८ वैशाख २०८१ शनिबार
समाज

मेचीनगरको बजेट एक अर्ब ४२ करोड

भद्रपुर - मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ का लागि एक अर्ब ४२ करोड ८८ लाख ६० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। बुधबार पत्रकार सम्मेलनमार्फत नगरपालिकाले बजेट सार्वजनिक गरेको हो। असार १० गते सुरु भई २४ गते सम्पन्न भएको नगरको चौथो नगरसभाबाट पारित भइसकेको बजेट बुधबार सार्वजनिक गरिएको उपप्रमुख मीना उप्रेतीले बताए।

बजेटमा नेपाल सरकारबाट समानीकरणमार्फत २५ करोड १९ लाख रुपैयाँ र प्रदेश नं १ सरकारबाट सोही शीर्षकमा ८९ लाख २३ हजार रुपैयाँ प्राप्त हुने उल्लेख छ भने विभिन्न कर महसुलबाट १० करोड ५८ लाख ४० हजार रुपैयाँ आन्तरिक आय हुने प्रक्षेपण गरिएको छ।

नयाँ बजेटमा पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्यलगायतमा प्राथमिकता दिइएको छ। गत आवको भन्दा यो वर्ष आन्तरिक आय रु छ करोड वृद्धि गर्ने लक्ष्य लिइएको उपप्रमुख उप्रेतीले बताए। बजेटमा नगरका १५ वडालाई रु एक करोड ३० लाखका दरले वडा बजेट विनियोजन गरिएको र नगरका विपन्न व्यक्तिलाई उपचारका लागि रगत चाहिएमा निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाइएको उनले जानकारी दिए।

नगरप्रमुख विमल आचार्यले बजेटलाई समयमै खर्च गरी फछ्र्योट गर्नका लागि जेठ मसान्तभन्दा उता कुनै पनि परियोजनाको बिल भर्पाइ स्वीकार नगरिने र रकम निकासका लागि चेक नकाटिने घोषणा गरेका छन्। बजेटमा हुने गरेको ‘असारे खेती’को बेथिति रोक्न नगरपालिकाले यस्तो कदम चाल्ने निर्णय गरेको नगरप्रमुख आचार्य बताउँछन्। उनले मुलुकको प्रवेश नाकासमेत भएको र पर्यटकलाई असुविधा नहोस् भनेर यो वर्षदेखि नगरभित्र पटके सवारी कर खारेज गरिएको जानकारी दिए।

प्रकाशित: ९ श्रावण २०७६ ०६:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App