७ वैशाख २०८१ शुक्रबार
समाज

पीडितसम्म पुग्न दातालाई समस्या

सर्लाही - दुई साताअघिको अविरल वर्षाका कारण जिल्लाको दक्षिण पश्चिम क्षेत्रका बाढी एवं डुबानपीडितले अझै राहत पाउन सकेका छैनन्। स्थानीय तहका प्रमुख एवं वडाध्यक्ष तथा स्थानीय राजनीतिक नेतृत्वको खिचातानीका कारण सयौं पीडितसम्म अझै सामान्यखाले राहतसमेत पुग्न नसकेको हो।

तीन दिनअघि विभिन्न दातृ संस्थाबाट प्राप्त चामल, दाललगायत खाद्यान्न, ओढ्ने, ओछ्याउने र पानीबाट ओतिने कपडा, म्याट, त्रिपाललगायत सामग्री लिएर बाग्मती सेवा समाज नेपाल हरिवन नामक गैरसरकारी संस्था धनकौल गाउँपालिका पुगेका थिए। बाढी एवं डुबानबाट अत्यन्त पीडित वडा ४ स्थित महिनाथपुर गाउँमा वितरण गर्न राहत सामग्री बोकेर गएको बाग्मतीको टोलीले बाँड्नै सकेन। दुई दिनपछि बल्लतल्ल प्रहरी सुरक्षा घेरामा सामान वितरण ग-यो।

धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साह र वडा ४ का वडाध्यक्ष चुनचुन भन्ने भोजेन्द्र राय यादवबीच राहत वितरण गर्ने विषयमा विवाद हुँदा केही दिन सामग्री बाँड्न नसकिएको बागमती सेवा समाजका गजेन्द्र साहले जानकारी दिए। कांग्रेसबाट जितेका गाउँपालिका अध्यक्ष रामआश्रय साह तथा तत्कालीन माओवादी केन्द्रबाट जितेका वडाध्यक्ष भोजेन्द्रले आफूले बाँड्न पाउनुपर्ने जिकिर गरेका कारण राहत वितरणमा ढिलाइ भएको थियो। त्यस्तै बलरा नगरपालिका–१ मा राहत वितरण गर्दा वास्तविक पीडितभन्दा पनि आफन्तलाई बाँडिएको भन्दै सयौं स्थानीयले दुई दिन मेयर अभय सिंहको घरमा रहेको नगरपालिका कार्यालयको सम्पर्क कार्यालय घेराउ गरे। मेयर सिंहले राष्ट्रिय जनता पार्टी (राजपा) बाट निर्वाचित हुन् भने वडा १ का वडाध्यक्ष सन्तोष सिंह कांग्रेसबाट विजयी भएका हुन्।

‘पीडितको लिस्ट नै तीनथरी भएकाले राहत वितरणमा कठिनाइ भइरहेको छ,’ सर्लाहीमा सुरुदेखि राहत वितरणमा क्रियाशील बागमती सेवा समाजका निरज भण्डारीले भने, ‘स्थानीय तहका प्रमुखले एउटा लिस्ट, वडाध्यक्षले अर्कै लिस्ट अनि प्रहरीको छुट्टै लिस्ट हुँदा लक्ष्यअनुसार सबै ठाउँमा राहत बाँड्न सकिएको छैन।’ संस्थाले मंगलबार दिउँसो इलाका प्रहरी कार्यालय गढैया डुमरियामा एक सेट भाँडाबर्तन तथा त्रिपालसहितको राहत सामग्री वितरण ग-यो। अत्यन्त पीडित त्यसमा पनि दलित, अपांगता भएका लगायत छानेर डेढ सय परिवारलाई मात्र पुग्ने राहत सामग्री लिएर गएको संस्थाको टोलीलाई झन्डै दुई घण्टा स्थानीयले नियन्त्रणमा लिएका थिए। इलाका प्रहरी कार्यालयभित्रै हजारौं स्थानीय पसेर राहत सामग्री आफूले पाउनुपर्ने माग राखेको तर पछि प्रहरीले निकै सम्झाइबुझाइ गरेपछि साँझ राहत वितरण गरेर टोली फर्किएको भण्डारीको भनाइ छ।

प्रकाशित: १० श्रावण २०७६ ०१:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App