८ वैशाख २०८१ शनिबार
समाज

इमोबाट ठगी

सुर्खेत– वीरेन्द्रनगरकी ३१ वर्षीया एक युवतीलाई ‘इमो’मार्फत् फोन आयो। भारतीय मूलका युवकले सुरुमै बधाई दिँदै भने, ‘तपाइँले २५ लाख रुपैयाँ जित्नुभयो।’ एक वर्षदेखि इमो चलाउँदै आएकी ती युवती २५ लाख रुपैयाँको लोभमा परिन्।

सुरुमा फोन गर्ने युवकले इमोमै नयाँ नम्बर र सम्पर्क व्यक्तिको नाम पठाइदिए। युवतीले ती व्यक्तिको नम्बर इमोमा सेभ गरिन्। तत्कालै उताबाट फोन आयो। ‘नमस्कार ! म अकोश वर्मा। प्रभु बैंकको वीरगञ्ज शाखामा ३० हजार रुपैयाँ पठाउनु होस्, त्यसको १० मिनेटमा तपाइँको खातामा २५ लाख रुपैयाँ जम्मा हुन्छ।’

‘इमो नेपाल लक्की ड्र विजेता–२०१९’ लेखिएको फोटोसहितको विजेता कार्ड पनि उनले इमोमा पठाए। युवकले भनेजस्तै ती युवतीले नेपाली नागरिकताको प्रमाणपत्र, बैंकको खाता नम्बर र फोटो पठाइन्। ‘सुरुमा २५ लाख रुपैयाँ जितेको खबर पाउँदा धेरै खुसी थिएँ, बुझ्दै जाँदा फेक हो भन्ने लाग्यो,’ ती युवतीले भनिन्, ‘त्यसपछि प्रहरीमा उजुरी दिन आएको हुँ।’

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रमुख प्रहरी नायव निरीक्षक प्रदीप क्षेत्रीले इमोमार्फत् ठगिनेहरू बढ्दै गएको बताए। ‘एक साताको अवधिमा सातजना युवायुवतीले इमोमार्फत् ठगिएको भन्दै निवेदन दिएका छन्,’ डिएसपी क्षेत्रीले भने, ‘यसबारेमा विस्तृत अध्ययन गरिरहेका छौं।’ उनले इमोमार्फत् लक्की ड्रमा विजेता भएको बताउँदै नक्कली चेकसमेत पीडितहरूलाई पठाउने गरेको बताए। ‘इमोमार्फत् धेरैजना ठगिएका हुन सक्छन्, केही पीडितहरू सम्पर्कमा आएका छन्,’ उनले भने, ‘अझ धेरै ठगिएको अनुमान हामीले गरेका छौं।’

प्रकाशित: १० श्रावण २०७६ ०९:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App