८ वैशाख २०८१ शनिबार
राजनीति

पहिला महाधिवेशनको मिति तोक्न माग

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले पार्टीको १४औं महाधिवेशनको मिति तय गर्नुपर्नेमा जोड दिएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबारदेखि सुरु केन्द्रीय समितिमा चार वर्ष कार्यकाल सकिन केही समयना मात्र बाँकी रहेको भन्दै केनद्रीय सदस्यहरूले महाधिवेशनको मिति तयगर्नुपर्नेमा जोड दिएका हुन्।

पार्टीको अन्तरिम संरचना निर्माण र १४ औं महाधिवेशनको तयारीका विषयमा भएको छलफलमा केन्द्रीय सदस्य सदस्य नवीन्द्रराज जोशीले अधिवेशनको मिति पहिला तोक्नुपर्ने तर्क गरे। पार्टी महाधिवेशनको मिति तय तथा नयाँ संविधानअनुसार निर्माण भएका संरचना कसरी गठन गर्ने भन्ने बहस उपयुक्त हुने तर्क गर्दै उनले भने, ‘पहिला लक्ष्य तय गरौं, अनि त्यसलाई भेट्ने बाटो कुन उपयुक्त हुन्छ खोज्न सकिन्छ।’

अधिवेशनले पार्टीमा उत्साह भर्ने धारणा राख्दै जोशीले भने, ‘जनताले कम्युनिस्टको विकल्प खोजेका छन्। उनीहरूको विकल्प कांग्रेस नै हो तर त्यसका लागि हामी पनि तयार बनाैं।’ केन्द्रीय सदस्य महेश आर्चायले महाधिवेशन हुने एक वर्ष पहिला नै स्थानीय तहको अधिवेशन गर्नुपर्ने विधानमा व्यवस्था रहेको नेतृत्वलाई स्मरण गराए। पार्टी विधानमा रहेका प्रावधानहरुलाई अध्ययन गरेर पदाधिकारीहरुले केन्द्रीय समितिको बैठकमा प्रस्ताव लिएर आउनु पर्ने धारणा राख्दै आचार्यले बैठकमा भने, ‘बैठकमा अजेन्डा होइन पदाधिकारीले प्रस्ताव लिएर अनुपर्छ।’ अन्तरिम संरचना निर्माणदेखि महाधिवेशनका विषयमा प्रस्ताव लिएर आउन नेतृत्वलाई उनले सुझाए।

बैठकमा केन्द्रीय सदस्य चन्द्र भण्डारीले महाधिवेशन मिति र अन्तरिम संरचना सहमतिबाटै टुंगो लगाउनुपर्ने धारणा राखेका थिए। विगतमा गिरिजाप्रसाद कोइराला वा सुशील कोइरालाले महाधिवेशन सारेका थिए तयसकारण अहिले पनि महाधिवेशन सार्ने भन्ने कुरा तर्कसंगत नहुने धारणा राख्दै भण्डारीले भने, ‘नेताहरुले सडेन्त्र गरे भन्ने होइन उपकार गरे भन्ने विश्वास जगाएर जाउँ।’

कम्युनिस्ट नेतृत्व सरकार असहयोगी र पक्षपातपूर्ण ढंगबाट प्रस्तुत भएको भन्दै पार्टी नेतृत्वलाई आगामी निर्वाचनको तयारीमा अहिले देखिनै जुट्नुपर्ने सुझाव दिए। कास्कीमा हुने उपनिर्वाचन केप ीओली नेतृत्व सरकार र कांग्रेसका लागि पनि परिक्षणको विषय भएको उनको तर्क थियो।

बैठकमा केन्द्रीय सदस्य मीन विश्वकर्माले पार्टी विधानअनुसार एक वर्ष अघि नै स्थानीय तहको अधिवेशन गर्नुपर्ने व्यवस्था रहेको दोहो¥याउँदै बाँकी समयका लागि निर्वाचनमा जानुभन्दा सहमतिबाट अन्तरिम संरचना निर्माण गर्नुपर्ने धारणा राखेका थिए। अन्तरिमकालका लागि निर्माण गरीएका संरचनाले १४ औं अधिवेशन गराउने धारणा राख्दै समायोजन हुन बाँकी रहेका स्थानीय तहमा रहेका पार्टी नेतृत्वमध्ये सदरमुकाम, जेष्ठता वा ठूलो भूगोलका आधारमा नेतृत्व टुंगो लगाएर जानुपर्ने प्रस्ताव गरेका थिए। तीन विकल्पमा पनि सहमति जुट्न नसकेका स्थानमा मात्र निर्वाचन गर्ने विकल्पलाई खुला राखेर अन्तरिम संरचना निर्माण गर्नुपर्ने धारणा विकले राखेका छन्।

बैठकमा केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडु, मोहन बहादुर बस्नेत, देवेन्द्रराज कँडेलसहितका नेताले विधानको व्यवस्थालाई समेत ध्यानमा राखेर महाधिवेशनको तयारीमा जुट्नुपर्ने धारणा राखे। बुधबार बसेको पदाधिकारी बैठकले विधानको व्यवस्था अनुसार निर्वाचन प्रक्रियामार्फत नै अन्तरिम संगठन निर्माण गर्ने र त्यसैभित्र रहेर सहमति खोज्ने समझदारी गरेका छन्। बैठक शुक्रबार १ बजे पुनः बस्नेछ। शुक्रबारको बैठकमा पार्टीका शीर्ष नेताहरूले छलफल गरेर साझा प्रस्ताव लैजाने तयारी गरेका छन्।

प्रकाशित: १० श्रावण २०७६ ०१:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App