७ वैशाख २०८१ शुक्रबार
समाज

अनुमानितभन्दा निकै कम लागतमा जीर्णाेद्धार

भक्तपुर - भक्तपुरको टौमढीस्थित पाँचतले मन्दिरअगाडिको भैरवनाथको मन्दिरको जीर्णाेद्धार लागत अनुमानभन्दा निकै कममा सम्पन्न भएको छ। भक्तपुर नगरपालिकाले मन्दिर जीर्णद्धारका लागि १ करोड ४६ लाख ३६ हजार ७ सय ४५ रुपैयाँ १३ पैसा लाग्ने अनुमान गरेको थियो। तर सो अनुमानभन्दा निकै कम रकम ५० लाखमै पुननिर्माण सकिएको जनाइएको छ।

भैरवनाथ मन्दिर जीर्णोद्धार सहयोग उपभोक्ता समितिका अध्यक्ष न्हुँछेराम भेलेले जनताको सहयोगले यो सम्भव भएको बताए। निकै कम खर्चमा जीर्णोद्धार हुनुको कारण स्थानीयबाट सकेको सहयोग पाउनु रहेको भेलेले बताए। स्थानीयको आर्थिक तथा श्रम सहयोगका कारण लागतभन्दा कममा मन्दिरको जिर्णाेद्धार सम्भव भएको उनको भनाइ छ। जनताबाट मुछिएको माटो पाँच टिप, लामो बाँस ५२ वटा, झिँगटी इँटा २८ हजारवटा, सानो गजुर तीनवटा र डम एउटा सहयोग पाइएको उनले बताए। जिन्सी सामानका साथै आर्थिक सहयोगसमेत ४ लाख ५० हजार रुपैयाँ संकलन भएको उनले बताए। यही आर्थिक सहयोगबाट नै भैरवनाथ मन्दिरको रङरोगन गरिएको उनले सुनाए।

‘यति कम रकममा मन्दिरको जीर्णोद्धार हुनुको मुख्य कारण उपभोक्ता समितिबाट राम्ररी काम सम्पन्न हुनु हो। सायद ठेक्कामा दिएको भए यति कम रकमबाट काम सकिने थिएन,’ उनले भने। भैरवनाथको जीर्णद्धारको लागि करिब २ हजारजना श्रममा लागेको उनले बताए। मन्दिर जीर्णाेद्धारका लागि स्थानीय तथा भक्तपुरवासीले विभिन्न सहयोग गरेको उनले बताए। जनताले श्रमका साथ अन्य विभिन्न सहयोग गरेका कारण कममा काम भएको उनी सुनाउँंछन्। जीर्णद्वारका क्रममा भैरवनागको माथिल्ला तलामा भित्री काम, काठको काम, झ्याल जडानलगायत सम्पन्न गरिएको बताइएको छ। पहिलो र दोस्रो तलामा झिँगटी इँटाको छानो लगाइएको छ।

भैरवनाथ मन्दिरको जीर्णोद्धारको काम २०७५ असोज २ गते सुरु गरिएको थियो। २०७६ असार मसान्तमा भैरवनाथको बाहिरी भागमा छानो लगाउने काम सम्पन्न भएको हो। पाँंचतल्ले मन्दिरजतिकै ठूलो यो मन्दिरलाई २०७२ सालको भूकम्पले क्षति पु-याएको थियो।

प्रकाशित: १० श्रावण २०७६ ०२:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App