फोनको घन्टी बज्यो। उनले फोन उठाइन्। र, साथी संस्थाका कर्मचारीको निर्देशनअनुसार फोनमा प्रतिक्रिया दिइन्। फोनमा भएको कुराकानीको विस्तृत जानकारी गराइन्। टेबलको फोन र फाइलहरू मिलाउँदै, सफा गर्दैछिन् उनी। उनी अर्थात् रमिता नेपाल नाम परिवर्तित। केही दिनअघि बाग्डोलमा रहेको साथी संस्थामा देखिएको दृश्य हो यो। रमिता साथी संस्थाकी कार्यालय सहायक हुन्। साथीसँगको उनको सहकार्य काठमाडौं आएको केही वर्षयतादेखिकै हो।
पढाइ पूरा गर्न नसक्नु एउटा समस्या अनि नपढेकै कारण काम खोजीमा हिँड्नु अर्को समस्या। यी यस्तै समस्याको समाधान बन्दै आएको छ, काठमाडौं सहर। रमिता काठमाडौं आउनुको कारण पनि यहीँ हो। दुई पटक एसएलसी दिँदा पनि उत्तीर्ण हुन नसकेपछि, उनले फेरि परीक्षा दिने आँट गरिनन्। पुनः परीक्षा दिनुभन्दा काम गर्न सहर जाने मनस्थिति बनाएर गाउँका साथीहरूसँगै काठमाडौं आइन्।
काठमाडौं ठूलो सहर, यहाँ कामहरू सजिलै पाइन्छ भन्ने धेरैको सोचाइमा हुन्छ। उनको पनि त्यस्तै थियो। तर, उनले वास्तविकता र व्यवहारमा निकै फरक पाइन। गलैँचा कारखानामा काम गरेको सुरुकै दिनमा उनले कामबाट हरेस खाइन्। काम गर्ने ठाउँ र त्यहाँका मानिसका व्यवहारले उनलाई अर्को कामको खोजी गर्न बाध्य बनायो। केही दिनमै गारमेन्टमा काम गर्ने अवसर मिल्यो। सुरुमा धागो काट्ने काम गर्दै गएपछि फाइनल चेकरको काम गरिन्। उनलाई नयाँ ठाउँमा घुलमिल हुन केही समय लाग्यो। बिस्तारै साथीभाइहरूसँग नजिक हुन थालिन्। अरू साथीभन्दा कारखानाकै ठेकदार उदयनारायण मिश्रसँगको उनको मित्रता अलि फरक थियो। दुईबीच आत्मीयता बढ्दै गयो। मिश्र उनीसँग भेट्न खोज्थे, कुरा गर्न खोज्थे। कहिले घरसम्म पु¥याइदिन्छु भन्थे त कहिले कोठामा लैजान समेत अग्राह गर्थे। तर, उनी अनेक बहाना गरेर मिश्रको प्रस्तावलाई टार्थिन्।
सधैँझैं त्यस दिन पनि उनी कार्यालयमा आफ्नो काम गर्दै थिइन्। विशेष कामले बाहिर जानुपर्ने भयो भन्दै मिश्रले उनलाई एउटा कोठामा लिएर गए। मिश्रले उनलाई जबर्जस्ती गरेर यौन सम्पर्कमा बस्न बाध्य बनाए। त्यसपछि उनीहरूसँगै बस्न थाले। केही समयपछि रमिता बिरामी परिन्, अस्पतालको रिपोर्टले उनी गर्भवती भएको देखायो। मिश्रले ‘एर्बोसन’ गर्न भनेर उनलाई अनेकथरि औषधि खुवाउन थाले। ‘पेटमा बच्चा बसिसकेको थियो,’ रमिता सम्झिन्छिन्, ‘अबोर्सन गर्नुपर्छ भनेर उसले सधैँ भन्थ्यो। बच्चा फाल्नको लागि एकैचोटि १५ वटा औषधि २ पटक खाएकी थिई।’
