coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

विपक्षीको हारले नेपाललाई राहत

काठमाडौं – ट्वान्टी–२० विश्वकप छनोट एसिया फाइनलमा शीर्षता हासिल गर्दै ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटमा पुग्ने नेपालको सम्भावना कठिन भएको परिस्थितिमा कतार र मलेसियाको हारले नेपाललाई फाइदा पुगेको छ।

शुक्रबारका खेलमा पहिलो खेलमा कतारले कुवेतसँग र मलेसियाले सिंगापुरसँग हार बेहोरेपछि आगामी खेलमा नेपालको सहज जितले पनि ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटमा पुग्ने सम्भावना सहज बनेको हो। यसअघिको पहिलो खेलमा कतारसँग अपत्यारिलो हारले अघिल्लो चरणमा पुग्ने नेपालको सम्भावना कठिन बनेको थियो। साथै मलेसियाको पनि लगातार जितले नेपालको सम्भावना कठिन बन्ने थियो। तर, मलेसियाको सिंगापुरसँगको हारले नेपाललाई तत्काललाई केही राहत मिलेको छ। सिंगापुरको इन्डियन एसोसिएसन मैदानमा सम्पन्न निकै रोमाञ्चक खेलमा कतारलाई कुवेतले १० रनले स्तब्ध बनाउँदै जारी ट्वान्टी–२० विश्वकप छनोट एसिया फाइनलमा पहिलो जित दर्ता ग¥यो।

कतारका कप्तान तमुर सज्जादले ४६ रन र नौमन सरवारले ३४ रनको अविजित योगदान दिए जित दिलाउन सकेनन्। सरवारले २० बलमा ६ चौका र १ छक्का तथा सज्जादले ३२ बलमा ३ चौका र २ छक्का प्रहार गरे। कतार एक समय १५.३ ओभरमा १२८–५ को अवस्थामा थियो। अन्तिम २ ओभरमा ४५ रन आवश्यक हुँदा सरवारले १९औं ओभरमा ३ चौका प्रहार गरेका थिए।

अन्तिम ओभरमा जित्न ३१ रन आवश्यक हुँदा पहिलो तीन बलमा चौका, चौका र छक्का प्रहार गर्दै सरवारले जित दिलाउने प्रयास गरेका थिए। तर, अन्तिम ३ बलमा १६ रन आवश्यक हुँदा कुवेतका बलर मोहम्मद एहसानले चौथो र पाँचौं बलमा मात्र १÷१ रन दिए। अन्तिम बलमा सरवारले चौका प्रहार गरे पनि कतार १० रनको हार बेहोर्न बाध्य भयो। कुवेत बलर शैराज खान र जनदु हमुदले २/२ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङ गरेको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो। उसका लागि अद्नान इद्रेसले सर्वाधिक ५६ रन बनाए। प्लेयर अफ द म्याच समेत चुनिएका उनले ३२ बलमा ८ चौका र २ छक्का प्रहार गरेका थिए। कप्तान मोहम्मद कासिफले ५ छक्का र १ चौका मदतले ४३ रन बनाए।

ओपनर मित भाभसारले ३५ रन, आर सान्दारुवानले २६ र उस्मान वाहिदले अविजित १८ रन बनाए। कतार बलर नौमन सरवार र इकबाल हुसेनले २/२ विकेट लिए। अर्को खेलमा सिंगापुरले मलेसियालाई ८ विकेटको हार चखाएको थियो। ९२ रनको लक्ष्य पछ्याएको सिंगापुरले ४० बल अगावै ८ विकेटको जित दर्ता गरेको थियो।

विजेता बन्न समीकरण
शनिबारको जित्नैपर्ने कुवेतविरुद्धको खेलमा नेपाललाई निकै दबाब छ। किनकी नेपाल स्तब्ध भएको कतारलाई हार चखाउँदै कुवेतले आफू बलियो रहेको साबित गरेको छ। पहिलो खेलमा मलेसियासँग ४२ रनले पराजित कुवेतले सिंगापुरसँगको दोस्रो खेलमा वर्षाका कारण अंक बाँडेको थियो।

कतारविरुद्धको जितसँगै कुवेत ३ खेलबाट ३ अंकका साथ दोस्रो स्थानमा उक्लिँदा शीर्षको सिंगापुरको ३ खेलबाट २ जित र १ बराबरीसहित ५ अंक छ। सिंगापुरको नेट रनरेट २.३३५ र कुवेतको –०.८ छ। अंकतालिकामा नेपाल २ खेलबाट समान १ जित र १ हारसहित तेस्रो स्थानमा छ। तीन खेलबाट दुई हार बेहोरेको मलेसिया २ अंकका साथ तेस्रो स्थानमा छ।

नेपालले शनिबार कुवेतसँग खेल्दा मलेसिया र कतारले प्रतिस्ठाको लडाईका लागि एकअर्काविरुद्ध चुनौती प्रस्तुत गर्नेछन्। साथै आइतबारको खेलमा सिंगापुरलाई हराउन सके नेपालले अक्टोबरमा युएईमा आयोजना हुने ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटको यात्रा तय गर्नेछ। यस प्रतियोगितामा आयोजक सिंगापुरसहित नेपाल, कतार, कुवेत र मलेसिया छन्। शुक्रबारको खेलमा पहिलो खेलमा कतारले कुवेतसँग र मलेसियाले सिंगापुरसँग हार बेहोरेपछि आगामी खेलमा सहज जितले पनि ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटमा पुग्ने नेपालको सम्भावना सहज बनेको छ।

प्रकाशित: ११ श्रावण २०७६ ०२:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App