coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

फोक्सुन्डोमा कोरिएका चित्र

कृष्ण बहादुर नेपाली

प्रकृतिसँग रम्न कसलाई मन पर्दैन र ! मलाई पनि प्रकृतिसँग नाच्न, गाउँन, हाँस्न र खेल्न मन पर्छ। बेलाबेलामा व्यस्त दैनिकीलाई चटक्कै छाडेर प्रकृतिको काखमा रमाउन पुग्छु। यस्तै एउटा अनुपम अवसर जु-यो–फोक्सुन्डो काव्य यात्रामा।

काव्य यात्रासँगको नाता जोडिदिने काम आदरणीय अग्रज कलाकार नगेनसिंह ठकुरीले गरिदिनु भयो। अस्ति असार १ गते बेलुका उहाँले फोनमा भन्नु भयो, ‘कृष्ण भाइ ! फोक्सुन्डोमा गएर तत्स्थानीय चित्र बनाउनुस् है।’ उहाँले यात्राका संयोजक अमृत भादगाउँलेको मोबाइल नं. दिनु भयो। डोल्पाको फोक्सुन्डो यात्रा गर्ने खबर सुन्नेबित्तिकै मन खुसीले तुलुबुल गर्न थाल्यो। ‘जसरी पनि काव्य यात्रामा सहभागी हुन्छु’, मनमनै भनें।

अर्को दिन भादगाउँले दाइको फोन आयो। त्यसको भोलिपल्ट सुन्धारामा भेटघाट गरेर यात्राबारे बुझें। जम्मा १५ जनाको हाम्रो टोलीमा कवि, लेखक, पत्रकार, चित्रकार र साइक्लिष्ट सहभागी हुने जानकारी पाएँ। र, म यात्राको तयारीमा जुटें।
औँला भाँच्दै जाने दिनको प्रतीक्षा गरिरहें। ७ असार ०७६ का दिन बिहानै काठमाडौंको नयाँ बसपार्कमा पुगें। त्यहाँ देबेन्द्र बस्न्यात दाइसँग भेट भयो। बिस्तारै कलंकी पुग्यौं। त्यहाँबाट भादगाउँले दाइहरू चढ्नु भयो। मुग्लिनबाट सागर उदास र नारायणगढबाट भूपिन र गनेस पौडेल थपिए। हाम्रो यात्रा नेपालगन्ज सोझियो। राति  मात्र नेपालगन्ज पुग्यौं।

यात्राको दोस्रो दिन जुफाल उड्ने कुरा थियो। तर, पानी धेरै परेकाले जहाज उडेन। त्यो दिन पनि नेपालगन्जमै बस्यौं। गर्मी छल्न दिनभर एसी रुममा बस्यौं। दिउँसो ३ बजेतिर दाजुहरू भूपिन, अभय श्रेष्ठ, दीपेन्द्रसिंह थापा र म बजार घुम्न निस्कियौं। होटलबाट एउटा अटो चढेर हामी सरासर बागेश्वरी मन्दिर पुग्यौं। देवीको दर्शन गरेपश्चात् तलाउमा पुग्यौं। त्यहाँ शिवजीको अनौठो मूर्ति रहेछ–सेतो रंगको नाकमुनि जुँगा भएका। जुँगे महादेव यसअघि देखेको थिइनँ। बागेश्वरी र महादेव दर्शनपछि हामी सीमावर्ती रुपेडिया बजार घुम्यौं। राति फर्केर त्यही होटलमा बस्यौं। सपनामा पनि फोक्सुन्डोमा डुलेकै देखें मैले।

यात्राको तेस्रो दिन हवाई कम्पनीले हामीलाई जुफाल उड्ने टिकटै दिएन। उसले आफ्नो जहाज जुफाल होइन, सिमकोटतिर उडायो। त्यसैले हामीले सडक यात्राबाट डोल्पा जाने निर्णय ग¥यौं। जाजरकोट हुँदै रुकुम (पश्चिम)को राडीज्यूला जाने बसमा चढ्यौं।