उनलाई औषधि धेरै पटक खुवाउँदा पनि औषधिले काम गरेन, उनको गर्भ रह्यो। कारखानामा यो विषयले ठूलै हंगामा मच्यायो। दुवैले काम छोडे। उनको प्रसूतिको समयमा मिश्र बाहिर थिए। अस्पताल पु¥याइएपछि मात्र पुगे। सुत्केरी आमा–छोरीलाई छाडेर मिश्र घर गए। मिश्र घर गएकै बेलामा यता रमिता र छोरी बिरामी परे। काठमाडौंमा उनीहरूको आफ्ना भन्ने कोही थिएनन्, छरछिमेकले उनीहरूलाई अस्पताल लगे। केही दिनपछि मिश्र उनीहरूलाई भेट्न अस्पताल पुगे, पूरै योजनासहित। रमिता निदाएको बेलामा उनलाई थाहै नहुने गरी उनको परिवार नियोजन गराइसकिएको रहेछ। ‘जिउ पूरै दुखेको, भारी भएको महसुस भयो,’ घटनाबारे उनी सुनाउँछिन्, ‘केही समयपछि पूरै होसमा आउँदा नर्सले नाकमा केही सुघाँइदिएको जस्तो लाग्छ, त्यसपछि आफूलाई केही थाहा छैन। पछि मात्र थाहा पाए यो सब।’
त्यसपछि रमिताको स्वास्थ्यमा अर्को समस्या देखियो। उनी मानिसक रोगी बनिन्। एक दिनमै ३० चक्की औषधिसमेत खान्थिन् उनी। अब आउने दसैंमा घर लैजाने, सिन्दुर पोते गर्ने, घरमा भिœयाउने, छोरीको जन्मदर्ता बनाइदिने जस्ता झुठा आश्वासन दिएर मिश्रले रमितालाई मक्ख बनाइरहेका थिए। तर, रमितालाई मिश्रको घर कहाँ हो भन्नेसमेत थाहा थिएन। एक–दुई पटक कुराकानी गर्दा घर जनकपुरमा छ भन्ने कुरा मात्र उनलाई सम्झना छ। केही महिनापछि मिश्र फेरि घर गए। तर, यो पटक उनी फर्किएनन्। आमा–छोरी फेरि बिरामी भए। यो पटक भने २ महिना पूरै बेहोस थिइन्, पाटन अस्पतालमा ३ महिना भर्नापछि अस्पतालले नै उनीहरूको संरक्षणको लागि मदर टेरेसा, माइती नेपाल, सिंहदरबारको बग्गीखानामा पनि पठाइयो। तर, मानसिक असन्तुलनले गर्दा उनी कतै पनि बस्न सकिनन्। केही दिन बच्चा बोकेर सडकमै बसिन्।
लामो समय कठिन परिस्थितिबाट गुज्रदैँ गर्दा उनको जीवनमा एउटा नयाँ साथी आयो, जुन साथीले उनलाई परमार्श गराउनुको साथै आमाछोरीको संरक्षण ग¥यो। ४ वर्ष उनीहरूको स्याहारसुसारपछि रमिता पहिलाजस्तै भइन्। उनमा देखिएको परिवर्तनले उनलाई अझ सशक्त र आत्मनिर्भर बनाउन व्यक्तित्व विकासको तालिम दिइयो। तालिमपछि उनमा पनि अझै धेरै परिवर्तनहरू देखिन थाले। उनको क्षमता थप वृद्धि गर्न उनलाई संस्थाले कार्यालय साहायक रूपमा राख्यो। अहिले आफूले जस्तै समस्या भोगेका अरू महिलाहरूलाई पनि सहयोग गर्दै छिन्। विशेष गरेर बिरामी भएका अरू महिलाहरूलाई प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिन्छिन्।
बिहान ९ बजेदेखि साँझ ५ बजेसम्मै कार्यालयमा उनी व्यस्त हुन्छिन्। काममा व्यस्त हुँदा उनी विगतका कुराहरूलाई बिर्सन्छिन्। ‘अहिले त छोरी पनि ठूली भइसकी, मलाई सम्झाउन सक्ने भई,’ मुस्कुराउँदै भन्छिन्,‘ मम्मी धेरै पिर नगर्नुस्। तपाईंको लागि म छदैँ छु नि भन्छे, यति सुन्दा पनि मन आनन्द हुन्छ।’ अहिले काम गर्न थालेपछि उनी नयाँ जीवन पाएकोझैँ महसुस गर्न थालेकी छन्। काम गर्दाको आफ्नो अनुभव सुनाउँछिन्, ‘काम गर्न थालेपछि धेरै कुरा सिक्न पाइने रहेछ। ठूला व्यक्तिहरूसँग चिनजान हुने रहेछ। यहाँ काम गर्दा छुट्टै किसिमको आनन्द हुन्छ, रमाइलो लाग्छ।’ तर, उनलाई अहिले एउटै चिन्ता छ– छोरीलाई कसरी नागरिकता दिलाउने ?
