coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

इब्राहिमोभिचको बचाउमा प्रशिक्षक माउरिन्हो

म्यानचेस्टर–लगातारका खराब नतिजाका कारण दबाबमा रहेका म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले गोल गर्न संघर्षरत स्विडिस स्ट्राइकर ज्लाटान इब्राहिमोभिचको रक्षा गर्दै उनले राम्रो खेलिरहेको बताएका छन् । माउरिन्होसँग इन्टर मिलानमा सँगै काम गरेपछि पेरिस सेन्ट जर्मेनमा उच्च सफलताको अनुभूत गरेका ३५ वर्षे स्ट्राइकर यसै सिजनदेखि युनाइटेड आएका थिए । उनले नयाँ क्लबका लागि ११ खेलमा एक गोलमात्र गर्न सकेका छन् ।

बिहीबार फेनरबाचसँग २–१ को पराजय भोगेको युरोपा लिगको खेलमा पनि उनको उपस्थिति खासै प्रभावकारी हुन सकेको थिएन । आइतबार इङ्लिस प्रिमियर लिगअन्तर्गत संघर्षरत स्वान्सीविरुद्धको खेल माउरिन्हो, उनको क्लब र इब्राहिमोभिचका लागि पनि राहत बटुल्ने अवसर हुनसक्छ ।

कम्तीमा पछिल्ला चार खेलमा विजयरहित रहेको युनाइटेडले त्यस्तो आश गर्नेछ । प्रिमियर लिगको महारथीले यसपालि उपाधि जित्ने आशमा थुप्रै रकम खर्च गरेको थियो । तर त्यसअनुरुप नतिजा निकाल्न नसक्दा टोली अहिले शीर्ष स्थानमा रहेका तीन टोली म्यानचेस्टर सिटी, आर्सनल र लिभरपुलभन्दा १० अंकले पछि छ ।

‘उनले टिमका लागि राम्रो खेलिरहेका छन् । उनी जिम्मेवारीबाट डराउने मानिस होइनन् । गोल गर्नु एउटा पक्ष हो, राम्रो प्रदर्शन गर्नु र अवसर सिर्जना गर्नु अर्को पक्ष हो,’ अघिल्लो शनिबार बर्नलीसँग गोलरहित बराबरी नतिजा निकालेको खेलमा रातो कार्ड पाउँदै प्रतिबन्धमा रहेका कारण आइतबारको खेल स्ट्यान्डबाट हेर्ने तयारीमा रहेका माउरिन्होले इब्राहिमोभिचको रक्षामा भने, ‘उनले आफै गोल गर्न नसके पनि थुप्रै अवसर सिर्जना गरिरहेका छन् ।

स्टोक, लिभरपुल, चेल्सी र बर्नलीविरुद्धका खेल सम्झिने हो भने उनले धेरै मौका खेर फालेका छन् । तर पनि उनले धेरै मिहिनेत गरिरहेका छन् । अवसर सिर्जना गरिरहेका छन् । समग्रमा उनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।’

गत महिना चेल्सीसँग भोगेको ४–० को लज्जाजनक पराजय तथा युरोपा लिगमा फेनरबाचसँग २–१ ले हारेको स्मरण गर्दै माउरिन्होले फुटबलमा यस्ता नतिजा स्वाभाविक भएको बताए । कहिलेकाहिँी फुटबलमा राम्रो टोलीले नराम्रो नतिजा सामना गर्नुपर्ने बताउँदै उनले त्यसका बावजुद दुवै खेलमा खेलाडीले मनोबल नगुमाएको भन्दै प्रशंसा गरे ।
‘फुटबलमा यस्तो हुन्छ । पहिलो मिनेटमै हुने गोलका लागि कोही पनि तयार हुँदैन । खेल हार्नु ठूलो कुरा होइन । मनोबल हार्नु ठूलो चिन्ताको विषय हो । मेरा केटाहरूले नतिजा सुखद हुन नसकेका बेला पनि हरेश खाएका छैनन् । अन्तिम समयसम्म संघर्ष गरेका छन् र अर्को खेलमा सुधार्ने प्रतिवद्धता जनाएका छन् । यो सकारात्मक पाटो हो,’ माउरिन्होले भने ।

यसैबीच युनाइटेडका स्पेनिस अन्तर्राष्ट्रिय मिडफिल्डर हुँवा माटाले राम्रो खेलको विषयमा कुरा गर्न छोडेर साँच्चै राम्रो खेल्नुपर्ने समय आएको बताएका छन् । उनले स्वान्सीविरुद्धको खेलबाट राम्रो खेलेको कुरालाई व्यवहारमा उतार्न सुरु गर्नुपर्ने बताए । युनाइटेडले खराब नतिजा आत्मसात गरिरहेका बेला २८ वर्षे माटा भने अघिल्लो महिना क्लबका उत्कृष्ट महिनाको खेलाडी घोषित भएका थिए ।

युरोपा लिगमा फेनरबाचसँग भोगेको हार र अघिल्लो महिना प्रिमियर लिगमा चेल्सीसँग बेहोरेको लज्जाजनक नतिजाको स्मरणसहित मैदान उत्रनुपर्ने भएकाले स्वान्सीविरुद्धको खेल पनि कठिन हुने माटाको बुझाइ छ । ‘हामीले मैदानमा आ–आफ्नो व्यक्तित्व प्रदर्शन गर्न सक्नुपर्छ । अझ खासगरी टिम हारिरहेका बेला वा संघर्ष गरिरहेको बेला त्यसको झनै आवश्यकता पर्छ,’ फेनरबाचसँगको खेलमा आफ्नो टोलीको प्रदर्शनलाई ‘मैत्रीपूर्ण’ खेलमा जस्तै भनेर आलोचना गरेका माटाले भने, ‘ती खेलपछि हामी निकै कठिन अवस्थाबाट गुज्रिइरहेका छौं ।

त्यसैले हामीले आफूलाई फेरि प्रमाणित गर्नुपर्ने अवस्था आएको छ । अब केही खेलमा लगातार राम्रो नतिजा ल्याएपछि मात्र हामीले आफ्नो आत्मविश्वास सम्पूर्ण रूपमा पुनः हासिल गर्न सक्छौं । यसको सुरुआत आइतबारको खेलबाट गर्नुपर्नेछ । नत्र धेरै ढिला हुनेछ । हामी प्रिमियर लिगमा प्रतिस्पर्धा गर्ने भनेको उपाधिका लागि हो । अर्को सिजन युरोपा लिग छनोट हुन होइन ।’

 

प्रकाशित: २१ कार्तिक २०७३ ०१:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App