्य देख्दा धेरै रमाइलो लाग्यो।

हामी खाना खाएर मुग्लिङ हुँदै नारायणगढतिर लाग्यौँ। पहिलेपहिले टेलिभिजन र पत्रिकामा मुग्लिङ–नारायणगढ सडकखण्डमा घन्टौँ जाम भएको खबर सुनिन्थ्यो। अहिले त्यस्तो रहेनछ। पहिले चार÷पाँच घन्टा जाममा परिने त्यो सडक हामीले पैँतालीस मिनेटमा पार ग¥यौँ। हामी चितवन पुग्दा दिउँसोको दुई बजिसकेको थियो। चितवनको रामपुरमा बुबाको कार्यालयको काम थियो। बुबा कामतिर लाग्नुभयो।

त्यस दिन हामी चितवनस्थित नेपाल कृषि अनुसन्धान परिषद्को अतिथिगृहमै बस्यौँ। भोलिपल्ट बिहानै लुम्बिनीतिर लाग्यौँ। मैले सामाजिक शिक्षामा लुम्बिनी विश्व सम्पदा सूचीमा सूचीकृत नेपालको ऐतिहासिक सम्पदा हो भन्ने कुरा पढेकी थिएँ। त्यहाँ पुग्दा खुसीले मन फूलको थुँगा भएको थियो।

हामी लुम्बिनीको मूल प्रवेशद्वारबाट भित्र पस्यौँ। सबैभन्दा पहिले त्यहाँको  मायादेवी मन्दिर दर्शन गर्ने योजना थियो। त्यसका लागि हामी लामो लाइनमा पङ्क्तिबद्ध भयौँ। झन्डै एक घन्टापछि हामीलाई मन्दिर दर्शन गर्ने अवसर मिल्यो। हामीले परिवार, समाज, राष्ट्र र विश्व शान्तिको कामनासहित बुद्धको प्रार्थना ग¥यौँ। मन्दिर दर्शन गरेर निस्केपछि हामी त्यहाँका विभिन्न स्तुपहरू अवलोकन गर्न थाल्यौँ। त्यहाँ जापान, थाइल्यान्ड, दक्षिण कोरिया, म्यानमार, श्रीलंका जस्ता विभिन्न देशहरूले निर्माण गरेका छुट्टाछुट्टै बौद्ध स्तुप  रहेछन्। तिनीहरूको निर्माण शैली अत्यन्त आकर्षक र भव्य रहेछ।

नजिकै अखण्ड दीप प्रज्ज्वलन भइरहने स्थल पनि रहेछ। त्यहाँको बत्ती कहिल्यै निभ्दैन भन्ने सुनेर म आश्चर्यमा परें। सन् १९९७ मा विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी बुद्ध जन्मस्थलका रूपमा प्रसिद्ध छ। इसापूर्व ६२३ मा यहाँको बोधिवृक्ष मुनि पोखरी छेउमा मायादेवीको कोखबाट गौतम बुद्धको जन्म भएको थियो। उनी जन्मनेबित्तिकै सात पाइला हिँडेका थिए भन्ने किंवदन्ती छ।

बुद्ध जन्मेको सम्झनामा उक्त वृक्ष र पोखरीलाई प्रतीकात्मक रूपमा सुरक्षित राखी आधुनिक शैलीमा सिँगारिएको रहेछ। यस्ता अद्भुत महापुरुषको जन्म भएका कारण लुम्बिनी विश्वभरिका बौद्ध धर्मावलम्बीको प्रमुख गन्तव्यस्थल बन्न पुगेको रहेछ। आफ्ना आध्यात्मिक गुरु उपगुप्तको निर्देशनमा मौर्यवंशका भारतीय सम्राट अशोकले इसापूर्व २४९ मा लुम्बिनीको तीर्थयात्रा गरेका रहेछन्। आफू यहाँ आएका बेला उनले ‘हिंद बुधे जाते शाक्यमुनीति’ अर्थात् ‘यहाँ शाक्यमुनि बुद्ध जन्मनुभएको थियो’ भन्ने शिलालेखसहितको स्तम्भ खडा गरिदिएका रहेछन्। जुन अशोक स्तम्भका रूपमा सुरक्षित छ।

सम्राट अशोकपछि चौथो, पाँचौँ र सातौँ शताब्दीमा चिनिया यात्रीहरू क्रमशः त्सेङ साङ, फाहियान र हुयान साङले लुम्बिनी भ्रमण गरेका रहेछन्। उनीहरूले आफ्ना संस्मरणमा लुम्बिनीको गौरव गान गरेको प्रसङ्ग इतिहासको पाइन्छ। त्यसपछि १३१२ मा तत्कालीन कर्णाली राज्यका राजा रिपु मल्लले लुम्बिनीको भ्रमण गरेका रहेछन्। उनले आफ्नो यात्राको चिनोस्वरूप अशोकस्तम्भमा ‘ॐमणि पद्मे हुँ रिपु मल्ल चिर जयतु’ भनी लेखेका छन्। त्यसपछि निकै लामो समयसम्म लुम्बिनी बिर्सिएको भूमिजस्तै बन्न पुगेको रहेछ। सन् १८९६ मा तत्कालीन पाल्पाली गभर्नर खङ्ग शमशेरको पहलमा बेलायतका पुरातात्विक अन्वेषणकर्ता एलोइस फुहररले अशोक स्तम्भ पत्ता लगाएपछि आधुनिक शैलीमा यसको पुनर्निर्माण गर्न प्रारम्भ गरिएको रहेछ।

पछि संयुक्त राष्ट्रसंघले लुम्बिनीको सुरक्षाप्रति चासो देखाएपछि यसको तीव्र गतिमा प्रचारप्रसार र आधुनिकीकरण गर्न थालिएको थाहा पाइयो। यतिबेला लुम्बिनी विदेशी पर्यटकको आकर्षण केन्द्र बन्नेको हामीले स्थानीयबासीबाट थाहा पायौं।

विशाल क्षेत्रफलमा फैलिएको रहेछ लुम्बिनी। मलाई लुम्बिनीको वातावरण अत्यन्त सुन्दर लाग्यो। त्यहाँ पुग्ने हरेक व्यक्तिले आत्मिक शान्ति अनुभूति गर्छन्। त्यसमाथि त्यहाँको हरियाली बगैँचामा भ्रमण गर्दा स्वर्गीय आनन्द मिल्दो रहेछ। लुम्बिनीको रमाइलो वातावरण देख्दा मलाई त्यहीँ बसूँबसूँ लाग्यो। केही समयका लागि गएका हामीलाई फर्किनु पर्ने बाध्यतै थियो। त्यसैले हामी लुम्बिनीलाई बिदाइका हात हल्लाउँदै बाहिरियौँ। यतिवेला आँखामा लुम्बिनीका प्रेमिल दृश्य नाचिरहेका छन्।

प्रकाशित: ११ श्रावण २०७६ ०३:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App