सीपले भरेका जिन्दगीका बुट्टाहरू
सीता तामाङ
हातमा सियो धागो अनि छेउमै रहेको बटुकोमा सितारा र पोतेहरू छन्। सियोले एकपछि अर्को गर्दै पोते र सिताराहरू टिप्दै बुट्टा भर्दै छिन् उनी। उनी अर्थात्, सिता तामाङ (नाम परिवर्तन), मखमलको जुत्ता बताउँदै छिन्। एउटा सानो कोठाभित्र गोलो आकारमा बसेका छन् उनीहरू। अरु १७ जना महिलाहरू पनि सीतासँगै जुत्ता बनाउने सीप सिक्दै छन्। मखमलका कपडालाई विभिन्न आकार दिने, बुट्टा भर्ने काम सिक्दै छन्। हेर्दा, जिन्दगीकै बुट्टा भरेजस्तै देखिन्छ।
केही समयअघिसम्म, सीतालाई आफ्नै जीवनदेखि विरक्त लाग्थ्यो। काम गर्ने उमेर, जोश र जाँगर पनि नभएका होइनन्, सबै मरेर गए। उनलाई लाग्थ्यो– आफ्नो र परिवारको लागि केही गर्नुपर्छ। मनमा थुप्रै रहरहरूले डेरा जमाउँदै थिए, रहरका नयाँ टुसा उम्रदै थिए, नयाँ पालुवा लाग्दै थिए। तर, पालुवा लाग्नै नपाई मरेर गयो। कारण– केही वर्षअघि उनको जीवनमा सोच्दै नसोचेको घटना घट्यो। उनी परिवारबाटै पीडामा परिन्। आफ्नैले दिएको पीडा सहन नसकेकाले पनि उनी विगतलाई सम्झिन चाहँदिनन्। त्यसैले उनले खुलेर बताइनन्। आफ्नो र छोराको ज्यान जोगाउन काठमाडौँ आउनु उनको लागि बाध्यता थियो।
सुरुमा काठमाडौँको बसाइ उनको लागि कष्टकर भयो। केही समयपछि उनलाई महिला आधारशीला (दि वोमन फाउन्डेसन नेपाल) संस्थाको साथ मिल्यो। उनी संस्थाकै संरक्षण बस्न थालिन्। उनका मुद्दाहरू मिलाउन संस्थाले कानुनी रूपमा सहयोग पनि ग¥यो। त्यसपछि उनको जीवनमा केही परिवर्तन आउन थाल्यो। विगतलाई भुलेर केही नयाँ गर्ने सोचमा थिइन् उनी। सीप सिक्ने पनि औधी रहर थियो उनमा। त्यसको लागि खाँचो थियो अवसरको। खोजी गर्दै जाने क्रममा उनलाई एउटा संस्थाको साथ मिल्यो, जोरपाटी पार्टीछटारमा रहेको ‘दि वोमन फाउन्डेसन नेपाल’, जसले उनलाई सीप सिकाउन मद्दत गर्दैछ। जुत्ता बनाउने उनको रोजाइको पेशा हो। उनले सीप सिकेको धेरै समय भएको छैन, एक महिना मात्र भयो। एक महिनामा उनले जुत्तामा सोल हाल्ने, सिलाउने, बुट्टा भर्ने काम जानी सकिन्।
