७ वैशाख २०८१ शुक्रबार
अन्य

गण्डकी तीरमा नेपाली मन्दिर

कृष्ण अधिकारी
यही ०७६ को जेठमा भारत यात्राको साइत जु-यो। हाम्रो टोलीमा धार्मिक चेत भएका सदस्यको संख्या बढी थियो, त्यसैले धार्मिक क्षेत्र पुग्ने निधो गरियो। जोगबनीबाट बेलुका रेल चढेर बिहान पटना पुगियो। टेम्पो चढेर दश किलोमिटर जाँदा ‘हरिहरनाथ’ पुगिँदो रहेछ। गण्डक किनारमा रहेको हरिहर क्षेत्र पुग्यौं हामी। हरिहरनाथ मन्दिरका पुजारीले आठ जनाको हाम्रो टोलीलाई पेइङ गेष्टका रुपमा राखे। उनकी धर्मपत्नी, दुई छोरा र एक छोरीले हाम्रो खुबै खातिरदारी गरे।
नेपाली मन्दिरको कुरा गर्नु भन्दा पहिले हरिहरनाथको कुरा गरौं। हरि भनेको विष्णु, हर भनेको महादेव। एउटै वस्तुमा एकातिर हरिको र अर्को तर्फ हरको आकृति भएको हुँदा हरिहर भनिएको। यस क्षेत्रलाई हरिहर क्षेत्र भनिन्छ। यहाँबाट वग्ने नदीलाई गण्डकी भनिन्छ  र नारायणी पनि भनिन्छ। नेपालबाट बग्ने पवित्र शालिग्राम नदीलाई हरिहर क्षेत्रमा गण्डकी र नारायणी दुवै भनिँदो रहेछ।

बराह पुराणमा मुक्तिनाथ भनेको मुख, नारायणघाट, नाभी, त्रिवेणी जंघा र हरिहरनाथ हरिका पाउ उल्लेख गरिएको छ। यी मध्ये मुक्तिनाथ, नारायणघाट र त्रिवेणी नेपालमा पर्छ भने हरिहरनाथ विहारमा। यस प्रकार पौराणिक ग्रन्थ र भारतीय धर्मभीरुको मान्यतामा समेत नेपालको भूमि र नेपालबाट बग्ने नदीहरुको महत्व सर्वाधिक छ।

करिब ९ सय वर्ष अगाडि निर्माण भएको नेपाली मन्दिर संरक्षण अभावमा मन्दिर जीर्ण बन्दै छ।

अब कुरा गरौं नेपाली मन्दिरको, बाह«ौ शताब्दिमा नेपालका सुवेदार काजी हिरालाल शाहले बनाएको नेपाली मन्दिर। गण्डकीको पश्चिमी किनारामा हरिहरनाथको मन्दिर छ भने पूर्वी किनारको कौनहारा घाटमा नेपाली मन्दिर। यसको केही उत्तर तर्फ गण्डकी नदीमा पूल भए पनि यहाँ भने डुङ्गाबाट तरेर नेपाली मन्दिर पुग्नु पर्छ। यहाँबाट केही किलोमिटर दक्षिण पुगे पछि गण्डकी नदी पश्चिमोत्तरबाट दक्षिण पूर्व बगेको गंगा नदीमा मिसिन पुग्छ।

नेपाली मन्दिर कलाकारिता र पुरातात्विक दृष्टिले महत्वपूर्ण छ। प्यागोडा शैलीको मन्दिरमा शिवलिंग स्थापित छन्। मन्दिरको छत चारैतिर काठका पट्टी र ढोकामा काष्ठ कलाको अद्भूत नमूना देख्न पाइन्छ। मन्दिरका भित्तामा देवीदेवताका चित्र देख्न पाइन्छ। ती सबै काठमा बनाइएका कलाकृति हुन्। त्यो भन्दा तल सम्भोगरत मानव आकृतिका कला कुँदिएका छन्।

सम्भोगका चौरासी आशन दर्शाइएका ती कृतिमा भिन्न विशेषता के देखिन्छ सम्भोगरत युगल जोडीको छेउमा वा पछाडि तेस्रो मानव अस्तित्व खडा गरिएको छ। त्यो तेस्रो अस्तित्व, बालबच्चा, महिला वा पुरुष छ। एउटा चित्रमा त सम्भोगरत स्त्री शिशुलाई स्तनपान पनि गराई रहेकी छन्।

करिब ९ सय वर्ष अगाडि निर्माण भएको यो ऐतिहासिक मन्दिर नेपालीको प्रतिष्ठासँग जोडिएको छ। बिडम्बना, संरक्षणको अभावमा मन्दिर जीर्ण बन्दै छ। मन्दिरको गारोका इट्टा निस्किरहेका छन्। काष्ठकला मक्किएका छन्। आसपासका अरु मन्दिर भने संरक्षित छन्।    


          


                  

 


                          

 

 

प्रकाशित: ११ श्रावण २०७६ ०२:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App