सुर्खेतको छिन्छु कटेपछि भेरीको तिरैतिर गाडी कुद्यो। वरपरका डाँडामा आँखा डुलाउँदै हुइँकिरहें म। राडी पुग्नुभन्दा वरै ओर्लेर हामी जीपमा तल्लु बगरसम्म गयौं। भोलिपल्ट विप्लव कामरेडले नेपाल बन्द घोषणा गरेका थिए। त्यसैले बिहान ४ बजे नै उठेर जीपमा निस्कने कुरा भयो। चौथो दिन अँध्यारैमा हामी जीपमा बस्यौं। ठाउँठाउँमा पुल बनिनसकेकाले जीप परिवर्तन गर्दै दिउँसो सुलिगाड पुग्यौं। सुलिगाड पुग्नुअघि हामीले डोल्पाको प्रख्यात त्रिपुरा सुन्दरी माईको दर्शन ग-यौं।

फोक्सुन्डो काव्य–यात्राबाट फर्केदेखि तन र मन दुवै डोल्पातिरै बरालिएका छन्। बिहान÷बेलुका फोक्सुन्डोका चित्रहरूमा रंग भरिरहेकै छु। केही दिनपछि कन्सेप्ट नेपालले काठमाडौंमा मेरा चित्रहरूको प्रदर्शनी गर्दै छ।

गएको मंसिरदेखि डोल्पा सदरमुकाम दुनै बजार सडक सञ्जालसँग जोडिएको रहेछ। तर, कच्ची बाटोमा पुल नहुँदा सास्ती खेप्नु प¥यो। त्यो दिन हामी रुपगाडसम्म जीपमा गयौं। त्यहाँबाट अलिक अघि बढेर दुनै जाने बाटो छाड्यौं र शे–फोक्सुन्डो राष्ट्रिय निकुन्जतिर लाग्यौं। सुलिगाड तरेर हामी दिउँसो साँढे ३ बजेतिर निकुञ्जको टिकट काउन्टरमा पुग्यौं।
काठमाडौँको सिधा बाटो हिँडिरहेको बानी त्यहाँको उकालीमा गारो भयो। टिकट काउन्टर सामुन्नेको बोर्डमा फोक्सुन्डो पुग्न १२ घन्टा लेखिएको थियो। तर हामीलाई ठ्याक्कै २० घन्टा लाग्यो। हामी पदयात्राको पहिलो दिन राति ८ बजे स्याङ्ता पुगेर बस्यौं। होटल भवनको एकातिरको भित्ता ढुङ्गाको थियो। सायद १० किलो तौलको झोला बोकेकाले होला, सारै थकाइ लागेको थियो।

स्याङ्तामा फोनको टावर देखिएन। त्यहाँबाट फोक्सुन्डो नपुगञ्जेल फोनको राम्रो टावर आएन। मोबाइल फोन अफ गरे जस्तै भयो। घरका मान्छेहरूसँग कुरा गर्न नपाउँदा मन खिन्न हुन्थ्यो तर फोक्सुन्डो सम्झिँदा एकैछिनमा मन ठेगानमा आइहाल्थ्यो।

हामी बिहानको ब्रेकफास्ट खाएर स्याङ्ताबाट अगाडि बढ्यौं। त्यहाँ हामीले लघु जलविद्युत् गृह देख्यौं। अघिल्लो दिनका तुलनामा आजको यात्रा अलिक सहज भयो किनकि हामीले केही सामान स्याङ्ताकै होटलमा छाडेका थियौं। हिजोभन्दा आज बाटो अलि सकसपूर्ण थियो। उकालो बढ्दै जाँदा पाइला सुस्तसुस्त हुन थाले।

