६ वैशाख २०८१ बिहीबार
अन्तर्राष्ट्रिय

नेपाल उडानमा चिनियाँ आकर्षण

बेइजिङ - नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकको संख्या बढ्दै जाँदा चिनियाँ हवाईसेवा कम्पनीको आँखा नेपालमा केन्द्रित हुन थालेको छ। चीनबाट सातामा ७० वटा उडान गर्ने पाँच वर्षअगाडिको समझदारीलाई अद्यावधिक गरेर सातामा ९८ पु-याइएको छ।

चीनबाट सातामा ७० वटा उडान हुने सन् २०१४ को समझदारीमा उल्लेख छ। अहिले भने सातामा ५६ उडान हुँदै आएका छन्। समझदारीमा हस्ताक्षर भएको पाँच वर्षमा नेपालले चीनमा एउटै उडान गर्न सकेको छैन भने चीनले आक्रामक रुपमा नेपालमा उडान थप गर्दै लगेको छ। नयाँ समझदारीअनुसार अब काठमाडौँमा ७ वटा थप गरेर सातामा ७७ वटा बनाएको छ। बाँकी २१ वटा पोखरा र गौतम बुद्ध विमानस्थल भैरहवा तयार भएपछि त्यता उडाउने गरी अनुमति दिने समझदारी बनेको बेइजिङस्थित नेपाली दूतावासका मिनिस्टर सुशील लम्सालले नागरिकलाई बताए। पोखरा र गौतम बुद्ध विमानस्थल निर्माण सम्पन्न भएपछि चीनबाट नेपालमा प्रतिसाता ९८ उडान हुनेछन्। यससम्बन्धी समझदारीमा शुक्रबार हस्ताक्षर भएको हो।

पर्यटन मन्त्रालयअन्तर्गतको हवाई उद्योग व्यवस्थापन महाशाखाका महानिर्देशक सुरेश आचार्यको नेतृत्वमा सातसदस्यीय नेपाली प्रतिनिधिमण्डलले बिहीबार र शुक्रबार चिनियाँ पक्षसँग हवाईसेवासम्बन्धी वार्ता गरेको हो। वार्तामा बेइजिङस्थित नेपाली दूतावासका मिनिस्टर लम्साल पनि सहभागी थिए। चीनका तर्फबाट चिनियाँ नागरिक उड्डयन ब्युरोका उपमहानिर्देशक पाई वन ली नेतृत्वको टोली सहभागी थियो। समझदारीपत्रमा आचार्य र पाईले हस्ताक्षर गरेका छन्।

२०१४ को समझदारीपछि चिनियाँ विमान धमाधम नेपाल उड्न थाले तर नेपालले चीनमा एउटै पनि नियमित उडान गर्न सकेको छैन।

साताको ९८ वटा उडान राख्दा पनि नयाँ चिनियाँ हवाई कम्पनीको माग सम्बोधन गर्न नसकिएको लम्सालले बताए। लम्सालका अनुसार वार्तास्थलबाहिर १३ वटा चिनियाँ हवाई कम्पनीका प्रतिनिधि उपस्थित थिए। उनीहरुले आफूहरु पनि नेपालमा उडान गर्न इच्छुक रहेको भन्दै अनुरोध गरेको लम्सालले जनाए। अहिले चाइना साउदन, चाइना इस्टर्न एयर चाइना, सिचुवान एयरलाइन्स र हङकङबाट ड्रागन एयरलाइन्सले नेपालमा उडान गरिरहेका छन्।

यस्तो अवस्थामा थप १३ कम्पनीले उडान गर्ने अनुमति मागेबाट नेपालमा चिनियाँ पर्यटकको आकर्षण बढ्दै गएको लम्सालले औंल्याए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमताका कारण अनुमति माग्ने सबैलाई उडान भर्न दिन नसकिने उनले बताए।

चीनले नेपाललाई सन् २००२ देखि मात्र पर्यटकीय गन्तव्यका रुपमा लिएको हो। अहिले भारतीय पर्यटकपछि सबैभन्दा धेरै चिनियाँ पर्यटकले नेपाल भ्रमण गर्न थालेका छन्। चिनियाँ उडान वृद्धिले आगामी वर्ष मनाइने नेपाल भ्रमण वर्ष सन् २०२० लाई महत्वपूर्ण टेवा पु-याउने ठानिएको छ।