सीप सिक्न थालेपछि उनमा धेरै परिवर्तन आएको उनका सहकर्मीहरू बताउँछन्। केही नयाँ सिक्ने र गर्ने इच्छाशक्ति भएको उनले बताइरहँदा उनको मुहारमा नयाँ जोश र जाँगर पनि प्रष्टै झल्किन्थ्यो। सिकाइका सुरुका दिन केही असजिलो भए पनि अहिले उनलाई बानी परिसक्यो। आफ्नो अनुभव सुनाउँदै भन्छिन्, ‘सिकेकोमध्ये बुट्टा भर्नचाहिँ अलिकति गाह्रो छ। सिकाउनको लागि सर–म्यामहरू हुनुहुन्छ। साथीहरूले पनि साथ दिनुहुन्छ। बिस्तारै जानिन्छ, अझै १ महिना बाँकी नै छ।’ अहिले उनी आफैमा काम गर्ने आत्मविश्वास पनि बढ्दै गएको छ। सीप सिकेपछि आफूले नयाँ जीवन पाएको महसुस गर्दै छिन्। अबको दिन अझ नयाँ बन्ने उनमा विश्वास पलाएको छ। जुत्ताको सीप सिकिसकेपछि व्यवसायिक रूपमा अगाडि बढ्ने उनले सोच बनाएकी छन्। ‘एक्लैले व्यवसाय गर्न गाह्रै हुन्छ,’ उनले योजना सुनाइन्, ‘साथीहरूसँग सहकार्य गरेर व्यवसाय गर्नुपर्छ। आफूजस्तै महिलाहरूलाई रोजगार दिन मन छ।’ सीपले मानिसलाई सशक्त बनाउँदो रहेछ भन्ने कुरा उनलाई उनको अनुभवले सिकाएको छ।
घर उनको झापा, हालको बसाइ जोरपाटी, पार्टीटार। काठमाडौँमा उनको बसाइ निकै लामो समययताकै हो। तर, उनलाई सम्झना छैन। भन्छिन्, ‘खोई कति वर्ष भयो, ठ्याक्कै थाहा भएन। भयो होला त्यस्तै १८/१९ वर्ष।’ सीप सिक्न उनी बिहान साढे १० बजे नै कार्यालय पुग्छन्। र, ३ बजे फर्किन्छिन्। संस्थाले उनलाई सीप सिकाएको मात्र छैन, उनलाई खाजा खर्चको पनि व्यवस्था गरेको छ।
केही समयअघिका सीताका दिन पट्यारलाग्दा हुन्थेँ। तर, सीप सिक्न थालेपछि उनी काममै रमाउन थालेकी छन्। ‘सीप सिक्दा धेरै रमाइलो हुन्छ,’ अनुभव सुनाउँदै भनिन्, ‘सिक्न आउने सबै महिलाहरू भएकाले पनि गफगाफ गर्दै, एक अर्कामा सिक्दै गर्दा दिन बितेको पनि मेसो पाइँदैन।’
सीप सिक्ने हुटहुटी
कमला चौलागाई
सानो टहराभित्र लस्करै ३ वटा टेबलहरू छन्। टेबलमाथि ओछ्याइएका सेता कपडामा भिन्न भिन्नै रंग भरिँदैँछ। छेउमै एकापट्टि चर्खामा धागो घुमाइँदैछ भने अर्कोतिर भक्लकभक्लक उम्लिएको पानीमा धागोलाई रंगमा पकाइँदै छ। पछ्यौरीको बनाउने काममा भइरहेको छ। त्यहीँ टहरामा भेटिएकी सिन्धुलपाल्चोककी ४३ वर्षीया कमला चौलागाई निकै व्यस्त देखिन्छिन्। उनी स्क्रिन प्रिन्ट गर्दैछिन्। स्क्रिन प्रिन्ट अर्थात् पछ्यौरीमा बुट्टा भर्ने काम।
कमला अहिले स्क्रिन प्रिन्टसम्बन्धी सीप सिक्दै छिन्। ‘दि वोमन फाउन्डेसन नेपाल’ (महिला आधारशीला)ले कमलासँगै अरू १५ जना महिलाहरूलाई यो सीप सिकाइरहेको छ। कमलाले सिक्दै गरेको सीप, रहरको सीप। उनमा नयाँ सीप सिक्ने रहरको हुटहुटी नै छ। अवसर आएपछि नाई भन्दिनन् उनी। यति मात्र नभएर उनलाई फुर्सद पटक्कै मनपर्दैन। कुटुकुटु केही काम गरिरहनुपर्छ उनलाई। त्यहीँ भएर पनि स्क्रिन प्रिन्टसम्बन्धी तालिमको बारेमा आफन्तबाट खबर पाएपछि, उनलाई पनि सिक्ने रहर बढ्यो। स्क्रिन प्रिन्ट उनको लागि एकदमै नयाँ विषय हो। वोमन फाउन्डेसनसँगको सम्पर्कपछि उनले तालिम लिइन्। ६ महिनाको यो तालिममा उनले ४ महिना सीप सिकिसकेकी छन्।