आकाश हेर्न पनि ठाडो घाँटी लगाएर माथि हेर्नु पर्ने भयो। दुवैतिर ठूलठूला पहाड थिए। फोक्सुन्डो खोलाको आवाज कानमा ठोक्किरहेकै थियो। कहिले सुनसान जंगलमा, कहिले उकालो त कहिले ओरालोमा, अनि कहिले खोलाको किनार त कहिले भिरैभरि हिँड्यौं हामी।

त्यहाँको भूदृश्य निकै चित्ताकर्षक लाग्यो। मलाई क्यानभासमा उतार्नु थियो सबै चित्र। त्यसैले पहिला मनको क्यानभासमा सजाएँ भूदृश्यहरू। त्यतिले नपुगेर स्मार्ट फोनभरि फोटो खिच्दै हिँडे म। हामीले -याँचीमा लन्च खायौं  र यात्रालाई पुनः अघि बढायौं। थकाइले चुर भएर हिँड्न सक्ने अवस्था थिएन तर फोक्सुन्डोको मनमोहक तस्बिर आँखामा राखेर उकालिरहें। उकालिरहें। त्यसमाथि देबेन्द्र दाइले बेलाबेलामा हौसला बढाइरहनु हुन्थ्यो।

हामी चुनुवार पुग्दा साँझको ६ बजेको थियो। कोठामा झोला बिसाएर भान्छामा केहीबेर आराम गरेर डिनर पछि बेलैमा सुत्न गइयो। नयाँ कुराचाहिँ त्यहाँ चौंरीको मासु चाख्न पाइयो। हाम्रो यात्राको छैटौं दिन आयो, आज हामी फोक्सुन्डो दर्शन गर्ने छौं। चुनुवारबाट तीन घन्टाको ठाडो उकालो चढ्नु पर्ने रहेछ। निकै गारो भयो। बिहानै खाली पेटमा उकालो हिँडेको मान्छे, आराम गर्ने बेलामा बदाम खाइदिएँ। त्यसैले मेरो पेट दुख्यो। उल्टी पनि भयो। अमृत दाइ आत्तिनु भयो मलाई हाई लाग्यो कि भनेर। मैले बदामले हो भनेपछि उहाँलाई पनि अलिकति राहत भयो।

बिस्तारै मलाई पनि सहज भयो। र माथि झरना भ्यूप्वाइन्टसम्म जान पनि सहज भयो। त्यहाँ पुगेपछि बल्ल फोक्सुन्डोको मुहार देखियो र त्यहाँबाट बग्ने पानीले बनाएको झरना निकै ठूलो रहेछ। यति सुन्दर दृश्य देखेपछि तीन घन्टाको ठाडो उकालोको थकान बिर्सिएँ।

भ्यू पोइन्टबाट करिब एक घन्टा हिँडेपछि हामी रिग्म गाउँमा पुग्यौं। फोक्सुन्डो किनारको गाउँ जहाँ होटल सुविधा छ। त्यहाँको हिमालयन होटलमा झोला राखेर म चित्र बनाउने सामान बोकेर फोक्सुन्डोतालतिर कुदें। होटलबाट पाँचै मिनेटमा तालमा पुगें। त्यहाँ पुगेर चारैतिर आँखा घुमाएँ। नीलो जस्तो देखिने तर हलुका हरियो रंगको तालको पानी देख्दा कार्पेट ओछयाएजस्तै लाग्यो। वरपरका डाँडा कार्पेटमाथि ढुङ्गा जस्तै देखिन्थे। मचाहिँ चौरमा बसेर कागजमा रंगले फोक्सुन्डोलाई उर्तान थालें। करिब १ घण्टामा सिंगो ताललाई क्यानभासमारूपी कागजमा उतारेपछि बल्ल आनन्द आयो। यति दिनको मेहनतको फल बल्ल मिल्यो।

