७ वैशाख २०८१ शुक्रबार
खेल

रंगशालाका लागि सहयोग जुट्दै

उद्योग वाणिज्य संघ चितवनको तर्फबाट रंगशाला निर्माणका लागि सहयोग प्रदान गरिँदै। तस्विरः सविता÷नागरिक

चितवन - क्रिकेट रंगशाला निर्माणका लागि उद्योग वाणिज्य संघ, चितवनले ५५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ। संघले निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई बिहीबार सहयोग हस्तान्तरण गरेको हो। संघका अध्यक्ष सहनलाल प्रधानले रंगशाला निर्माणको जिम्मेवारी लिएको धुर्मुस, सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेललाई सहयोग हस्तान्तरण गरे।

संघले गएको पुस र माघमा नारायणगढमा आयोजना गरेको चितवन महोत्सवबाट भएको आम्दानीबाट फाउन्डेसनलाई सहयोग गरेको अध्यक्ष प्रधानले जानकारी दिए। देशकै गौरवको आयोजना भएकाले रंगशाला निर्माणका लागि संघले संस्थागत रूपमा सहयोग उनी बताउँछन्। जिल्लामा रंगशाला निर्माण हुँदा देशको लागि मात्र नभई समग्र चितवनको विकासमा समेत कोसेढुंगा हुने उनले बताए। निर्माणाधीन रंगशालाको तारबार गएको जेठ १५ गते केही स्थानीयहरूको सहभागितामा भत्काइएपछि रोकिएको काम साउन ७ गतेबाट सुरु भएको छ।

रंगशाला निर्माणमा फाउन्डेसनको समिति र कर्मचारी फर्किएपछि आर्थिक सहयोग गर्ने क्रम सुरु भएको छ। बिहीबार नै चितवन क्रिकेट संघले पनि २ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ। भरतपुर महानगरपालिका वडा नम्बर १५ मा रहेको २० बिघा ६ कट्ठा जग्गामा रंगशाला निर्माण हुँदै छ। अहिले रंगशाला निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुँदै छ। डिपिआर दशैंअगाडि तयार गरिसकेर दशैं, तिहारपछि निर्माण सुरु गर्ने योजना फाउन्डेसनको रहेको छ। निर्माण सुरु गरेको दुई वर्षभित्र पूर्वाधार तयार गर्ने योजना रहेको फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल बताउँछन्।

अहिले रंगशाला निर्माणस्थललाई चारैतिरबाट कम्पाउन्डिङ गर्ने, कर्मचारी आवासका लागि अस्थायी पूर्वाधार तयार गर्ने, पिच निर्माण गर्ने माटो प्रशोधन गर्ने लगायतका काम भइरहेको उनले बताए। रंगशाला निर्माणका लागि करिब ३ अर्ब रुपैयाँ लाग्ने आकलन फाउन्डेसनले गरेको छ। जिल्लाका विभिन्न संघसंस्थामार्फत फाउन्डेसनलाई सहयोग गर्ने क्रम सुरु भएकोमा फाउन्डेसनका अध्यक्ष कट्टेलले खुसी व्यक्त गरे। सबैको सहयोग र सहकार्य बाटै रंगशाला बन्ने उनी बताउँछन्।

जनस्तरबाटै आवश्यक रकम संकलन गरेर रंगशाला बनाउने गरी फाउन्डेसन अघि बढेको छ। रंगशाला निर्माणमा फाउन्डेसन फर्किएलगत्तै सहयोग हस्तान्तरण गर्ने क्रम सुरु भएको छ। फाउन्डेसनलाई  पूर्वेली समाजले संस्थागत रुपमा ५ लाख, पूर्वेली समाजका सदस्य कुमार डाँगीले ५ लाख, भरतपुर महानगरपालिका वडा नम्बर १२ का अध्यक्ष नरेन्द्र कन्दङ्वाले १ लाख ३५ हजार, घिमिरे ब्रदर्स एन्ड सप्लार्यसका शिव घिमिरेले १ लाख ५ हजार रुपैयाँ प्रदान गरेका छन्।

यस्तै, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य डा.तिलचन्द्र भट्टराई र डा. शारदा थपलिया दम्पतीले १० लाख रुपैयाँ सहयोग गरेका छन्। रंगशाला निर्माणमा आर्थिक सहयोग जुटाउन चितवनका सबै स्थानीय तहमा सहयोग समिति गठन गर्न सुरु गरिएको छ। जिल्लाका ७ वटै स्थानीय तह र वडा वडामा सहयोग समिति गठन गर्ने काम सुरु गरिएको कट्टेलले जानकारी दिए। इच्छाकामनामा गाउँपालिकाकी अध्यक्ष गीताकुमारी गुरुङको संयोजकत्वमा ४६ सदस्यीय गाउँपालिका स्तरीय सर्वपक्षीय सहयोग समिति निर्माण गरिएको छ।

समितिमा गाउँपालिकाको सबै वडाका जनप्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि, राजनीतिक दल, सहकारी, विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी छन्। रंगशाला निर्माणका लागि गाउँपालिकाबाट र व्यक्तिगत तथा संस्थागत सहयोग संकलन गरेर हस्तान्तरण गरिने उनको प्रतिबद्धता रहेको छ। रंगशाला जिल्लाकै गौरव भएकाले सबैको सहकार्यमा निर्माण गरिनुपर्ने उनी बताउँछिन्। भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल, जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटी, जिल्लाका प्रमुख पार्टीका नेतृत्वहरु सहभागी भएर सबै स्थानीय तहमा सहयोग समिति गठन प्रक्रिया अघि बढाइएको छ। रंगशाला जिल्लाकै समृद्धिको सूचक भएको भन्दै भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल रंगशाला निर्माणमा सबैको साथसहयोग आवश्यक रहेको बताउँछिन्।

प्रकाशित: १० श्रावण २०७६ ०२:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App