७ वैशाख २०८१ शुक्रबार
समाज

दोर्दी खोलामा बाढी: मृतक चारै जनाको सनाखत, एक सम्पर्कमा, ६ जना अझै बेपत्ता

लमजुङ– बुधबार दिउँसो दोर्दी खोलामा एक्कासी आएको बाढीले बगाएपछि फेला परेका चारवटै शवको सनाखत भएको छ।

पूर्वी भेगको दोर्दी गाउँपालिका ६ ढोडेनी क्षेत्रको माथिल्लो भागबाट आएको बाढीमा परेर मृत्यु भएका चार जनाको बिहीबार सनाखत भएको प्रमुख जिल्ला अधिकारी डा.डिजन भट्टराईले बताए।

जिल्ला प्रशासन कार्यालयका अनुसार पर्सा जिल्लाका ३० वर्षीय शिवधन चौधरी, सप्तरीको सप्तरी नगरपालिका ८ का अन्दाजी ५० वर्षीय भुवनेश्वर चौधरी, डडेल्धुराको आलेताल गाउँपालिका ६ का अन्दाजी ३५ वर्षीय रमेश बुढा र बारा जीतपुर उपमहानगरपालिकाका ३५ वर्षीय सईद अन्सारीको सनाखत भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बसन्त पाण्डेले बताए। दोर्दी गाउँपालिका ४ शेराबजार नजिकै दुई जनाको, अर्को एक जनाको सो स्थानबाट केही माथि र एक जनाको शव वडा नम्बर ६ कीर्तिपुरमा भेटिएको थियो। सबै शवको सदरमुकाम बेसीशहरस्थित जिल्ला सामुदायिक अस्पतालमा पोष्टमार्टम् भइसकेको पाण्डेको भनाई छ।

बाढीले बगाएका कुल ११ जना मध्ये ४ जनाको मृत्यु भएको, एकजना बिहीबार बिहान सम्पर्कमा आएको र बाँकी ६ जना अझै हराइरहेका अपरदोर्दी जलविद्युत आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले बताए। दोर्दी गाउँपालिका ६ का बिनोद तामाङ, कञ्चनपुरका ४३ वर्षीय देवबहादुर कोली, डडेल्धुराका ४५ वर्षीय कर्ण बुढा,  सप्तरीका ४० वर्षीय सुरेन्द्र चौधरी, बाराका ३४ वर्षीय ज्ञानेन्द्र चौधरी र भोजपुरका २२ वर्षीय दिवस कटुवाल हराई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृत्यु भएका, घाइते र बेपत्ता भएका सबै निर्माणाधिन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाका कामदारहरु रहेको प्रहरी निरीक्षक पाण्डेले जनाए। 

बाढीमा परेर ८ जना घाइते भएका छन्। घाइते हुनेमा सप्तरीका ३१ वर्षीय सन्तोष सरदार, बारा जीतपुर सिमरा नगरपालिकाका ४२ वर्षीय हरि बिक, डढेल्धुराका २५ वर्षीय सुरज बुढा, डढेल्धुराकै ४६ वर्षीय धनसिंह सेडी, कलैयाका ३० वर्षीय अर्जुन शर्मा, सप्तरीका २४ वर्षीय सुरज सादहा, धनगढीका २५ वर्षीय रमेश विक र लमजुङ बेसीसहर नगरपालिका ६ का अर्जुन आले रहेको प्रहरीले जनाएको छ। उनीहरुको टाउको, हातगोडा र शरिरका विभिन्न ठाउँमा चोट लागेको छ। बेसीसहरस्थित सामुदायिक अस्पतालमा उनीहरुको उपचार गराइएको छ। घाइतेमध्ये २ जनालाई अस्पतालले डिस्चार्ज गरेको, ३ जना राम्रो अस्पतालमा उपचार गराउने भन्दै जिल्ला बाहिर गएको र २ जनाको सामुदायिक अस्पतालमै उपचार भइरहेको अस्पतालका निमित्त प्रशासक हेमन्त श्रेष्ठले बताए। बाढीमा हराएकाहरुको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहकार्यमा खोजी भइरहेको प्रहरी नायव उपरीक्षक रबिन्द्रमान गुरुङले बताए। 

त्यस्तै बाढीले सो गाउँपालिका ६ ढोडेनीमा पिपुल हाईड्रोपावर कम्पनीले निर्माण गरिरहेको ५४ मेगावाट क्षमताको सुपरदोर्दी ‘ख’ आयोजाको एकथान जेनेटर, एक मिक्सचर, दुई ट्याक्टर र लोडर लगायतका साधन बगाएको सुपरदोर्दी इन्भेस्टमेन्ट कम्पनी लिमिटेडका अध्यक्ष इजन बरालले बताए। आफ्नो आयोजनामा केही क्षति भएको तर क्षतिको एकिन हुन भने केही समय लाग्ने उनको भनाई छ। 

दोर्दीखोला आसपासका स्थानीय र आयोजनाहरुमा काम गर्ने सबैलाई सतर्क रहन प्रमुख जिल्ला अधिकारी भट्टराईले आग्रह गरेका छन्।

प्रकाशित: ९ श्रावण २०७६ १३:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App