मध्यान्ह १२ बजिसकेको थियो। पेटले खाना सम्झियो। त्यसैले होटलमा फर्किएँ। खानापछि आराम ग¥यौं। दिउँसो २ बजे ताल किनारमा एउटा कार्यक्रम गरियो। हामी सबै त्यतै लाग्यौं। त्यहाँ हाम्रो यात्राको आयोजक कन्सेप्ट नेपालले स्थानीय लोकसंस्कृतिकर्मीहरू होइसेर डोल्मा बैजी, नाम्दाक लामा, निमा लातार बैजी र सेम्दुक आङ्क्याल रोकायालाई जनही १० हजार रुपैयाँसहित फोक्सुन्डो काव्य सम्मान प्रदान ग-यो।

उनीहरूका विषयमा शिक्षासेवी सेम्दुक लामाले जानकारी गराए। यसरी गाउँघरमा बसेर साधना गरिरहेका भुइँमान्छेहरूको सम्मान गरिनु राम्रो काम हो। त्यही कार्यक्रमको अन्त्यमा कविहरू अभय श्रेष्ठ, भूपिन, सागर उदास, हेमन्त विवश, दीपेन्द्रसिंह थापा, गनेस पौडेल र हेमन यात्रीले आआफ्ना कविता सुनाए। मैले चाहिँ त्यही अघि बनाएको फोक्सुन्डोको चित्र प्रदर्शन गरें। साथीहरू चन्द्र काफ्ले, गुरिल्ला (सुरेन्द्र राना), कमल खत्री र विष्णुप्रसाद देवकोटाचाहिँ सबै कार्यक्रम क्यामेरामा कैद गरिहेका थिए। 

कार्यक्रमपछि हामी फिल्म क्याराभान हिमालयमा याक खसेको ठाउँ हेर्न गयौं। साथमा थिए दाजुहरू भूपिन, हेमन्त र अभय। शे–गुम्बा जाने बाटोमा पर्दो रहेछ त्यो ठाउँ। सारै साँगुरो र डरलाग्दो बाटो ! चट्टान खोपेर बनाइएको।
बेलुका होटलमा होटलका साहुजी एवं वडाध्यक्ष निमा लामा, शिक्षासेवी सेम्दुक लामा र मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष फुर्वा तेन्जिङ बुढासँग हामीले फोक्सुन्डोको पर्यटनबारे विचार विमर्श ग¥यौं। धेरै कुराको जानकारी लियौं। 

अर्को दिन, फोक्सुन्डो छोड्नुअघि हामी थासुङ छोलिङ गुम्बा दर्शन गर्न गयौं। बोन धर्मको पुरानो गुम्बा रहेछ। खासमा डोल्पालाई ‘ल्यान्ड अफ बोन’ भनिँदो रहेछ। त्यसो भन्नुमा कारण छ त्यो के भने डोल्पामा तीन दर्जन जति बोन गुम्बा छन्।

गुम्बामा पुग्दा मनमा शान्ति छायो। गुम्बामा बोन धर्मका प्रवर्तक तोन्पा शेन्राव मिवोका मूर्तिको दर्शन ग¥यौं हामीले। त्यहाँका लामाले हामीलाई बोन धर्मबारे बताए। गुम्बाबाट फर्केर खाजा खाईवरी हामी ओरालो झ-यौं। चुनुवारभन्दा तल साइजलमा तापिरिचा माविमा रोकियौं। शिक्षासेवी लामाको सक्रियतामा खुलेको विद्यालयमा भाइबहिनीले हाम्रो स्वागत गरे। उनीहरूले नाचगान देखाए। हाम्रो टोलीका कविज्युहरूले आआफ्ना कविता सुनाए। मैले पनि फोक्सुन्डोको चित्र प्रदर्शन गरें।

