७ वैशाख २०८१ शुक्रबार
समाज

‘निजी विद्यालयको शुल्कमा एकरुपता हुनुपर्छ’

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा शिक्षाविद्हरुले निजी विद्यालयका शुल्कमा एकरुपता हुनुपर्नेमा जोड दिएका छन्। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले बुधबार राजधानीमा आयोजना गरेको शैक्षिक बहस कार्यक्रमका सहभागीहरुले निजी विद्यालयहरुले मनोमानी ढंगबाट शुल्क असुलिरहेको जनाउँदै त्यसलाई रोक्नुपर्नेमा जोड दिए।
निजी विद्यालयले राज्यको राजश्व संकलनमा ठूलो योगदान दिएको बताउँदै नेपाली कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पूर्वअर्थमन्त्री रामशरण महतले योगदानका नाममा कसैलाई पनि ब्रह्मलुट गर्ने छुट नभएको धारणा व्यक्र गरे। सरकारले निजी विद्यालयको शुल्कको अनुगमन गर्नुपर्ने बताउँदै पूर्वअर्थमन्त्री महतले भने, ‘गुणस्तरीय शिक्षामा सरकारले जोड दिनुपर्छ र शुल्कको पनि उचित अनुगमन हुनुपर्छ।’

कार्यक्रमका अर्का वक्ता नेकाका केन्द्रीय सदस्य गुरुराज घिमिरेले शिक्षा क्षेत्रको नियमन नहुँदा निजी विद्यालयहरुले चर्को शुल्क असुल्दै आइरहेको बताए। ‘उद्यम गर्ने र नियमन गर्ने व्यक्ति एउटै हुँदा शिक्षा क्षेत्र अराजक बन्दै गएको छ,’ केन्द्रीय सदस्य घिमिरेले भने, ‘जथाभावि शुल्क वृद्धि रोकिनुपर्छ।’
निजी विद्यालयको उपस्थिति शहरी क्षेत्रमा मात्र भएको सुनाउँदै शिक्षाविद् विद्यानाथ कोइरालाले शहरी र गाउँका विद्यालयबीचको दूरी कम गरी समान शिक्षा प्रदान गर्नेतिर विद्यार्थी संगठनहरुको ध्यान जानुपर्ने बताए। ‘कालो धनलाई सेतो बनाउन शिक्षा क्षेत्रमा लगानी गर्ने प्रवृत्ति बढ्दै गएको छ। यो प्रवृत्ति चिन्ताजनक छ,’ शिक्षाविद् कोइरालाले भने।

शिक्षाविद् सुरेन्द्र केसीले विश्वविद्यालय पठनपाठन गर्ने थलो भन्दा पनि राजनीतिक गर्ने थलो बन्दै गएकाले शिक्षा क्षेत्र बिग्रिँदै गएको धारणा व्यक्त गरे। कार्यक्रममा नेवि संघका नेता मोतीलाल भण्डारी, लिलावल्लभ दाहालसहितका वक्ताले निजी विद्यालयलाई सहकारी वा सामुदायिक विद्यालयका रुपमा रुपान्तरण गरी कम शुल्कमा शिक्षा दिने नीति सरकारले ल्याउनुपर्नेमा जोड दिए। निजी विद्यालयहरुले मनपरी शुल्क असुलेको भन्दै नेवि संघका कार्यकर्ताले त्यसका विरुद्धमा साउन १० गतेदेखि सडक आन्दोलन गर्ने जनाएको छ।

प्रकाशित: ९ श्रावण २०७६ ०३:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App