६ वैशाख २०८१ बिहीबार
विचार

मदनको विरासत

आज मदन जयन्ती। 'सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्त हुनुपर्छ' भन्ने जननेता मदन भण्डारीले कम्युनिस्ट आन्दोलनभित्रको जडतालाई तोडेर जनताको बहुदलीय जनवाद प्रतिपादन गर्नुभएको थियो। यतिबेला जबज नेपाली क्रान्तिको विशिष्टताको उपज तथा नेपालका सर्वहारा वर्गीय श्रमजीवीहरुको मुक्तिको सिद्धान्त बन्न पुगेको छ र नेपाली क्रान्तिको मार्क्सवादको रुपमा अगाडि बढिरहेको छ। सिद्धान्ततः शान्तिपूर्ण क्रान्तिलाई कम्युनिस्ट पार्टीहरुले विश्वास नगरेको स्थितिमा भण्डारीले सेनासहित सशस्त्र संघर्ष गरिरहेका नेपाल लगायत अन्य देशका कम्युनिस्ट पार्टीहरुलाई हिंसा क्रान्तिको अनिवार्य साधन हुन सक्दैन भन्दै जनवादी राज्यसत्तालाई प्रजातान्त्रीकरण गर्ने र बहुदलीय प्रतिस्पर्धाको ग्यारेन्टी गर्दै निर्वाचनमा गई जनताको विश्वास जित्नुपर्ने कुरा अगाडि सार्नुभयो। कम्युनिस्ट पार्टीहरुले राज्यसत्ता चलाउँदा गरेका त्रुटिलाई पहिचान गर्दै जबज पहिलो संघटक अंगको रुपमा प्रस्तुत हुन पुग्यो। यो सिद्धान्ततः 'शासन प्रणालीमा द्वन्द्ववादको प्रतिस्थापन' र कम्युनिस्ट आन्दोलनको लोकतान्त्रीकरणको रुपमा अगाडि आयो। शासन प्रणालीमा द्वन्द्ववादको प्रतिस्थापनको सन्दर्भमा मदन भण्डारीले स्पष्ट पार्नुभएको छ। संगठित हुने मौलिक हक दिने कि नदिने? नदिनु अप्रजातान्त्रिक एवं एकाधिकारवादी कुरा हुनसक्छ। मार्क्सवादको दृष्टिकोण र दर्शनबीच द्वन्द्वात्मक अन्तरसम्बन्ध रहेको कुरा मार्क्सवादले स्वीकार्छ। एउटा जनताकै जनवादी व्यवस्थामा भए पनि अर्थतन्त्र, संस्कृति र समाजभित्र अनिवार्य रुपमा द्वन्द्व हुन्छ, त्यसको प्रकृति फरक फरक हुन सक्छ। शत्रुता स्वयं द्वन्द्व हो, अन्तरविरोध हो तर सबै अन्तरविरोध शत्रुतापूर्ण हुँदैन। यदि द्वन्द्व सार्वभौम नियम हो भन्ने कुरा साँचो हो भने राजनीतिमा किन द्वन्द्व हुन नदिने? यदि कुनै पनि वस्तुमा रहेको द्वन्द्वात्मक यथार्थलाई दमन गरेर प्रकट हुन दिइँदैन भने त्यसले शत्रुता र विस्फोटको रुप लिन सक्छ। यस कारण कुनै पनि राज्य व्यवस्थामा तत्कालीन समाजमा रहेका राजनीतिक दृष्टिकोणको बीचमा संविधान सम्मत ढंगबाट प्रतिस्पर्धा हुन दिनुपर्छ। समाजमा रहेका हरेक विविधतालाई व्यक्त हुन दिनु पर्दछ। यो नै यथार्थमा जनवादी प्रणाली हुन सक्छ। मदनले भन्नुभएको छ, कम्युनिस्ट पार्टीको नेतृत्व मार्क्सवाद लेनिनवादको मार्गदर्शनमा चल्ने सर्वहारा श्रमजीवी वर्गको राजनीतिक पार्टीको नेतृत्वमा मात्र जनताको जनवादी व्यवस्थाको सुदृढिकरण र समाजवादमा संक्रमण गर्ने काम समाजमा गर्न सकिन्छ। तर, यसलाई पनि प्रतिस्पर्धा र पहलकदमी गरेर संविधानमा उल्लेख गर्दै राज्यको बल प्रयोग गरेर नेतृत्व गर्ने कुरा उपयुक्त र प्रजातान्त्रिक हुन सक्दैन। त्यस कारण सर्वहारा र श्रमजीवी वर्गले मार्क्सवादी लेनिनवादी पार्टीको नेतृत्व गर्नु अनिवार्य छ। तर, त्यो संघर्ष जनताको सेवा, पहलकदमी र प्रतिस्पर्धाबाट मात्र हातमा लिन सकिन्छ। यसलाई सैद्धान्तिक रुपमा उल्लेख गरेर वा राजकीय बल प्रयोगबाट होइन, लोकतान्त्रिक मूल्य मान्यताबाट आत्मसात गरेर मात्र पाप्त गर्न सकिन्छ।

