७ वैशाख २०८१ शुक्रबार
राजनीति

मुख्य न्यायाधिवक्तामा थपलिया सिफारिस

मकवानपुर– प्रदेश नम्बर ३ को मुख्य न्यायाधिवक्तामा ओमप्रसाद थपलियालाई सिफारिस गरिएको छ। प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता थपलियालाई सिफारिस गरेका हुन्।

मुख्य न्यायाधिवक्तामा बिहीबार सिफारिस भएका उनलाई आइतबार प्रदेश प्रमुख अनुराधा कोइरालाले सपथ खुवाउने कार्यतालिका छ। २०७४ फागुन २४ गते नियुक्त भएका मुख्य न्यायाधिवक्ता सुर्यचन्द्र न्यौपानेले कार्य असन्तुष्टि जनाउँदै जेठ २३ गते राजिनामा दिएपछि उक्त पद रिक्त रहेको थियो।

मुख्य न्यायाधिवक्ता लागि हेटौंडाका अधिबक्ताहरु ध्रुवप्र्रसाद चौलागाईं र मुकुन्द अधिकारीले निकै कसरत गरेका थिए। तर उनीहरुप्रति मुख्यमन्त्री पौडेल सकारात्मक नभएपछि थपलिया मुख्य न्यायाधिवक्ता बन्ने पक्का भएको हो। मुख्य न्यायाधिवक्ताको दौडमा काठमाडौ, हेटौंडा लगायत क्षेत्रका करिब आधा दर्जन कानुन व्यबसायी रहेका थिए।

मुख्य न्यायाधिवक्ताको नियुक्ति प्रदेशका मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले गर्ने संबैधानिक व्यवस्था छ। त्यस्तै, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. खिमलाल देवकोटाले कार्य असन्तुष्टि जनाउँदै असार अन्तिम साता राजीनामा दिएका थिए। मन्त्री परिषदको बैठकले राजीनामा स्वीकृत गरेपनि नयाँ उपाध्यक्ष नियुक्त भने भएको छैन।

को हुन् ओमप्रसाद थपलिया ?

ओमप्रसाद थपलियाको जन्म नुवाकोटको तत्कालिन मदनपुर गाविसमा भएको थियो। राजनीति शास्त्र र कानुन बिषयमा स्नातकोत्तर (एम.ए./एलएलएम) उत्तिर्ण गरेका उनी काठमाडौं महानगरपालिका १४, कलंकीका बासिन्दा हुन्।

तत्कालिन नेकपा एमालेको अनुशासन आयोगको सदस्य भएर काम गरेका उनी पार्टीमा कानुनी क्षेत्रको काम गर्दै आएका थिए। वि.सं. २०४४ सालदेखि कानुनी क्षेत्रमा प्रवेश गरेका उनी २०४८ बाट अधिवक्ता र २०७४ साउनदेखि वरिष्ठ अधिवक्ता भएका थिए।

प्रकाशित: १० श्रावण २०७६ ११:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App