coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

विश्वकप एशिया छनोट–कुवेत विजयी

काठमाडाैं– आइसिसी टी–ट्वान्टी विश्वकप एशिया क्षेत्र छनोटअन्तर्गत आज भएको खेलमा कुवेतले कतारलाई १० रनले पराजित गर्दै विजयी भएको छ। 

सिङ्गापुरको इण्डियन एसोसिएशन क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १९७ रनको योगफल बनायो। कुवेतका लागि अदनान आर्डिसले ५६ रनको उत्कृष्ट इनिङ खेले भने मिट भावसारले ३५ तथा उस्मान वहीदले २८ रनको योगदान दिए। बलिङतर्फ कतारका लागि तमोर सज्जाद र इकवाल हुसेनले समान दुई/दुई विकेट लिए। 

जीतका लागि १९८ रनको विजयी लक्ष्य बोकेर मैदान उत्रेको कतार निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १८७ रनमा समेटियो। कतारका लागि तमोर शज्जादले सर्वाधिक ४६ रनको योगदान दिए भने नोमान शनवारले ३४, इनाम उक हलले  २८ तथा फैसल जाभेदले २५ रन जोडे। 

कुवेतका शिराज खान र जनदु हमौदले दुई/दुई विकेट झारे। यस हारसँगै तीन खेल खेलेको कतार एक खेलमा जीत तथा दुई खेलमा हार बेहोर्दै दुई अङ्क जोडेको छ। अङ्क तालिकाको अन्तिम स्थानमा रहेको कतार प्रतियोगिताबाट लगभग बाहिरिएको छ।

त्यस्तै नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना भने कायमै रहेको छ। यसअघि दुई खेल खेलेको नेपालले एक खेलमा हार तथा एक खेलमा जीत हासिल गरेको छ। नेपाल पहिलो खेलमा कतारसँग पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले मलेसियालाई पराजित गरेको थियो । नेपाल अङ्क तालिकाको चौथो स्थानमा छ।

प्रतियोगितामा नेपालसहित मलेसिया, कतार, आयोजक सिङ्गापुर र कुवेत सहभागी छन्। उक्त प्रतियोगिताको विजेता टोलीले विश्वकपको ग्लोबल छनोटमा सहभागिता जनाउनेछन्। जारी प्रतियोगितामा आयोजक सिङ्गापुरले तीन अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ भने समान तीन अङ्क नै जोडेको कुवेत नेट रन रेटको आधारमा दोस्रो स्थानमा छ। त्यस्तै दुई अङ्क बटुलेको मलेसिया नेट रन रेटका आधारमा तेस्रो स्थानमा छ। नेपालले आफ्नो तेस्रो खेल भोलि कुवेतसँग खेल्नेछ। रासस

प्रकाशित: १० श्रावण २०७६ ०८:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App