८ वैशाख २०८१ शनिबार
समाज

अरनिको राजमार्गको कालोपत्र वर्ष दिनमै भासियो

अरनिको राजमार्गको धुलिखेलदेखि तामाघाट खण्डअन्तर्गत केराघारी क्षेत्रमा कालोपत्र दबिएर डिलैडिल परेको सडक। तस्बिर: रमेश/नागरिक

(पाँचखाल) काभ्रे - अरनिको राजमार्गको कालोपत्र वर्ष दिन नपुग्दै भासिएको छ। काभ्रेको धुलिखेलदेखि तामाघाटसम्मको सडक संरचना बलियो बनाउन सडक विभागले ठेकेदारमार्फत अघिल्लो वर्ष १५ करोड रुपैयाँ खर्चेर सम्पन्न गरेको कालोपत्र वर्ष दिन नपुग्दै भासिएको हो। यो सडक हेर्ने डिभिजन सडक कार्यालय भक्तपुरले ठेकेदारमार्फत धुलिखेलदेखि तामाघाटसम्मको १५ किलोमिटर खण्डमा कालोपत्र ३ वर्ष लगाएर गतवर्ष भदौमा सम्पन्न गरेको थियो। सडकको ठाउँठाउँमा डिल पर्नुका साथै खाल्डा बनेको छ। १५ किलोमिटर खण्डमध्ये केराघारीदेखि तामाघाटसम्म सबैभन्दा बढी कालोपत्र दबिएको छ।

सडक डिभिजनले २०७३ भदौमा मर्मतसम्भारका लागि ‘अस्फाल्ट कंक्रिट’ प्रविधिबाट कालोपत्र सुरु गराएको थियो। सडक डिभिजन भक्तपुरका डिभिजन प्रमुख बेलबहादुर भुजेलले अत्यधिक भार भएका सवारीसाधनको चापका कारण कालोपत्र दबिएको बताए। ‘ठूल्ठूला भारयुक्त मालवाहक गाडीको अत्यधिक चाप बढेकाले कालोपत्र दबिएको हो,’ उनले भने, ‘ठेकेदार कम्पनीको मर्मत गर्नुपर्ने म्याद अझै बाँकी रहेकाले मर्मत गराउँछौं।’ मेलम्ची, दोलालघाट, सुनकोसीसहितका क्षेत्रबाट गिट्टीबालुवा बोकेर आउने टिपरसहित अत्यधिक भार भएका मालवाहक सवारीलाई नियमन गर्न नसक्दा कालोपत्र दब्न पुगेको प्राविधिकले दाबी गरेका छन्। यो सडकमा कति क्षमतासम्मका गाडी गुड्न पाउने भन्ने जाँचपास गर्ने संयन्त्र नै छैन।

ठेकेदारको ‘वारेन्टी पिरियड’ बाँकी नै रहेकाले वर्षालगत्तै बनाउने तयारी डिभिजन सडक कार्यालय भक्तपुरको छ। ‘ठेक्का सकिएपछि पनि एक वर्षको मर्मत समय बाँकी हुने नियमअन्तर्गत यो ठेक्काको पनि समय बाँकी छ,’ कार्यालयका इन्जिनियर रामचन्द्र फुँयालले भने, ‘हामीले कार्यालयको तर्फबाट चिठी लेखिसकेका छौं, वर्षापछि मर्मतको काम सुरु हुन्छ।’ उनका अनुसार सडकखण्डमध्ये करिब ८ सय मिटर जति कालोपत्र डिल परेर दबिएको छ। वर्षालगतै त्यसलाई काटेर फाल्ने र पुनः कालोपत्र गर्ने ठेकेदारको तयारी छ।

ठेकेदार कम्पनीसँगको सम्झौतामा सडकको १५ किलोमिटर खण्डमध्ये ५ किलोमिटर खण्डमा पुरानो कालोपत्र उप्काएर नयाँ कालोपत्र हाल्नुपर्ने थियो। तर स्थानीयले धुलोका कारण समस्या भएको भन्दै अवरोध गर्नुका साथै प्रशासनमा क्षतिपूर्ति माग्दै उजुरीसमेत हालेपछि ठेकेदार कम्पनीले १२ किलोमिटर खण्डमा पुरानै कालोपत्रमाथि नयाँ हालेर काम सकेको थियो। सडक दबिएको भागमध्ये प्रायः त्यसरी पुरानै कालोपत्रमाथि नयाँ हालिएको क्षेत्र बढी छ। डिभिजन प्रमुख भुजेलले यसका साथै डिभिजनले हेर्ने तामाघाटदेखि बनदेउसम्मको खण्डसमेत यसै वर्षको बजेटमार्फत सुधार तथा मर्मतको काम अगाडि बढाइने जानकारी दिए।

प्रकाशित: ९ श्रावण २०७६ ०३:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App