८ वैशाख २०८१ शनिबार
समाज

सूर्यविनायकमा पहिरोले घरदेखि सडकसम्म भत्कायो

भक्तपुर- लगातार परेको वर्षाका कारण भक्तपुरमा गएको पहिरोले सडक भत्काउनेदेखि बस्तीसमेत जोखिममा पारेको छ। सूर्यविनायक नगरपालिकाले जोखिममा परेको बस्ती नगरपालिकाका सबै क्षेत्रमा भएको क्षतिको अनुगमन गरेको छ।

अनुगमन समितिका संयोजक एवं नगरपालिकाका उपप्रमुख जुना बस्नेतले सूर्यविनायकका १० वटै वडाको अनुगमन गरेर क्षति विवरण सङ्कलन शुरु गरेको जानकारी दिए। उपप्रमुख बस्नेतका अनुसार वडा नं १ मा पहिरोले दुई वटा घरमा क्षति पुगेको, केही घर जोखिममा रहेकाले तत्काल पहिरो रोकथाम नगरे ठूलै क्षति हुने बताए।

त्यसैगरी वडा नं ४ मा अनन्तलिङ्गेश्वर जाने मुख्य सडक नै भत्किएको, अन्य दुई वटा सडकमा क्षति पुगेको, गुण्डु ७ र ८ भएर घ्याम्पेडाँडा जाने मुख्य कालोपत्र सडक पूरै पहिरोसँगै जाँदा यहाँ जाने यातायातका साधनसमेत एक सातादेखि बन्द भएको छ। घ्याम्पेडाँडा दुई वटा घरमा क्षति पुगेको छ।

वडा नं ९ नङ्खेलमा खोलाको डिलमा घर बनाएका कार्की बस्तीको छ घर उच्च जोखिममा परेको छ। यहाँको छ घरलाई अन्यत्र बस्ती नै सार्नुपर्ने अवस्था देखिएको छ। वडा नं १० चित्तपोलमा तार जाली दिएर पहिरो रोकथामको प्रयास गरिएको छ भने पाँच वटा घर उच्च जोखिममा परेका छन्। जोखिममा परेका घरलाई वरिपरि नै त्रिपाल बेरेर राखिएको नगरपालिकाको उपप्रमुख बस्नेतले जानकारी दिए।

उनले सबै वडाका अध्यक्षलाई आफ्नो वडामा भएको क्षतिको विवरण सङ्कलन गरेर नगरपालिकामा बुझाउन भनेको बताए। नगरपालिकाका प्रमुख वासुदेव थापाले भने नगरपालिकाले बाढी, पहिरोपीडितका लागि नगरपालिकाले राहत उपलब्ध गराउने बताउँदै नगरपालिकाको बैठकले यसबारेमा निर्णय लिने बताए। रासस

प्रकाशित: ९ श्रावण २०७६ १३:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App