नेपाल र चीनबीच सन् २००३ मा हवाईसेवा सम्झौता भएको हो। यस सम्झौताले समयसमयमा दुई देशबीचमा हवाईसेवाको रुट अदलबदल, हेरफेर तथा थपघट गर्ने गर्छ। सम्झौताअनुसार जतिवटा चिनियाँ विमान नेपालमा जान्छन् त्यति नै नेपाली विमान चीन आउन पाउँछन्। सन् २०१४ मा सोही सम्झौताको अधिनमा रहेर नयाँ समझदारीमा हस्ताक्षर भएको थियो। सो समझदारीमा दुई देशबीचमा सातामा ७० वटा उडान आदानप्रदान हुने उल्लेख थियो। चीनबाट काठमाडौं मात्र उडान हुने भए पनि नेपालबाट बेइजिङ, साङघाई, ग्वाङजाउ, छन्दु, खुन्मिङ, ल्हासा र सिआनमा उडान गर्ने समझदारी भएको थियो। समझदारीपछि चिनियाँ विमान धमाधम नेपाल उड्न थाले तर नेपालले चीनमा एउटै पनि उडान गर्न सकेन। केही समयदेखि हिमालय एयरलाइन्सले सिआन उडान गर्दैछ तर त्यो उडान पनि नियमित नभएर चार्टर्ड उडान हो। नेपालसँग ठूला विमान नभएकै कारणले चीनमा उडान हुन नसकेको हो।

नेपाल एयरलाइन्सले चीनको दक्षिण पूर्वमा पर्न ठूलो सहर ग्वाङजाउ उडान गर्न अनुमति मागेको थियो। चीनले दुई महिनाअगाडि अनुमति दिइसकेको छ। अब चिनियाँ प्राविधिक पक्ष काठमाडौं गएर सुरक्षा जाँच गरेपछि नेपाल एयरलाइन्सले ग्वाङजाउ उडान गर्न पाउने लम्सालले बताए। त्यसैगरी बेइजिङमा नयाँ विमानस्थल सञ्चालनमा आएपछि नेपालको हिमालय एयरलाइन्सले बेइजिङ–काठमाडौं उडान गर्नेछ। बेइजिङमा केही महिनापछि नयाँ विमानस्थल सञ्चालनमा आउँदैछ। त्यसपछि चिनियाँ प्राविधिक पक्षले काठमाडौं गएर हिमालय एयरलाइन्सको सुरक्षा जाँच गरेपछि बेइजिङ–काठमाडौं उडान हुन सक्नेछ। यसका लागि हिमालय एयरलाइन्सले ठूलो जहाज किन्नुपर्नेछ। लामो दूरीमा उडान गर्नका लागि सानो जहाजलाई सहज नहुने लम्सालले औँल्याए।

हिमालय एयरलाइन्सले चीनका दोस्रो स्तरका ठूला ८ वटा सहरमा उडान गर्न चीन सरकारसँग समझदारी गरिदिन नेपाल सरकारलाई निवेदन दिएको थियो। नानचिङ, चिनान, नानछान, सिआमन, तालिआनलगायतका ८ सहर हिमालय एयरलाइन्सले तोकेर दिएको थियो। वार्तामा सन् २०१४ मा तोकिएका ७ सहर बाहेक थप ८ सहरमा नेपाली विमान सेवाले उडान गर्न पाउने समझदारी भएको छ। ७ वटा सहर पहिले नै तोकिए पनि थप ८ वटा सहर तोकिएको छैन।
वार्तामा नेपालले कैलाश मानसरोवरको दर्शन गर्न चाहने तीर्थयात्रीका लागि तिब्बतको कुन्सा विमानस्थलमा उडान गर्न अनुमति माग गरेको थियो। तर कुन्सा विमानस्थल अन्तर्राष्ट्रिय उडान गर्न लायकको नभएको भन्दै चीनले अनुमति दिएन।

प्रकाशित: ११ श्रावण २०७६ ०१:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App