कम्युनिस्ट पार्टीको लोकतान्त्रीकरण ४ वटा विषयसँग सम्बन्धित छ।

पहिलो, कम्युनिस्ट पार्टीको लोकतान्त्रीकरण। प्रतिस्पर्धामा उत्कृष्टताले मात्र शत्रुलाई पराजित गर्न सकिन्छ। बहुमतले आत्मसात गरेको कम्युनिस्ट पार्टी मात्र आन्तरिक जनवादयुक्त पार्टी हुनु, आन्तरिक जनवादले सुसज्जित पार्टी मात्र बलियो पार्टी हुनु, सिद्धान्तको सिर्जनात्मक प्रयोग गर्नसक्ने पार्टी मात्र गतिशील हुनसक्नु र सिर्जनात्मकता मूल्यांकन प्रतिस्पर्धा र बहुमतको कदर गर्ने कम्युनिस्ट पार्टी बनाउनु सधैँ आन्तरिक एवं बाह्य प्रतिस्पर्धामा लगाउनु, बहुमतको विचारको पतिस्थापन गर्ने जनताको बहुमतको कदर गर्न र पार्टी सदस्य तथा कमिटीको बहुमतको कदर गरिन आवश्यक छ।

दोस्रो, राज्यसत्ताको लोकतान्त्रीकरण। उत्पादक शक्तिको बहुमत हिस्सालाई सामेल नबनाई राज्यसत्ता उत्पादक शक्तिको चासोको विषय बन्न सक्दैन। बहुदलीय राजनीतिक प्रणालीको शासन भएको राज्यसत्ता मात्र जनताको मूल्यांकनको विषय बन्न सक्छ। उत्पादक शक्तिको रक्षा जनताको मूल्यांकनको विषय बनाउन बहुदलीय राजनीतिक प्रतिस्पर्धाको शासन प्रणाली अपनाउनु नै राज्यसत्ताको प्रजातान्त्रीकरण हो। राज्य सत्ताको लोकतान्त्रीकरणका लागि राज्य सत्ताको सास भनेका वर्ग स्वार्थ र त्यसको आधारमा भएकाले वर्ग आधार बलियो नभई राज्य सत्ता टिक्न नसक्ने ठान्नु, उत्पादक शक्तिको सबै वर्ग, तह र तप्कालाई राज्यसत्तामा प्रतिनिधित्व गराउन समान अवसर पदान गरिनु, जनताको राज्यसत्तालाई जनताको मूल्यांकनको विषय बनाउनु र विरोध वा समर्थनको बहुदलीय राजनीतिक प्रतिस्पर्धाको प्रणाली बनाउनु आवश्यक हुन्छ।

तेस्रो, जनआन्दोलनको लोकतान्त्रीकरण। वर्ग संघर्षलाई आत्मसात नगरी गरिएको आन्दोलन सफल हुन सक्दैन। आन्तरिक प्रतिस्पर्धामा संलग्न नभएको शक्ति प्रगतिशील र सुदृढ हुन सक्दैन। वर्ग संघर्षको नियम, विजयको ग्यारेन्टी र सुव्यवस्थित योजनाअनुरुप आन्दोलनको लोकतान्त्रिकरण हुनसक्छ। त्यसका लागि जनआन्दोलनलाई वर्ग संघर्षको नियमअनुसार सञ्चालन प्रगतिशील शक्तिको विजयको ग्यारेन्टीका साथ जनआन्दोलन सन्चालन र उत्पादक शक्तिको बहुमत हिस्सालाई आन्दोलनमा संलग्न गराउँदै आन्तरिक प्रतिस्पर्धामा अगाडि बढाउनु पर्छ।

