coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नयाँ गाडी आइपुगे तर पदाधिकारी आएनन्

काठमाडौं - पदाधिकारीविहीन दलित आयोग, आदिवासी तथा जनजाति आयोग, समावेशी आयोग र मधेसी आयोगले २० वटा नयाँ गाडी खरिद गरेका छन्। नयाँ आउने पदाधिकारीका लागि भन्दै यी आयोगले करिब १० करोड रुपैयाँमा गाडी गत असारमा किनेका हुन्।

दलित आयोग र आदिवासी जनजाति आयोग पदाधिकारीविहीन छन्। मधेसी आयोगमा अध्यक्ष मात्र छन्। समावेशी आयोगमा एक अध्यक्ष र एक सदस्यमात्रै छन्। यी चार आयोगलाई नयाँ गाडी किन्न असारमा अर्थ मन्त्रालयले करिब १० करोड रुपैयाँ निकासा दिएको थियो। यस्तै प्रकृतिका महिला आयोग र मुस्लिम आयोगले अघिल्लो आर्थिक वर्ष नै ६÷६ वटा गाडी किनिसकेका छन्।

अर्थ मन्त्रालयले नयाँ गाडी किन्न असारमा समावेशी आयोगलाई ३ करोड १२ लाख, दलित आयोगलाई २ करोड ६१ लाख ९० हजार, आदिवासी जनजाति आयोगलाई २ करोड ८१ लाख ८२ हजार र मधेसी आयोगलाई १ करोड ८० लाख रुपैयाँ निकासा दिएको थियो। समावेशी आयोगलाई गाडी किन्न एक महिनामा दुईपटक रकम निकासा गरेको छ। सुरुमा ३ करोड निकासा गरेकोमा अपुग भन्दै पछि १२ लाख रुपैयाँ थप निकासा भएको देखिन्छ।
ललितपुर जाउलाखेलस्थित दलित आयोगको कार्यालयमा ३ वटा पुराना र ६ वटा नयाँ गाडी गरी ९ वटा राखिएका छन्। पदाधिकारीका लागि भनी खरिद गरिएका ६ वटा गाडीमध्ये ५ वटा प्रयोग नगरी थन्काइएका छन् भने एउटा सचिव प्रल्हादप्रासद सापकोटाले प्रयोग गरेका छन्। यो आयोगमा पदाधिकारी छैनन्।

पदाधिकारीविहीन दलित आयोग, आदिवासी तथा जनजाति आयोग, महिला आयोग, समावेशी आयोग र मुस्लिम आयोगले पदाधिकारीका लागि भन्दै ६/६ वटा नयाँ गाडी किनेका छन् भने मधेसी आयोगले दुइटा गाडी किनेको छ।

दलित आयोगका उपसचिव गिरिराज ज्ञवालीले पदाधिकारीका लागि खरिद गरिएका ६ वटा नयाँ गाडीमध्ये ५ वटा प्रयोग नभएको बताए। उनले भने, ‘पदाधिकारीका लागि भनी नयाँ गाडी खरिद गरिएका हुन्। पदाधिकारी नै नभएकाले ५ वटा गाडी प्रयोग भएका छैनन भने एउटा सचिवले प्रयोग गर्नुभएको छ।’ आयोगका लागि आवश्यक भएर नै गाडी खरिद गरिएको उनले बताए। दुई करोड ६१ लाख रुपैयाँमा ६ वटा नयाँ गाडी खरिद गरिएको उनले बताए।

मधेसी आयोगले असारमा दुइटा नयाँ गाडी खरिद गरेको छ। लतिलपुरको युएनपार्क ज्वागालमा मधेसी आयोगको कार्यालय छ। आयोगका अध्यक्ष विजयदत्तका लागि एउटा गाडी खरिद गरिएको छ भने अर्को गाडी सदस्यका लागि किनिएको छ। आयोगका सूचना अधिकरी रमेशदास आयोगलाई आवश्यक भएरै दुइटा नयाँ गाडी खरिद गरिएको बताए। खरिद गरिएका सबै गाडी प्रयोग भइरहेको उनले भने।

पुल्चोकमा कार्यालय रहेको समावेशी आयोगले ६ वटा नयाँ गाडी खरिद गरेको छ। यो आयोगमा अध्यक्ष र एक सदस्यमात्र छन्। खरिद गरिएका छ गाडीमध्ये एउटा अध्यक्ष शान्तराज सुवेदीले र अर्को सदस्यले प्रयोग गरेका छन्।
यसैगरी पुल्चोकमै कार्यालय रहेको आदिवासी जनजाति आयोगले पनि पदाधिकारीका लागि भन्दै ६ वटा नयाँ गाडी खरिद गरेको छ। नयाँ पदाधिकारीका लागि खरिद गरिएका नयाँ गाडी आयोगका कर्मचारीले प्रयोग गरेका छन्। यो आयोग पनि पदाधिकारीविहीन छ।

महिला आयोग र मुस्लिम आयोगले अघिल्लो आथिएक वर्षमै पदाधिकारीका लागि भन्दै ३÷३ करोड रुपैयाँमा ६÷६ वटा नयाँ गाडी खरिद गरेका थिए। महिला आयोगमा पदाधिकारी नहुँदा एक वर्षअघि किनिएका ती गाडी प्रयोगमा आएका छैनन्। मुस्लिम आयोगमा पनि अध्यक्ष समिम अन्सारी मात्र छन्।

प्रकाशित: १० श्रावण २०७६ ०२:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App