७ वैशाख २०८१ शुक्रबार
समाज

शैक्षिक सुधार गर्न बिदामा पनि पढाइ

दिनेश सुवेदी

रोल्पा - शैक्षिक अवस्थाको सुधार गर्न भन्दै सदरमुकामको एक विद्यालयले बर्षे बिदा नगर्ने भएको छ। पछिल्लो केहि बर्ष यता पठनपाठनमा गतिलो संग सुधार गर्दै आएको रोल्पा सदरमुकामस्थित बालकल्याण नमुना माध्यमिक विद्यालयले यो पटक वर्षे बिदा नगर्ने भएको हो। स्थानीय तहले शैक्षिक सुधारका लागि कुनै पहल नगरेपछि विद्यालयले आफ्नै आन्तरिक श्रोतबाट शिक्षकलाई थप एक महिनाको तलब दिएर पढाइलाई निरन्तरता दिने भएको छ।

‘थप शैक्षिक सुधारका लागि बर्षे बिदा कटौती गरिएको हो। नियमले बर्षमा कम्तिमा २ सय २० दिन पढाई हुन्थ्यो तर हामीले २ सय ५० दिन पढाउने टार्गेट राखेका छौ।’ विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष महेश न्यौपानेले भने ‘यसले गर्दा कोर्ष सजिलो संग सकिनेर विद्यार्थीलाई पढाईमा नियमितता हुनेछ। शिक्षकले बिदाको समयमा पढाए बापत विद्यालयको श्रोतबाट छुट्टै एक महिनाको तलब दिने निर्णय गरेका छौ।’

रोल्पाका स्थानीय तहहरुले भने बिद्यार्र्थीको शैक्षिक सुधारका बिषयमा खासै चासो दिने गरेका छैनन्। ‘विद्यार्र्थीको गुणस्तर र सिकाई स्तर बढाउनका लागि वर्षे बिदाको समयमा पनि विद्यालयलाई निरन्तरता दिएका हाँै। यसबाट कोचिङको नाममा सकिने विद्यार्थीको पैसा बचत हुनेछ। बिदाको समयमा पढ्ने पढाउने बानीले निरन्तरता पाउनेछ।’विद्यालयका प्रअ मधुसुदन पोख्रेलले भने ‘यसले अभिभावकलाई पनि आर्थिक सहुलियत हुन्छ।’ अहिले पनि कतिपय विद्यालयका विद्यार्थीहरुले एक बिषयको ६ सय रुपैया तिरेर कोचिङ पढ्ने गरिरहेका छन।

प्रअ पोख्रेल भन्छन ‘यो एक महिनाको तलब स्कुलको आन्तरीक श्रोतबाट खुवाउँदै छौँ। आर्थिक हिसाबले बडो मुस्कील संग धान्नु पर्ने छ। समग्र रुपमै स्थानिय तहको शैक्षिक सुधारका लागि बजेट र योजना नै आएन। नत्र त अलि सजिलो हुन्थ्यो।’ उनका अनुसार ‘नगरपालिकाले बजेट त केहि छुट्टाएको छ तर नयाँ भिजनका साथ आएको छैन। नगर शिक्षा योजना नै बनेको छैन।’ २०२३ सालमा स्थापना भएको यो विद्यालयमा उपराष्ट्रपती नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, उर्जामन्त्री बर्षमान पुन, पुर्ब सभामुख ओनसरी घर्ती, नेता नेत्रबिक्रम चन्द बिप्लव लगायतले अध्ययन गरेका थिए। धेरै भिआईपिले वर्षौ अध्ययन गरेको यो विद्यालयमा शैक्षिक र भौतिक सुधारमा उनीहरुको समेत नजर परेको छैन। यहाँ अहिले २ हजार ५ सय बिद्यार्थीले अध्ययन गरिरहेका छन।

प्रकाशित: १० श्रावण २०७६ ०६:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App