८ वैशाख २०८१ शनिबार
समाज

अकुत सम्पत्तिमाथि अख्तियारले डेढसयमाथी अनुसन्धान

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा करिब डेढ सय कर्मचारीमाथि अनुसन्धान भइरहेको जनाएको छ। भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र आयोगबाट भइरहेका कार्यसम्पादनका विषयमा बुधबार विभिन्न सञ्चारमाध्यममा कार्यरत सम्पादकहरुसँग छलफलमा प्रमुख आयुक्त नविन घिमिरेले व्यक्तिको सार्वजनिक प्रतिष्ठा र अनुसन्धानमा असर पुग्ने भएकाले उनीहरुको विवरण सार्वजनिक नगरिएको बताए।

छानबिनका क्रममा रहेका व्यक्तिविरुद्ध अदालतमा मुद्दा दायर भएपछि मात्रै आयोगले त्यसबारे विस्तृत विवरण सार्वजनिक गर्ने उनले स्पष्ट पारे। भ्रष्टाचार नियन्त्रण तथा अकुत सम्पत्ति छानबिनमा आम मानिसको अख्तियारसँग ठूलो अपेक्षा रहेको बताउँदै घिमिरेले त्यस अनुसार नै आयोगले काम गरी रहेको दाबी गरे। ‘आयोगले एक सय ३०÷४० भन्दा बढी व्यक्तिको सम्पत्ति छानबिन गरिरहेको छ,’ आयुक्त घिमिरेले भने, ‘व्यक्तिको सार्वजनिक प्रतिष्ठालाई ख्याल गरेर अदालतमा आरोपपत्र दायर नभएसम्म विषय सार्वजनिक गर्दैनौं।’

सार्वजनिक पद धारण गरेका पूर्व तथा बहालबाला राजनीतिक व्यक्ति, कर्मचारीलगायतको सम्पत्तिमा आयोगले अनुसनधान गरिरहेको उनले बताए। उनले सम्पत्ति छानबिनको मोडालिटी विगतको तुलनामा केही परिवर्तन गरेको पनि जानकारी दिए। ‘पहिले फाराम भराएर विस्तृत अनुसन्धानमा जाने गरेकोमा अहिले प्रारम्भिक छानबिन गरेर मात्रै विस्तृतमा अनुसन्धान गर्छौं,’ उनले भने, ‘विस्तृतमा जानुपर्ने अवस्था भए मात्रै प्रमुख आयुक्तको निर्देशनमा अनुसन्धान हुन्छ। त्यसैमा आधारित भएर अहिले अकुत सम्पत्तिमा छानबिन भइरहेको छ।’ अकुत र गैरकानुनी सम्पत्ति आर्जनविरुद्ध सम्पत्ति शुद्धीकरण विभाग र राजस्व अनुसनधान विभागसँग आपसी सहकार्यमा काम भइरहेको पनि प्रमुख आयुक्त घिमिरेले जानकारी दिए।

गैरकानुनी सम्पत्ति आर्जनविरुद्ध सम्पत्ति शुद्धीकरणसँग एमओयु नै गरेर सूचना आदानप्रदान भइरहेको उनले खुलाए। कार्यक्षेत्र सीमितताका कारण सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान विभागसँग समन्वय गरेर काम गर्नुपरेको उनले स्पष्ट पारे। मन्त्रिपरिषद्बाट भएका नीतिगत निर्णयका कारण भ्रष्टाचार नियन्त्रणसम्बन्धि अनुसन्धानमा केही असर पुगेको भन्दै प्रशासनिक र नीतिगत निर्णय छुट्याइदिन पनि उनले सरकारलाई आग्रह गरे। ‘भ्रष्टाचार नियन्त्रणमा राजनीतिक नेताहरुले जिम्मेवारी लिएनन् भन्ने छ। भ्रष्टाचार न्यूनीकरण र नियन्त्रण आयोग एक्लैको सरोकारको विषय पनि होइन,’ घिमिरेले भने, ‘आयोगले रिजल्ट पस्कने हो। समग्रहमा सरकारका निकायहरुले प्रभावकारी रुपमा काम गर्नुपर्ने अपेक्षा हाम्रो हो।’

आयोगले कुनै प्रभावमा नपरी काम गर्ने भन्दै उनले विगतबाट नै पाठ सिकेर आफूहरु अघि बढेको स्पष्ट पारे। ‘आयोग विभिन्न आरोह अवरोहबाट गुज्रेको छ। हामीले यसैबाट सिकेर सकारात्मक कुरालाई ग्रहण गर्दै जाने हो,’ उनले भने, ‘हामी सचेत र प्रतिबद्ध पनि छौं। एउटा कोठामा खुम्चेर होइन शीर ठाडो हुनेगरी काम गरेर बाहिर निस्कन सकौं भन्नेमा हामी दृढ पनि छौं।’

प्रकाशित: ९ श्रावण २०७६ ०३:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App