coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

अमेरिकाविरुद्ध क्युवाको संघर्षमा दाहालको ऐक्यबद्धता

फाइल तस्बिर/नागरिक

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले अमेरिकी प्रतिबन्धविरुद्ध क्युवाली जनताको संघर्षमा ऐक्यबद्धता व्यक्त गरेका छन्। कम्युनिस्ट मुलुक क्युवामा लामो समयदेखि अमेरिकाले विभिन्न किसिमका प्रतिबन्ध लगाउँदै आएको छ।

काठमाडौंमा शुक्रबार आयोजित क्युवाप्रतिको ऐक्यबद्धतासम्बन्धी नवौं एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनमा सम्बोधन गर्दै दाहालले समाजवाद प्राप्तिको लक्ष्यका लागि क्युवाली कम्युनिस्ट पार्टीको योगदानको प्रशंसा गरे। दाहालले अमेरिकाको आर्थिक प्रतिबन्धविरुद्ध क्युवाली जनताले देखाएको साहसको पनि प्रशंसा गरेका थिए।

‘दशकौंदेखिको प्रतिबन्ध र नाकाबन्दीका बाबजुद क्युवाली जनताले अन्यायपूर्ण व्यवहारबाट शान्ति र स्वतन्त्रता प्रेमी जनतालाई मार्न सकिँदैन भन्ने कुरा विश्वलाई देखाइदिएका छन्,’ दाहालले भने, ‘क्युवाविरुद्ध लगाइएको प्रतिबन्धले त्यहाँका जनताको धैर्य, राष्टवादी सोच र सम्प्रभुताको रक्षा गर्ने विषयलाई कमजोर बनाउन सक्दैन।’ क्युवाविरुद्धको प्रतिबन्ध मानवअधिकारको मूल्य र मापदण्डविपरीत भएको भन्दै दाहालले थपे, ‘क्युवाले विगत ६ दशकको अवधिमा आर्थिक प्रतिबन्धका कारण १३० बिलियन डलरको मूल्य चुकाउनुपरेको छ।’

‘दशकौंदेखिको प्रतिबन्ध र नाकाबन्दीका बाबजुद क्युवाली जनताले अन्यायपूर्ण व्यवहारबाट शान्ति र स्वतन्त्रता प्रेमी जनतालाई मार्न सकिँदैन भन्ने कुरा विश्वलाई देखाइदिएका छन्।’

संयुक्त राष्ट्रसंघले क्युवामाथिको प्रतिबन्ध हटाउन प्रत्येक वर्ष प्रस्ताव ल्याउने गरेको तर अन्तर्राष्ट्रिय समुदायले यसलाई अस्वीकृत गर्ने गरेको भन्दै दाहालले नेपाल प्रस्तावको पक्षमा रहेको जनाए। ‘हामी संयुक्त राष्ट्रसंघको प्रस्तावको पक्षमा छौैैं र क्युवाको सम्प्रभुता, जनताको आकांक्षा र प्रतिबन्धको अत्य गर्नुपर्ने पक्षमा छौं’, दाहालले भने। उनले राष्ट्रसंघको प्रस्तावमा नेपालले निरन्तर क्युवाका पक्षमा मत दिँदै आएको बताए। कार्यक्रममा क्युवाबाट आएको पाँचसदस्यीय प्रतिनिधिमण्डल सहभागी थियो।

दाहालले केही दिनअघि भेनेजुयलाका राष्ट्रपति निकोलस मडुरोका पुत्र निकोलास मडुरो गुयरासँग भेट गरेका थिए। चारदिने नेपाल भ्रमणमा आएका गुयराको टोलीसँगको वार्तामा उनले भेनेजुयलाप्रति आफ्नो ऐक्यबद्धता जनाएका थिए। गत माघमा भेनेजुयलाका राष्ट्रपति मडुरोका विरुद्ध आफैंलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका जुआन गुआइडोलाई अमेरिकाले समर्थन गरेपछि दाहालले विज्ञप्ति जारी गर्दैैै ‘अमेरिकी हस्तक्षेपको आलोचना’ गरेका थिए। दाहालको विज्ञप्तिले नेपालको राजनीतिलाई तताएको थियो। दाहालको विज्ञप्तिपछि अमेरिका र नेपालको सम्बन्धमा चिसोपन आएको थियो।

अमेरिकालाई चिढ्याउने गरी भेनेजुयलाका पक्षमा खुलेर लागेका दाहालले क्युवाको विषयमा पनि अमेरिकाविरुद्ध आफ्नो धारणा सार्वजनिक गरेका हुन्। सत्तारुढ पार्टीका अध्यक्ष दाहालले निरन्तर अमेरिकाकाविरुद्ध दिँदै आएको अभिव्यक्तिले अमेरिका र नेपालबीचको सम्बन्धमा थप चिसोपन आउने अनुमान गरिएको छ।

प्रकाशित: ११ श्रावण २०७६ ०१:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App