चौथो, अर्थतन्त्रको लोकतान्त्रीकरण। समाजमा विद्यमान भिन्न किसिमका आर्थिक प्रणालीसँग प्रतिस्पर्धामा जान नसक्ने आर्थिक पणाली पगतिशील आर्थिक पणाली हुन सक्दैन। उत्पादक शक्तिको विकासमा योगदान गर्नका लागि भिन्न भिन्न आर्थिक प्रणाली र प्रणालीभित्रका क्षेत्रमा प्रतिस्पर्धामा जाने कुरालाई अर्थतन्त्रको लोकतान्त्रीकरणको रुपमा लिन सकिन्छ। अर्थतन्त्रको लोकतान्त्रिकरणका लागि उत्पादक शक्तिको विकासका लागि अर्थतन्त्रको निर्माण समाजमा विद्यमान सबै आर्थिक पणालीबीच पतिस्पर्धा र अर्थतन्त्रको सबै क्षेत्रमा प्रतिस्थापन गर्नुपर्छ।

जबजले थुपै वर्गीय, क्षेत्रीय, लंैगिक, आर्थिक, सामाजिक, सांस्कृतिक पक्षहरुको सैद्धान्तिक रुपमा  विश्लेषण गरेको छ। यो विश्व कम्युनिष्ट आन्दोलनमै थपिएको नयाँ सिद्धान्त हो। नेकपा एमालेले त यसलाई मार्गदर्शक सिद्धान्तको रुपमा अगाडि सारी यसको रक्षा, प्रयोग र विकास गर्ने पतिबद्धता जाहेर गरेको छ। स्वयं मदनले नै भन्नुभएको छ, 'सिद्धान्तलाई वास्तविक जीवन र पयोगमा स्थापित गर्न सकिएन भने जनता गलत सिद्धान्तको भरमा पर्नेछन्। सही सिद्धान्तको अनुयायी बनेर मन्त्र जपे पनि हामी व्यवस्थामा त्यसको विरोधी साबित हुनेछौं।' एमालेसँग मदनले छाडेको उत्कृष्ट सिद्धान्त छ, विचारको दरिलो हतियार छ तर त्यो हतियारलाई राम्रोसँग प्रयोग, विकास र समृद्ध बनाउने प्रभावकारी नेतृत्व छैन। नेतृत्वहरु विभक्त छन्। गुट–उपगुटमा रमाइरहेका छन्। भेलाहरु अनगिन्ती हुने गर्छन्, जबजमाथि बहस पनि हुने गर्छ तर केही यस्ता पात्रहरु जसले आफूलाई  मदनका उत्तराधिकारी हौं भन्ने ठान्छन्, जबजको सहलेखकजस्तो बन्न खोज्छन्। जबजलाई आफ्नै बाबुको बिर्ता सम्झन्छन्। एउटा गुटले मात्र यसको वकालत गर्न पाइन्छ भन्ने जस्तो व्यवहार पदर्शन गर्छन्। के यस्तै पाराले जबजको मान्यताले पूर्णता पाउला? केही समय पहिले काठमाडौंमा जनताको बहुदलीय जनवाद र समृद्धिको यात्रा भन्ने ब्यानरमा ठूलै कार्यक्रम सम्पन्न भएको समाचार बाहिर आयो। सुनियो, रात्रिभोज पनि भयो रे। सुनियो, कार्यक्रममा जबजको सैद्धान्तिक पक्षको बारेमा कुनै बहस, छलफल भएनछ। छलफल भयो, भेलामा अर्को पक्ष सक्रिय बनेको संस्थापन पक्षको बहुमतले पेल्न नसकेको निष्कर्ष निकालिएछ। के यस्तै पाराले जबज समृद्ध होला?

असल सिद्धान्त छ भनेर दिनहुँ फलाक्ने, शब्द आडम्बरमा भमको खेती गर्ने र मदनको नाम जप्ने तर मदन आफैँले अगाडि सारेको मान्यता अनुसारको एकरत्ति काम नगर्ने हो भने केही समय त मदनको ब्याज भजाएर खान पाइएला। ठूला  ब्यानर टाँगेर होटलहरुमा पार्टी पनि खाइएला। बेलैमा सचेत नहुने हो भने मदनको त अपमान हुन्छ नै, सिद्धान्तको पनि पतन नहोला भन्न सकिन्न।

प्रकाशित: १४ असार २०७३ ०४:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App