त्यहाँबाट -याँची पुगेर खाना खायौं। र साँझ स्याङतामा पुग्यौं। भोलिपल्ट दुनै घुम्ने र जुफाल गएर बस्ने कुरा भयो। जुफालमा एयरपोर्ट सुविधा रहेछ। बिहान खाजा खाएर हिँड्ने क्रममा म दाजुहरूभन्दा धेरै अगाडि भएछु र सुलिगाड पुगेर साथीहरूलाई पर्खिएँ। घन्टौं पर्खिंदा पनि साथीहरू आइपुगेनन्। त्यहाँ ड्युटीमा रहेका नेपाली सेनासँग कुराकानी गरें। उनले साथीहरू अर्को बाटो दुनै पुगे कि भन्ने अनुमान लगाए। त्यसैले म दुनै बजार घुम्न गएँ। त्यहाँ तीन घन्टा बिताएँ। शनिबार भएकाले होला सुनसान लाग्यो दुनै बजार।

दुनैमा तीन घन्टा बिताउँदा पनि कसैसँग सम्पर्क भएन। बजार माथिबाट हेर्दा गाईभैँसीको थुन जस्तै देखिने भएकाले बजारको नाम ‘दुनै’ राखिएको रहेछ। दुनैमा त्यत्रो बेर बस्दा पनि कसैसँग सम्पर्क नहुँदा नरमाइलो लाग्यो। आखिर जे भए पनि आजको बास जुफलामै त हो, उतै भरे भेट होला भनेर जुफालतिर निस्किएँ।

गाडी चढ्ने ठाउँ रुपगाड पुगेपछि करिब साँढे ५ बजेतिर अमृत दाइको फोन आयो। माथि टेलिफोनको टावर नभएकाले बीचमा सम्पर्क हुन नसकेको रहेछ।  बल्ल मन शान्त भयो। साँझ ७ बजे हाम्रो पुनः भेट रुपगाडमा भयो। त्यो दिन ७ घण्टा जस्तो म एक्लै भएँ। यद्यपि स्थानीयसँग घुलमिल हुन पाइयो त्यही खुसीको कुरा भयो। त्यसले गर्दा मलाई त्यहाँको बारेमा बुझ्ने ठूलो मौका मिल्यो।

बेलुका जीपमा हामी जुफाल पुग्यौं। डाँडामा रहेछ जुफाल बजार। डरलाग्दो भीरको बाटो उकालो चढ्दा मनमा डल लागेन किनकि अँध्यारो भएकाले हामीले वरपर देख्नै पाएनौंं। हिँड्ने दिन सकिएकाले ज्यानलाई राहत भयो। चर्को हिँडाइले खुट्टामा फोका उठिसकेको थियो। बिहान उठ्नेबित्तिकै हामीले आकाशतिर हे¥यौं। बादले धुम्म ढाकिएको थियो। त्यो दिन हामीलाई लिन नेपालगन्जबाट जहाज आएन। एक प्रकारले फाइदा नै भयो जुफाल घुम्न पाइयो। त्यहाँ धान, मकै, सिमी, फापर र ओखर फले रहेछ। स्याउका बुटा पनि देख्यौं हामीले।

त्यो दिनको आरामले जीउले राहत पायो। भोलिपल्टचाहिँ हामीलाई लिन नेपालगन्जबाट समिट एयरको जहाज आयो। बडो खुसीका साथ हामी जहाजमा चढ्यौं। त्यहाँबाट नेपालगन्ज झरेर साँझ रात्रि बस समातेर काठमाडौं फर्कियौं।
यसरी डोल्पोको एकसरो भ्रमणले धेरै कुरा सिकायो। त्यहाँको वातावरण, वेशभूषा, चालचलन, भाषा आदि कुरा सबै नयाँ थिए मेरा लागि।

यात्रा सफल भयो। उताबाट फर्केपछि मनमस्तिष्क र क्यानभासमा फोक्सुन्डोकै चित्र सल्बलाइरहेका छन्। अबको केही समयपछि काठमाडौंमा फोक्सुन्डोको चित्र प्रदर्शनी गर्ने तयारी गरिरहेको छु। प्रदर्शनीमा फेरि काव्य यात्री र शुभेच्छुकहरूसँग सहकर्य हुने आशामा छु।

प्रकाशित: ११ श्रावण २०७६ ०२:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App