स्वास्थ्यको हिसाबले हेर्ने हो भने उनले धेरै काम गर्नु हँुदैन। उनलाई चिकित्सकले आराम गर्न सल्लाह दिएको छ। उनको पाठेघरको शल्यक्रिया भएको केही महिना मात्र भयो। परिवारका सदस्य पनि उनलाई आराम गर्न आग्रह गर्छन्। तर, उनलाई केही न केही काम गर्नै पर्ने बानी छ। आफ्नै जिद्दीले सीप सिक्दै छिन्। सीप सिक्दा पनि उनी आफ्नो स्वास्थ्यलाई विशेष ख्याल गर्छिन्। घरमाभन्दा पनि संस्थामा समय बिताउन उनी रुचाउँछिन्। कारण बताउँदै उनले भनिन्, ‘घरमा एक्लै बस्नुपर्छ, यहाँ त साथीहरू हुन्छन्। सीप पनि सिकिन्छ, समयको सदुपयोग पनि हुने हुँदा यहाँ धेरै समय यहाँ बिताउन मन पर्छ।’ उनी सीप सिक्न बिहान ११ बजे संस्था पुग्छिन् र सीप सिकेर ३ बजे फर्किन्छिन्।
उनको काम गराइबाट प्रष्टै देखिन्छ, पछ्यौरी बनाउने काम निकै झन्झटिलो छ। तर, उनले पछ्यौरीमा राम्रो भविष्य देखेकी छन्। ‘यो काम धेरै काम गाह्रो हो,’ बनाउने प्रक्रिया देखाउँदै भनिन्, ‘यसमा १६ वटा चरण हुन्छ। सबै चरण मिल्नुपर्छ, एउटा बिग्रियो भने सबै बिग्रिन्छ। एकदम ध्यान दिनुपर्छ। यसमा सबैभन्दा गाह्रो काम भनेको रंग मिलाउने काम।’ यो काम धेरै झन्झटिलो भएकाले पनि व्यवसायिक रूपमा एक्लैले अगाडि बढ्न नसकिने कामदार र प्रशिक्षार्थीहरू बताउँछन्। आफूले सिकेको यो सीप निकै फाइदाजनक भएको र भोलि व्यवसायिक रूपमा काम गर्न नसके पनि रोजगारीका अवसर भने प्रशस्तै भेटिने उनी बताउँछिन्।
अहिलेको चलनचल्तीमा पछ्यौरीलाई सल पनि भन्ने गरिन्छ। जाडो होस् वा गर्मी सबै सिजनमा सल फेसन बनेको छ। त्यसकारण पनि नेपालमा सलको बजार राम्रो देखिन्छ। उनीहरूले बनेको पछ्यौरीको मूल्य धेरै भएकाले पनि नेपालमा यसको बजार राम्रो मानिँदैन। सस्तो पछ्यौरीको मूल्य १ हजार रूपैयाँ रहेको छ। विशेष गरेर जर्मनी, स्वीजरल्याण्ड, अमेरिका, क्यानडा, कोरिया, इटाली, बेलायत जस्ता देशहरूबाट पछ्यौरीका बढी अर्डर आउने र ती देशहरूमै यसको बजार राम्रो भएको उनीहरू बताउँछन्।
प्रकाशित: ११ श्रावण २०७६ ०१:३३ शनिबार