७ वैशाख २०८१ शुक्रबार
अर्थ

कैलाली भन्सारको राजस्व २४ प्रतिशत बढ्यो

धनगढी – सुदूरपश्चिम प्रदेशको कैलाली भन्सार कार्यालयले गत आर्थिक वर्षमा अघिल्लो वर्षभन्दा २४ प्रतिशत बढी राजस्व संकलन गरेको छ। अघिल्लो आर्थिक वर्षमा चार अर्ब २१ करोड राजस्व संकलन भएकोमा २०७५/०७६ मा पाँच अर्ब १९ करोड ७५ लाख राजस्व संकलन भएको हो। यो अघिल्लो वर्षको राजस्व भन्दा २४ प्रतिशतले बढी हो।

कैलाली भन्सार प्रमुख ईश्वरीप्रसाद अर्यालका अनुसार अघिल्लो वर्षभन्दा गत आर्थिक वर्षमा २४ प्रतिशत अर्थात् ९८ करोड ७५ लाख रुपैयाँ बढी राजस्व संकलन भएको हो। ‘दुई महिनादेखि तरकारी र फलफूलमा भएको अवरोधका कारण सोचेजस्तो राजस्व संकलन भएन,’ उनले भने, ‘अझै राम्रो राजस्व रकम संकलन गर्न सकिन्थ्यो।’ यो राजस्व लक्ष्यको ९९.५४ प्रतिशत रहेको उनले बताए।

अन्य भन्सार कार्यालयले लक्ष्यको ९० प्रतिशत पनि उठाउन नसकेका बेला कैलाली भन्सार कार्यालय लक्ष्य नजिक पुगेको उनको भनाइ छ। लक्ष्य तोकिसकेपछि कैलाली भन्सार कार्यालय मातहतमा रहेको सत्ती भन्सारलाई छुट्टै तोकिएकाले पनि लक्ष्य भेट्न नसकिएको उनको भनाइ छ। ‘हामीलाई कात्तिक महिनामा लक्ष्य तोकिसकेपछि सत्ती भन्सारलाई हामीबाट अलग्याइयो,’ उनले भने, ‘कैलालीको धनगढी नाकाको सीमापारि भारततिर गौरीफन्टामा क्वारेन्टिन नहुँदा स्वच्छताको प्रमाणपत्र भए मात्रै आयात गरिने भनिएपछि तरकारी र फलफूल दुई महिना नेपालगन्ज भएर धनगढी आएकाले राजस्व संकलनमा प्रभाव परेको थियो।’

देशभर ३६ वटा भन्सार कार्यालयमा नेपालगन्ज र रसुवाबाहेक अन्य भन्सार कार्यालयले लक्ष्य भेटाएका छैनन्। आर्थिक वर्ष २०७४/०७५ मा तीन सय ६१ चोरी मुद्दाबाट ५२ लाख राजस्व संकलन भएको थियो भने २०७५/०७६ मा कडाइ हुँदा ६ सय ६९ मुद्दामा लिलाम बिक्रीबाट दुई करोड ३२ लाख राजस्व संकलन भयो। कैलाली भन्सार कार्यालयमा सबैभन्दा बढी आयात डिजेल, पेट्रोल र ग्यासमा ४८.४४ प्रतिशत राजस्व संकलन भएको छ। त्यसपछि दोस्रोमा बिस्कुटमा ६.११ प्रतिशत राजस्व संकलन भएको छ भने तेस्रोमा दालमोठ र भुजिया ३.३८ प्रतिशत र पेपरमा २.२८ प्रतिशत राजस्व संकलन भएको देखिन्छ। ट्याक्टर आयातमा २.२५ प्रतिशत, सूर्तीमा २.९ प्रतिशत, टायलमा १.८ प्रतिशत र चामलमा १.३ प्रतिशत राजस्व संकलन भएको छ। यो नाकाबाट निर्यात हुने वस्तु न्यून हुने गरेको छ। कत्था, मुलासिन लेदो, टर्पेन्टाइन र रोजिन निर्यात हुने गरेको छ। यहाँबाट जम्मा ८३ करोडको सामान निर्यात भएको उनले बताए।

यसैगरी कञ्चनपुर भन्सार कार्यालयले ३६ करोड ६७ लाख रुपैयाँ राजस्व संकलन गरेको छ। ४० करोड १२ लाख लक्ष्यमा ९१.४० प्रतिशत राजस्व संकलन भएको भन्सार प्रमुख भीमप्रसाद अधिकारीले बताए। ‘आयात कम हुनु र नयाँ नयाँ प्रावधानले पनि तरकारी र फलफूलको आयातमा प्रभाव परेकाले राजस्व कम संकलन भएको हो,’ उनले भने, ‘आयातको परिणम नै कम हुनु लक्ष्य भेट्न नसक्नुको प्रमुख कारण हो।’

प्रकाशित: १० श्रावण २०७६ ०२:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App